काठमाडौं- एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले हकप्रद दिनेगरी प्रक्रिया अगाडि बढाएपछि लगानीकर्ता झुम्मिएका छन्। जसका कारण बिहीबार अन्य कम्पनीहरूको सेयर घट्दा कम्पनी एनआरएनको सेयर भने ७.१६ प्रतिशतले बढेर प्रतिकित्ता ७१८ रुपैयाँमा कारोबार भएको थियो।
लाभांश घोषणाले निराश बनेका लगानीकर्ताहरू हकप्रदको चर्चाले पुनः फर्किएका छन्। कम्पनीको बिहीबार मात्रै ६४ हजार कित्ता कारोबार भएको थियो। कम्पनीले हकप्रदको रेसियो लगायतको प्रस्ताव बनाउन सञ्चालक समितिलाई जिम्मा दिएको छ।
कम्पनीले ५ प्रतिशत सेयर लाभांश र कर बापत ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश दिएको थियो। साधारणसभामा हकप्रद दिएर चुक्ता पुँजी बढाउने र थप नयाँ लगानी गर्ने विषयमा सञ्चालक समितिलाई जिम्मा दिएको छ। कम्पनीको हाल १ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। जसलाई वृद्धि गरेर ५ अर्ब रुपैयाँ पुर्याउने योजना कम्पनीले बनाएको छ।
कम्पनीको पछिल्लो ५२ हप्तामा अधिकतम प्रतिकित्ता ९९० रुपैयाँसम्म करोबार भएको थियो भने न्यूनतम ३६५ रुपैयाँसम्म झरेको थियो। दुई वर्षअगाडि मात्रै कम्पनीले सर्वसाधारणको नाममा आईपीओ जारी गरेको थियो।