काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका प्रतिनिधिहरूबीच नेपालको अटोमोबाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमति भएको छ।
नाडाका पदाधिकारी र एनएभीटीबीच मंगलबार सहमति भएको हो। उक्त छलफलमा नाडाकातर्फबाट अध्यक्ष करणकुमार चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ र महासचिव सुरेन्द्रकुमार उप्रेतीसमेतको उपस्थित थियो।
दुई निकायबीच भएको ऐतिहासिक पारस्परिक सहमतिले अटोमोबाइल क्षेत्रमा योग्य र सक्षम श्रमिकको आपूर्तिमा निरन्तरता र सहजता आउने अपेक्षासमेत राखिएको नाडाले जनाएको छ।
दुई संस्थाबीच भएको सहमति यस्ता छन्:
१. आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम र रोजगारीका लागि अवसरहरू सृजना गरी आवश्यक सुधार गर्ने।
२. दुवै संस्थाहरूले नेपालको अटोमोबाइल उद्योगहरूको वृद्धिका लागि नवीनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने।
३. यस्तो पारस्परिक सहकार्यमार्फत उद्योगको आवश्यकताहरू र कर्मचारीहरूको क्षमताबीचको खाडल पूरा गर्ने।
४. लेवल एकबाट तालिमको सुरुवात गर्ने र क्रमसः लेवेल दुईमा जाने।
५. आवश्यकताअनुसार पाठयक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएन्टेसन दिलाउने।
६. तालिम र पाठयक्रम निर्माणका लागि एनएभीटीले नाडासँग सहमति गरी (एमओयू) अघि बढ्ने।