मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

फागुनको पहिलो कारोबारमा सामान्य ओरालोतिर देखियो सेयर बजार, ७ अर्ब ९२ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १ २०८१
फागुनको पहिलो कारोबारमा सामान्य ओरालोतिर देखियो सेयर बजार, ७ अर्ब ९२ करोड रुपैयाँको कारोबार

काठमाडौं- गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। फागुन महिनाको पहिलो कारोबारमा भने बजार सामान्य ओरालोतिर लागेको छ। 

लगातार पाँच दिनको कारोबारमा घटेर दुई दिन सामान्य वृद्धि देखिएको सेयर बजार पुन: घटेको हो। फागुन महिनाको पहिलो कारोबारमा आज बिहीबार बजार ७.२६ अंकले घटेर २६७८.४७ बिन्दुमा झरेको छ। ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँको कारोबार भएको बजारमा ७६ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १६२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

यो साता पहिलो कारोबारमा आइतबार ११.४९ अंकले घटेको बजार सोमबार पनि १०.९८ अंकले घटेको थियो। मंगलबार ६.५४ अंकले बढेको बजार बुधबार पनि १.८६ अंकले बढेर २६८५.७३ बिन्दुमा पुगेको थियो। 

बजारको अहिलेको अवस्थामा लगानीकर्ता पर्ख र हेरकै सोचमा देखिन्छन्। बजारले उचाइ लिनसक्ने अवस्था रहे पनि लगानीकर्तामा विश्वास नदेखिँदा उतारचढावको अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्।

बजार लामो समयदेखि उही बिन्दु वरपर तलमाथि भइरहेको छ। पछिल्लो समय बजारले २६०० बाट पनि तल नजाने र २८०० को बिन्दुबाट पनि माथि नजाने ट्रेण्ड समातिरहेको छ। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। मंसिरको अन्तिम कारोबारमा २७ गते २६८२.२९ बिन्दुमा रहेको बजार पुस २९ गते २५९४.१३ बिन्दुमा झर्‍यो। माघमा केही सुधार हुँदै अन्तिम कारोबारमा ३० गते २६८५.७३ बिन्दुमा पुगेको बजारमा फागुनमा पनि सुधारकै अपेक्षा गरिएको छ।


प्रकाशित : बिहीबार , फागुन १ २०८११५:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend