काठमाडौं- कामना सेवा विकास बैंकले नेपाल युवा उद्यमी मञ्च चितवनसँगको सहकार्यमा बैंकिङ एण्ड बिजनेस कार्यक्रम सम्पन्न गरेको छ।
पछिल्लो समयमा व्यवसायी र बैंकबीच रहेको दुरी घटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा चितवनका करिब ६० भन्दा बढी युवा व्यवसायीको सहभागिता रहेको बैंकले जनाएको छ।
उक्त कार्यक्रममा कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसीए विमन कार्की र नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्वअध्यक्ष तथा व्यवसायी सूर्यभक्त अधिकारी वक्ताको रुपमा रहेका थिए।
कार्यक्रममा एफसीए कार्कीले आर्थिक चक्रका हरेक चरणहरुमा बैंक र व्यवसायीबीच फरक मत रहने भएता पनि प्रचलित कानून र नियमको अधिनमा नरहने व्यवसायीलाई आर्थिकरुपमा दबाब पर्ने भएकोले नेपाल राष्ट्र बैंक तथा बैंकहरुले निर्धारण गरेका नियमहरुलाई पालना गरी आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने तथा वित्तीय विवरणहरुको पारदर्शीता कायम गर्न यस्ता कार्यक्रममार्फत व्यवसायीहरुलाई वित्तीय साक्षरता प्रदान गर्नुपर्नेमा जोड दिए।
नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्वअध्यक्ष तथा युवा व्यवसायी अधिकारीले व्यवसायीहरु कोभिड १९ को चपेटाबाट अगाडि बढ्न नपाउँदै नियमनकारी निकायका विभिन्न नीतिहरुले व्यवसायीहरु थप आक्रान्त बनेको तथा व्यवसायबाट पलायन हुन सक्ने भएकोले बैंकहरुले साना तथा मझौला व्यवसायीहरुलाई संरक्षण गर्नुपर्ने जिकिर गरे।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरु अग्रसर हुँदा व्यवसायीहरुलाई असहज महसुस भएता पनि दीर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताए।
चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र वलीले नियमनकारी निकायको कडाई, कोभिड १९ पश्चातको कर्जा विस्तार, सडक सञ्जालको ढिलो निर्माण, युवा जनशक्तीको विदेश पलायनलगायतका कारणले उत्पादनमा आएको गिरावट तथा व्यवसायमा आएको मन्दीले गर्दा व्यवसायीहरु पलायन हुन सक्ने भएकाले नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुले सो विषयमा ध्यान दिनुपर्ने बताए।