काठमाडौं- बैंकमा केही पैसा छ र लगानी गर्ने चाहना पनि छ तर दैनिक सेयर बजार हेर्ने फुर्सद छैन? सेयर बजारको ज्ञान छैन तर सेयरमा लगानी गर्न पनि मन छ? दिनहुँ सेयर बजारमा हुने उतारचढाव हेरिरहँदा अन्य काममा असर परेको छ भने अब त्यसका लागि उपाय छ, पीएमएस (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस) अर्थात लगानी व्यवस्थापन सेवा।
पीएमएसमा लगानीकर्ताबाट लिइएको पैसालाई बजारका विभिन्न उपकरणहरूमा लगानी गरिन्छ। एनआइएमबि एस क्यापिटलले आफ्नो पोर्टफोलियो व्यवस्थापन सेवा (पीएमएस) मार्फत दिइरहेको सेवाले लगानीकर्तालाई आकर्षित गरिरहेको छ। तीन लाख रुपैयाँबराबरको सेयर वा नगद दिइयो भने क्षेत्रगत रूपमा हेरेर लगानी विविधीकरण गरी जोखिम कम गराएर लगानीकर्ताको अधिकतम हितमा एनआइएमबि एस क्यापिटलले काम गर्दै आएको छ।
कम्पनीले १७ सयभन्दा बढी सदस्यको ६ अर्ब रूपैयाँभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गरिरहेको छ। एक दशकदेखि पीएमएस सेवा दिइरहेको कम्पनीले वार्षिकरुपमा लगानीकर्तालाई २० प्रतिशतसम्म नाफा दिन सफल भएको छ। बुल मार्केटमा ४० प्रतिशतसम्म नाफा दिँदै आएको छ।
पछिल्लो समय मर्चेन्ट बैंकमार्फत पोर्टफोलियो म्यानेजमेन्ट सेवा (पीएमएस) लिने क्रम बढ्दो छ। आफूले कारोबार गर्दा बजार घटेका बेला सस्तो मूल्यमा किन्न पनि डर लाग्ने गरेको र बढेका बेला पनि लोभ लागेर बेच्न नसक्ने अवस्था आउने र समय पनि दिन नसक्नेहरूका लागि पीएमएस सेवा एकदमै लाभदायक हुने गरेको छ।
अहिले पीएमएस लिने लगानीकर्ताको कुल संख्या ७ हजार हाराहारी छ। दोस्रो बजारमा नियमित कारोबार गर्नेहरू करिब २० लाख छन्। एनआइएमबि एस क्यापिटलले १ हजार ७ सयभन्दा बढी लगानीकर्तालाई यो सेवा दिइरहेको छ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको वित्तीय विश्लेषण गरी ग्राहकलाई जानकारी दिने, परामर्श दिने, लगानी किनबेचको अवस्थाबारे नियमित रुपमा ग्राहकलाई जानकारी गराउने वा लगानीकर्ताको पोर्टफोलियो पूर्णरुपमा जिम्मा लिएर सहीरुपमा किनबेच गरिदिने काम एनआइएमबि एस क्यापिटलले गर्दै आएको छ।
ग्राहकको नाममा सुरक्षित तरिकाले किनबेच गरिदिने, कम्पनीबाट आउने लाभांश संकलन गरिदिने, हकप्रद सेयर र लिलामी सेयरको काम एनआइएमबि एस क्यापिटलले गर्दछ। एनआइएमबि एस क्यापिटलले दुई किसिमबाट लगानी व्यवस्थापन सेवा दिन्छ। एउटा स्वेच्छिक (डिस्क्रेसनरी) र अर्को गैरस्वेच्छिक (ननडिस्क्रेसनरी)।
