काठमाडौं- अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ महानिर्देशक पठाएको छ। मन्त्रालय निकट स्रोतका अनुसार महेश भट्टराई भन्सार विभागको र मदन दाहाल आन्तरिक राजस्व विभागका महानिर्देशक बनेका छन्।
यसअघि सरकारले दुबै विभागका महानिर्देशक सरुवा गरेको थियो।
मदन दाहाल यसअघि मन्त्रालयकै प्रशासन महाशाखा प्रमुख थिए भने भट्टराई अनुमगन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए। आन्तरिक राजस्व विभागको महानिर्देशक भएका दाहाल यसअघि राजस्व अनुसन्धन विभागको महानिर्देशक भइसकेका थिए।
त्यस्तै भन्सार विभागको महानिर्देशक भएका भट्टराई भने यसअघि विमानस्थल भन्सारमा प्रमुख भन्सार अधिकृत भएर काम गरिसकेको अनुभव छ। त्यस्तै उनी वाणिज्य विभागको महानिर्देशक पनि भएका थिए।
आगामी वर्षको बजेट निर्माणको चरण सुरू हुन लाग्दा अर्थले मुख्य विभाग तथा मन्त्रालयभित्रको जिम्मेवारीमा हेरफेर गरेको छ।
त्यस्तै अर्थ भित्रिएका तीर्थराज चिलवाल आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनेका छन् भने आन्तरिक राजस्व विभागमा उपमहानिर्देशक रहेका सेवन्तक पोखरेल अर्थ मन्त्रालय तानिएका छन्।
अर्थले अन्तर मन्त्रालय व्यापक सरुवा गरेको छ। थानाप्रासद पंगेनीलाई प्रशासन महाशाखा प्रमुख, शोभाकान्त पौडेललाई नीति विश्लेषण महाशाखा, महेश आचार्यलाई तालिम केन्द्र पठाइएको छ। त्यस्तै सेवन्तक पोखेरलाई संस्थान महााशाखा , पार्वती अर्याललाई भन्सार जाँचपास, महेश बराललाई वित्तीय संघीयता, यमुना प्रधानलाई महालेखा नियन्त्रकको कार्यालय, गोपीकृष्ण काइलालालाई सार्वजनिक ऋण व्वयस्थापन, अमृत लम्साललाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ। त्यस्तै श्यामप्रसाद भट्टराईलाई सहमहालेखा नियन्त्रक बनाइएको छ।