मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

ओरालोतिरै देखियो सेयर बजार, पर्ख र हेरकै सोचमा लगानीकर्ता

आइतबार, माघ २७ २०८१
ओरालोतिरै देखियो सेयर बजार, पर्ख र हेरकै सोचमा लगानीकर्ता

काठमाडौं- गएको साता समग्रमा ४२.२२ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा ओरालोतिर लागेको छ। गएको साता पनि आइतबार र सोमबार बढेको बजार त्यसपछिका तीन कारोबारमा घटेको थियो।

यो साता पहिलो कारोबारमा आइतबार ११.४९ अंकले घटेर बजार २६८८.३१ बिन्दुमा झरेको छ। ८ अर्ब ३९ करोड ८६ लाख रुपैयाँको कारोबार भएको बजारमा ६८ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता आइतबार ६९.८० अंकले बढेको बजार सोमबार २.४१ अंकले बढेको थियो। मंगलबार १४.०८ अंकले घटेको बजार बुधबार पनि ४.४५ अंकले घटेको थियो। बिहीबार ११.४६ अंकले घटेर २६९९.८१ बिन्दुमा झरेको थियो।

बजारको अहिलेको अवस्थामा लगानीकर्ता पर्ख र हेरकै सोचमा देखिन्छन्। बजारले उचाइ लिनसक्ने अवस्था रहे पनि लगानीकर्तामा विश्वास नदेखिँदा उतारचढावको अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्। बजार लामो समयदेखि उही बिन्दु वरपर तलमाथि भइरहेको छ।  पछिल्लो समय बजारले २६०० बाट पनि तल नजाने र २८०० को बिन्दुबाट पनि माथि नजाने ट्रेण्ड समातिरहेको छ। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिर र पुसमा पनि बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा पूरा भएन। माघमा पनि बजार उतारचढावकै अवस्थामा रहेको छ। 


प्रकाशित : आइतबार, माघ २७ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend