काठमाडौं- गएको साता समग्रमा ४२.२२ अंकले बढेको सेयर बजार यो साता पहिलो र दोस्रो कारोबारमा नै ओरालोतिर लागेको छ। गएको साता पनि आइतबार र सोमबार बढेको बजार त्यसपछिका तीन कारोबारमा घटेको थियो।
यो साता पहिलो कारोबारमा आइतबार ११.४९ अंकले घटेको बजार सोमबार १०.९८ अंकले घटेर बजार २६७७.३२ बिन्दुमा झरेको छ। ६ अर्ब ९६ करोड रुपैयाँको कारोबार भएको बजारमा ७७ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
सोमबार न्यादी हाइड्रोपावर लिमिटेड र गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा मात्र सकारात्मक सर्किट लागेको छ।
गएको साता आइतबार ६९.८० अंकले बढेको बजार सोमबार २.४१ अंकले बढेको थियो। मंगलबार १४.०८ अंकले घटेको बजार बुधबार पनि ४.४५ अंकले घटेको थियो। बिहीबार ११.४६ अंकले घटेर २६९९.८१ बिन्दुमा झरेको थियो।
बजारको अहिलेको अवस्थामा लगानीकर्ता पर्ख र हेरकै सोचमा देखिन्छन्। बजारले उचाइ लिनसक्ने अवस्था रहे पनि लगानीकर्तामा विश्वास नदेखिँदा उतारचढावको अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्।
बजार लामो समयदेखि उही बिन्दु वरपर तलमाथि भइरहेको छ। पछिल्लो समय बजारले २६०० बाट पनि तल नजाने र २८०० को बिन्दुबाट पनि माथि नजाने ट्रेण्ड समातिरहेको छ।
गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिर र पुसमा पनि बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा पूरा भएन। माघमा पनि बजार उतारचढावकै अवस्थामा रहेको छ।