'स्वेच्छिक (डिस्क्रिशनरी) लगानी व्यवस्थापन सेवा' भन्नाले ग्राहकको तर्फबाट लगानी व्यवस्थापकले पूर्ण स्वतन्त्रतामा आफ्नो स्वविवेकको प्रयोग गरेर खरिद वा बिक्रीलगायत करारमा उल्लेखित सबै कार्य गर्ने गरी लगानी व्यवस्थापकले ग्राहकको खाता सञ्चालन गर्न सक्ने गरी गरिएको लगानी व्यवस्थापनको काम हो।
यसैगरी 'गैर स्वेच्छिक (नन डिस्क्रिशनरी) लगानी व्यवस्थापन सेवा' भन्नाले ग्राहकको आदेशबमोजिम मात्र खरिद बिक्री गरी लगानी व्यवस्थापकले ग्राहकको खाता सञ्चालन गर्न नसक्ने गरी गरिने लगानी व्यवस्थापनको काम हो।
डिस्क्रेसनरीअन्तर्गत नगद वा आफूसँग भएको सेयरको पछिल्लो मूल्य वा दुवै जोडेर न्यूनतम ३ लाखबराबर सम्पत्ति भएपछि पोर्टफोलियो म्यानेजमेन्ट कम्पनीलाई हस्तान्तरण गरी सेवा लिन सकिन्छ। कम्पनीहरूले विभिन्न स्किमअनुसार न्यूनतम लगानी ३ लाख रुपैयाँ तोकेका छन्। अधिकतममा भने कुनै सीमा छैन, जति रकमको पनि सेवा लिन सकिन्छ।
धेरै नाफा खोज्ने र जोखिम पनि खोज्नेका लागि ‘ग्रोथ’ स्किम उपयुक्त हुन्छ। तर जोखिम नलिने र नाफा पनि न्यून चाहानेलाई भने ‘भ्यालुएबल’ स्किम उपयुक्त हुन्छ। कुनै स्किममा वार्षिक निश्चित प्रतिशतको प्रतिफलसमेत सुनिश्चित गरिदिन्छन्।
पोर्टफोलियो म्यानेजमेन्ट सेवा लिन चाहानेले एनआइएमबि एस क्यापिटलसँग सुरुमै लगानीबारे एउटा सम्झौता गर्छन्। सो सम्झौतामा कम्पनीले लिने शुल्क तथा सर्तहरू स्पष्टसँग उल्लेख गरिएका हुन्छन्। लगानीकर्ताको बैंक तथा डिम्याट खाता र ब्रोकर खाता कम्पनी (मर्चेन्ट बैंक)ले व्यवस्थापन गरिदिन्छन्।
पोर्टफोलियो म्यानेजमेन्ट सेवा दिएबापत म्यानेजरले लगानीको २ प्रतिशतसम्मको वार्षिक शुल्क लिने गरेका छन्। ठूलो रकमको पोर्टफोलियो म्यानेजमेन्टमा न्यून हुँदै जान्छ।
पोर्टफोलियोमा २ वा ३ वर्षको सम्झौता गरिएको हुन्छ। तर प्रत्येक वर्ष नाफाको हिसाब हुने गर्दछ। लगानीमा घाटाको जोखिम हुन्छ। तर कम्पनीले सेयर बजार बियरिसमा हुँदा पनि लगानी विविधीकरण गरेर नाफा दिइरहेको छ।
साथै यसमा वार्षिक रुपमा हुने नाफाबाट पनि केही पर्फमेन्स शुल्क लिने गर्छन्, जुन शुल्क धेरै नै न्यून छ। ८ प्रतिशतसम्मको नाफामा कम्पनीले कुनै शुल्क लिँदैन। तर ८ प्रतिशतभन्दा बढी नाफा हुँदा भने नाफाबाट १० प्रतिशत लिने गरेको छ। यसैगरी कम्पनीले ग्यारेन्टी रिर्टनअन्तर्गत पनि सेवा दिइरहेको छ। रिक्स लिन चाहानेको लागि फिक्स यति दिने भन्ने निश्चित हुन्छ। जुन सुरुवाती सम्झौतमा नै उल्लेख हुन्छ।