शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन

images
आइतबार, माघ २७ २०८१
images
images
मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन

यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

images
images

मनाङ- जिल्लाको चामे गाउँपालिका-१ तिमाङ जंगलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन। यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

images
images
images

तिमाङ जंगलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए। उनका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ।

images
images

उनले भने, 'डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ। स्थानीयवासी पनि सक्रिय भएर जंगलमा खटिनुभएको छ, तर हालसम्म नियन्त्रणमा लिन सकिएको छैन।'

images
images
images

डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जंगलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चौँरीका चरन क्षेत्र नष्ट भएका उनले बताए। 'आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ', प्रजिअ आचार्यले भने, 'साथै राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पक्षी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन्।'

जानसक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहेको उनले जानकारी दिए। कठिन तथा जोखिम भिरमा आगलागी भएकाले डढेलो नियन्त्रणमा समस्या भएको उनले बताए। अन्यत्र आगो नफैलिओस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको भन्दै बस्तीमा आगलागीको जोखिम नरहेको उनले उल्लेख गरे।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले हिउँ पर्ने स्थानमा हिउँ नपर्नु, सुक्खा हुनुलगायत कारणले आगलागी भएको भन्दै सुख्खा बढी भएकाले आगो नियन्त्रणमा लिन नसकिएको बताए। उनले भने, 'संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ। सुक्खायाम, हिउँ नपर्नु, वनजंगलमा रहेका सुकेका ठुटालगायत कारणले आगो लाग्ने गरेको हो।'

भुजेलका अनुसार राष्ट्रिय वन क्षेत्रमा यसरी लामो समय आगलागी हुँदा बासस्थान बनाएर बसेका पशुपक्षी अन्यत्र सर्ने गरेका छन्। यसरी प्रत्येक वर्ष वन्यजन्तु तथा पशुपक्षीको बासस्थान मासिँदै गएपछि यहाँका लोपोन्मुख वन्यजन्तु पूर्णरूपमा लोप हुनसक्ने उनले बताए। उनका अनुसार आगलागीबाट जंगलमा भएका सल्लाको काठ, धुपीजस्ता बहुमूल्य तथा औषधीय जडीबुटीको विनाश हुनेसक्ने अनुमान गर्न सकिन्छ।

जंगलमा भएका झिजा, पातपतिङ्गरले गर्दा आगो बढ्नसक्ने जोखिम यथावत रहेको प्रमुख भुजेलले बताए। उनले भने, 'सुक्खयाम र हुरीबतास चल्ने मौसमका कारण आगो नियन्त्रणमा लिन कठिन भएको छ।' तत्काल जंगलमा आगलागी नियन्त्रण गर्न नसके यसको क्षेत्रफल बढ्ने उनको भनाइ छ। उनका अनुसार जंगलमा भएका वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटी डढेलोले नष्ट हुने थालेका छन्। 

आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्नुका साथै चराचुरुङ्गी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नास हुन थालेको कार्यालय प्रमुख भुजेलले बताए। यस वर्षको मङ्सिरयता ताल, आइसलेक, पिसाङ भिर आगलागी भएको कार्यालयले जनाएको छ। 

यसअघि  ०७७ मङ्सिरमा लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो। उक्त आगलागीका कारण मनाङको एक हजार दुईसय हेक्टर क्षेत्रफल वनजंगल नष्ट भएको थियो। तिमाङ जंगलमा लागेको डढेलो नियन्त्रणमा तीनै तहका सरकारले यथाशीघ्र प्रभावकारी पहल गर्नुपर्नेमा स्थानीयको जोड छ। रासस


प्रकाशित : आइतबार, माघ २७ २०८११२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend