काठमाडौं- नेपालमा पछिल्लो समय भएका उड्डयन दुर्घटनाका विविध कारणमा संस्थागत सुशासन र आर्थिक अवस्था पनि जोडिएर आएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमनलाई कडाइ गर्ने तयारी गरेको छ।
हेलिकप्टरदेखि फिक्स्डविङका जहाजको दुर्घटना आर्थिक अवस्था र संस्थागत सुशासन प्रबल रुपमा जोडिएर आएपछि नियामकीय निर्देशिका जारी गर्ने तयारी प्राधिकरणको छ।
आर्थिक संटकको असर सिधै उडान सुरक्षामा पर्ने भएपनि यो विषयमा यसअघि कसिलो नियमन थिएन। तर पछिल्लो समय यो विषयलाई अन्तर्राष्ट्रिय ओभरसाइटबाट पनि आएपछि प्राधिकरणले निश्चित आर्थिक वर्षमा समय नै निर्धारण गरेर आर्थिक अवस्थाको पनि मूल्यांकन गर्ने भएको छ।
विशेषगरी हेलिकप्टर कम्पनी पाइलटहरूले स्थापना गर्ने र उनीहरूले आर्थिक लाभका लागि सुरक्षा नियम उल्लंघन गर्ने प्रवृत्ति देखिएको छ। त्यस्तै एयरलाइन्सहरूको आर्थिक अवस्था कमजोर भएपछि तालिम र मर्मतसम्भारमै असर पर्दा गम्भीर दुर्घटनासम्म हुने गरेको छ।
नेपाली आकाशमा उडानमा रहेका एयरलाइन्सहरू आर्थिक संकटमा पर्ने सामान्यजस्तै भइसकेको छ। सरकारलाई मात्र होइन, कर्मचारीलाई समेत तलब भुक्तान नगरी बन्द भएका कतिपय एयरलाइन्सका सञ्चालकहरू अहिले सम्पर्कमा छैनन्। कतिपय भने अन्य पेसा-व्यवसायमा अहिले पनि सक्रीय छन्।
विमानस्थल तथा सरकारलाई पैसा नदिएका यस्ता एयरलाइन्स आर्थिक संकटको घोषणा गरेर बन्द भएका होइनन्। उनीहरू आर्थिक रूपमा कंगाल भएर सेवा सञ्चालन गर्नै नसक्ने अवस्था आएपछि गुपचुप बाहिरिएका थिए।
सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुग्दासम्म आर्थिक रूपमा धेरै कमजोर भइसकेका हुन्छन् कम्पनी। तर पनि कतिपय एयरलाइन्सले जसोतसो उडान गरिरहेकै हुन्छन्। अन्तिममा दायित्व बढ्दै तथा आम्दानी घट्दै गएपछि कम्पनी बन्द हुन्छन्। आन्तरिक उडानमा रहेका अधिकांश एयरलाइन्सको आर्थिक अवस्था राम्रो छैन। एयरलाइन्स कम्पनीहरूले यस्तो कुरा बाहिर नभनेपनि उनीहरूले गर्ने उडान तथा गतिविधिले संकट प्रष्ट पारेको हुन्छ।
आर्थिक अभावबाट सुरू भएको संकटले अन्तत: गम्भीर सुरक्षा चुनौती सिर्जना गर्ने भएपछि त्यसलाई नियन्त्रण गर्न प्राधिकरणले नियमन गर्ने भएको छ। अहिलेसम्म प्राधिकरणले सेफ्टीसँग जोडिएका प्राविधिक पाटोमात्र हेर्ने भएपनि अबदेखि आर्थिक अवस्थालाई पनि समेट्ने भएको छ।
नागरिक उड्डयनसम्बन्धी कानूनले वित्तीय अडिटको अधिकार प्राधिकरणलाई नदिएपनि निर्देशन जारी गर्दै नियमनको दायरामा ल्याउने भएको छ। वित्तीय अडिटलाई अनिवार्य गर्ने र कुनै खराब सूचक देखिएमा तत्काल सुधारका लागि निर्देशन दिनेगरी प्राधिकरणले सर्कुलर जारी गर्ने तयारी गरेको छ।
