काठमाडौं- राहदानी विभागले ६४ लाख राहदानी छपाइका लागि गरेको ग्लोबल टेन्डरको समय थप गरेको छ। विभागले मंसिर १३ अर्थात् नोभेम्बर २८ मा पहिलोपटक ग्लोबल टेन्डर गरेकोमा अहिले दोस्रोपटक १० दिनको समय थप गरेको हो।
विभागले ६४ लाख राहदानी छपाइमा २ वटा प्याकेज गरी टेन्डर आह्वान गरेको थियो। विभागले यसअघि जनवरी १२ सम्मको समय दिएको थियो।
टेन्डरसँगै विभागले १९ डिसेम्बरमा छलफल गरेको थियो। छलफलमा सहभागी कम्पनीहरुको मागअनुसार विभागले एक महिनाको समय थप गरेर २०२५ को फेब्रुअरी ११ सम्मका लागि समय थप गरेको थियो।
त्यस बीचमा विभागले ठेक्कामा जेभीलाई समेत समर्थन गर्नेगरी टेन्डर संशोधन गरेको थियो। त्यसपछि विभागले दोस्रोपटक जनवरी ३१ मा सर्तहरुको स्पष्टताका लागि भन्दै चासो राख्ने कम्पनीहरुसँग छलफल गरेको थियो। उक्त छलफलमा कम्पनीहरुले थप समय माग गरेका थिए।
सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत समय थप्न विभागलाई पत्र काटेको थियो। अन्तत: विभागले फेरि १० दिनको समय थप गरेको हो। अब टेन्डरमा सहभागी हुन चाहने कम्पनीले २०२५ को फेब्रुअरी २१ सम्मको समय पाउने भएका छन्।