काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ६ महिनामा आफ्नो टिम ‘रिसफल’ गरेका छन्। उनले प्रशासनिक टिममा व्यापक हेरफेर गरेका छन्।
वर्तमान अवस्था तथा समयको मागअनुसार प्रतिफल दिन अहिलेको मौजुदा प्रशासनिक टिम सफल नभएको भन्दै नयाँ बनाएका छन्। उनले अर्थसचिवदेखि दुई मुख्य कर प्रशासनका विभागको नेतृत्व परिवर्तन गरेका छन्।
अघिल्लो सरकारको पालामा राजस्वसचिव रहेका रामप्रसाद घिमिरेलाई पौडेलले अर्थसचिव बनाएका थिए। उनै घिमिरेलाई हटाएर घनश्याम उपाध्यायलाई सचिव बनाएका छन्।
राजस्व प्रशासनकै क्याडर रहेका उपाध्यायलाई सचिव बनाएका पौडेलले भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशक पनि परिवर्तन गरेका छन्। पौडेलले विशेषगरी राजस्व संकलन प्रभावकारी हुन नसकेको भन्दै प्रमुखसँगै केही अन्य अधिकारी पनि फेरबदलको तयारी गरेका छन्।
भन्सारबाट हरिसरण पुडासैनीलाई र आन्तरिक राजस्वबाट रामप्रसाद आचार्यलाई हटाएका छन्।
त्यस्तै मन्त्रालयको एउटै महाशाखामा दुई सहसचिव रहेका नारायणप्रसाद रिसाल र दीर्घराज मैनालीलाई पनि मन्त्रालयबाट बाहिर पठाएका छन्। चार जना सहसचिव मन्त्रालयबाट बाहिरिएर तीनजना भित्रिएका छन्। राजस्वकै जानकार सहसचिव तीर्थराज चिलवाल र पार्वती अर्याललाई मन्त्रालय भित्र्याइएको छ।
दुई करसम्बन्धी विभागमध्ये आन्तरिक राजस्वमा मदन दाहाल र भन्सारमा महेश भट्टराईको सम्भावना रहेको छ। त्यस्तै तीर्थराज चिलवाललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाएर पठाउने तयारी भएको छ।
त्यस्तै भन्सार विभागमा पनि केही उपमहानिर्देशक हेरफेर हुनसक्ने सम्भावना रहेको छ।
६ महिनाको समयावधि पार भएपछि अपेक्षित परिणाम नआएको भन्दै मन्त्री पौडेलले फेरि अर्को टिम बनाएर काम गर्ने प्रयास गरेको मन्त्रीनिकट स्रोतको भनाइ छ।