उड्डयनमा पहिले शुद्ध पेसागत समूहमात्र सहभागी हुने भएपनि पछिल्लो समय नाफामा मात्र केन्द्रित समूहको प्रवेश भएको छ। हेलिकप्टरमा पाइलट आफै सञ्चालक भएर चलाउँदा नाफाका लागि लापरबाही गर्ने, नियमित एयरलाइन्समा पनि नाफामात्र हेर्ने लगानीकर्ताको प्रवेश भएको छ। यस्ता लगानीकर्ता भएपछि नियमनको दायरा पनि फराकिलो बनाउने तयारी प्राधिकरणले गरेको छ।
‘पछिल्ला केही अध्ययन र हाम्रो नियमित अनुगमनबाट पनि आर्थिक अवस्थाको नियमन अनिवार्य भइसकेको छ। यसमा हामीले खुल्ला छाड्नु हुँदैन त्यही भएर वित्तीय अडिटको सर्कुलर जारी हुँदैछ’ प्राधिकरणका एक उच्च अधिकारी भन्छन्।
यसअघि निरन्तर रुपमा आर्थिक संकटमा रहेको सौर्य एयरलाइन्सको जहाजको नियमित अनिवार्य परीक्षण सार्दै आएको थियो। सोही जहाज पछि दुर्घटनामा परेको थियो। त्यस्तै गुण एयरलाइन्स अनिवार्य आर्थिक दायित्व बहन गर्न नसक्दा बन्द भएको थियो।
पछिल्लो समयमा अन्य क्षेत्रमा स्थापित व्यवसायी तथा चरम नाफामूलक संस्थाको प्रवेश उड्डयन क्षेत्रमा भएको छ। यी पछिल्ला गतिविधिले झन सेफ्टीभन्दा पनि आर्थिक लाभमा केन्द्रित हुनसक्ने जोखिम बढेको प्राधिकरणले निष्कर्ष निकालेको छ।
अहिले नेपालको टंकरुटमा उडान एकाधबाहेक सबै एयरलाइन्सको उडान क्षमतालाई हेर्दा एयरलाइन्स कम्पनी आर्थिक रुपमा सहजता नभएको प्राधिकरणका कर्मचारीको भनाइ छ। एयरलाइन्स कम्पनीहरू कुनै न कुनै रुपले आर्थिक दबाबमा छन्। कतिपय कम्पनीहरू कर्मचारीको नियमित वृत्तिविकास गर्नसक्ने अवस्थामा अझै पुगेका छैनन्।
कुनै पनि एयरलाइन्सको आर्थिक स्वास्थ्य उडान सुरक्षासँग जोडिन्छ। कुनै पनि एयरलाइन्सको आर्थिक अवस्था खस्किँदै गयो भने पहिलो असर नै उडान सुरक्षामा पर्नसक्ने एयरलाइन्स सञ्चालकहरू बताउँछन्। एयरलाइन्स कम्पनीसँग पर्याप्त कोष नहुनेवित्तिकै मर्मतसम्भारमा असर गर्छ।
आवश्यक र खुलेर गर्नुपर्ने मर्मतमा सम्झौता हुनसक्छ। पाटपुर्जा र मर्मतसम्भार भनेको ठूलो लागत लाग्ने क्षेत्र हो। यसमा कुनै पनि असर पर्न हुँदैन। त्यसपछि अर्को असर भनेको तालिम हो। पाइलट तथा प्राविधिकहरूलाई एकवर्षमै दुईपटक तालिम दिनुपर्छ। लगानी नहुँदा पनि यो प्रभावित हुनसक्छ।
अर्को विषय प्रोत्साहन हो। जुन तलबको माध्यमबाट दिइन्छ। उत्प्रेरित मान्छेहरूबाट मात्र नियमअनुसार काम हुनसक्छ तर यी सबै नाफामात्र हेर्नेहरूका लागि अतिरिक्त दायित्व हुन जान्छ। उड्डयनलाई नाफामात्र हेर्नेहरूको हातमा जान नदिनका लागि पनि सर्कुलर जारी गर्न लागिएको प्राधिकरणका अधिकारीहरू बताउँछन्।
आर्थिक अवस्था सुरक्षासँग जोडिने भए पनि हालसम्म प्राधिकरणले कमजोर आर्थिक अवस्था भएको एयरलाइन्सलाई देखिनेगरी सचेत गराएको छैन। सञ्चालनमै भएका कतिपय एयरलाइन्सले सेवा बन्द गर्छन् र फेरि खोल्छन्, किन बन्द भयो र कसरी खोलियो भन्ने प्रश्न नै प्राधिकरणले सोध्दैन। अब भने यसमा प्राधिकरणले नियमन गर्ने भएको हो।