नेपाल आउने पर्यटकलाई सस्तो सेवा दिने र नेपालभित्रै नागरिकलाई सर्वसुलभ हवाइ सेवा दिनका लागि भन्दै अस्तित्वमा रहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दिनदिनै उधोगतिमा छ। आन्तरिक उडान बन्द गरेर अन्तर्राष्ट्रिय उडान पनि नाममात्रमै सीमित भएपछि सरकारी स्वामित्वको नेपाल एयरलाइन्सभित्र भ्रष्टाचार र अनियमितता मात्र छ।
राजनीतिक शक्तिको फेरो समातेर नियुक्ति लिने र आफ्नो स्वार्थ पूरा गर्नका लागिमात्र काम गर्ने प्रमुख कार्यकारी र लगभग सीर्जनशीलता गुमाएको व्यवस्थापनका कारण यो संस्था कोमामा पुगिसकेको छ। जहाज खरिदजस्ता ठूला इभेन्टमा हुने आर्थिक अनियमितता चर्चित हुने भए पनि होटल छनौटमा पनि अनियमितता हुने गरेको छ।
संस्थाको व्यापारिक लाभभन्दा कार्यकारीको आफ्नो लाभमात्र हेर्ने प्रवृत्ति रहेको छ। नेपाल एयरलाइन्सभित्र अनियमितता कसरी हुन्छ र प्रत्येक बिन्दुमा भ्रष्टाचारबाहेक अरु केही हुँदैन भन्ने एउटा सानो उदाहरण हो जहाजको इन्जिनको मर्मत र भाडा।
कुनै पनि जहाजको इन्जिनमा प्राविधिक समस्या आउनसक्छ। आकस्मिक समस्या आउँदामात्र होइन अनिवार्य मर्मतको निश्चित तालिका पनि हुन्छ। यी सबै प्रक्रियाका लागि अविच्छिन्न रुपमा वैकल्पिक व्यवस्था तयार हुनुपर्छ। यो सबैका लागि व्यवस्थापनले काम गर्नुपर्छ। तर यस्तो नगरी आपत् सिर्जना गर्ने र त्यसबाट लाभ लिने वर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रवृत्ति देखिन्छ।
नेपाल एयरलाइन्सको कल साइन ‘नाइन एन एकेएक्स’ (लुम्बिनी) न्यारोबडी जहाजको इन्जिनमा २०२३ जुन १७ मा समस्या देखियो। यसरी समस्या देखिएपछि जहाज ग्राउन्डेड हुने भयो। स्टक इन्जिन नभएकाले ग्राउन्डेड गर्नुको विकल्प थिएन। तत्काल इन्जिन मर्मत तथा भाडामा लिनका लागि एमआरओ छनोट भएको थिएन, जुन सदैव हुनुपर्छ। तर जहाज ग्राउन्डेड भएपछि हतारमा एमआरओ छनोटको प्रक्रिया सुरु गरियो। कमिसनका लागि कम्पनी छनोट प्रक्रियाबाट नै सेटिङ सुरु भयो। एउटै कम्पनीसँग इन्जिन मर्मत तथा भाडामा लिने गरी एमआरओ छनोट गरियो।
निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले इन्जिन मर्मत तथा भाडामा लिनका लागि इजरायल एरोस्पेस इन्डस्ट्रिज छनोट गरे। एउटै कम्पनीसँग इन्जिन भाडामा लिने र मर्मतको एकसाथ गर्दा कम्पनीले आफूलाई फाइदा हुने गरी काम गर्ने हुँदा उक्त काम नगर्न कर्मचारीहरुले उनलाई सुझाव दिइरहेका थिए। तर अधिकारीले कम्पनी छनोटपूर्व एक साता थाइल्याण्ड गएर २ वटै काम दिने र आफूले पाउने कमिसनको मेसो मिलाएर काठमाडौं आएका थिए। थाइल्याण्डबाट फर्केको एक साता नहुँदै कर्मचारीले दिएको सुझावविपरीत अधिरकारीले इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग २ वटै काममा लागि सम्झौता गरे।
एक त समयमै एमआरओ छनौट नगर्दाको मूल्य संस्थाले चुकायो तर लाभ सम्झौता गर्नेहरूले पाए। आपत्कालीन अवस्थामा सम्झौता गरिएको कम्पनीले समयमै मर्मत गरिदिएन किन भने मर्मत नगर्दा उसलाई भाडाको इन्जिन भिडाउनुमै लाभ थियो।
अधिकारीलाई पनि जति धेरै समय इन्जिन भाडामा लिइन्छ त्यती नै कमिसन बढी आउने भय। कम्पनी छनोटपछि २०२३ को सेप्टेम्बर २८ मा बिग्रिएको इन्जिन जहाजबाट झिकेर मर्मतका लागि छोडियो र भाडाको इन्जिन लिइयो। जहाजमा इन्जिन सेटमा नै कम्पनीले १० दिन समय खर्चियो। इन्जिन भाडा रकम भने त्यही दिनबाट गणना भयो। जसतसो गरेर जहाज २०२३ को अक्टोबर १० वटा उडानमा आयो। यसरी लिएको भाडाको इन्जिन अहिले पनि जहाजमा प्रयोग भइरहेको छ। इन्जिन भाडामा लिएको ४ सय ९५ दिन पूरा भएको छ।
२०२३ को सेप्टेम्बर २८ मा मर्मतका लागि छोडिएको इन्जिन कम्पनीले ६५ दिनमा मर्मत गरेर दिन प्रतिबद्धता गरेको थियो। भाडाको इन्जिनको साथामा जहाज उडान भइरहेको थियो। तर सोही जहाजको अर्को इन्जिनमा समस्या देखियो। २०२३ को नोभेम्बर ३० मा जहाजको इन्जिनमा समस्या देखियो। जहाज ग्राउन्डेड भयो। कम्पनीले सर्तअनुसार इन्जिन मर्मत गरेर दिन सकेन। उसले रुस युक्रेन युद्धलाई कारण देखायो। तर यो बनावटी कारण थियो। जब कि एउटै कम्पनीसँग इन्जिन भाडामा लिने र मर्मत गर्न दिँदा पनि यही योजना बनेको थियो।
कम्पनीलाई इन्जिन नबन्दा पनि भाडाको इन्जिनबाट दैनिक २ हजार डलर, प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल २ सय ३९ डलर आइरहेको थियो। जहाज ग्राउन्डेड भएपछि हतारहतार इन्जिन हाल्न भनेर जहाज २०२३ को डिसेम्बर अन्तिम साता इजरायल एरोस्पेस इन्डस्ट्रिजको काराखानामा पठाइयो। जहाज जाँदासमेत इन्जिन मर्मत भएको थिएन। जहाज २०२४ को अप्रिल २८ सम्म इजरायलमा नै ग्राउन्डेड भयो।
२०२४ को अप्रिल २८ मा बल्ल कम्पनीले २०२३ को जुन १७ मा बिग्रिएर २०२३ को सेप्टेम्बर २८ मा मर्मतका लागि दिएको इन्जिन मर्मत गरे जहाजमा हाल्दियो। निगमले भाडामा लिएको इन्जिनलाई निरन्तरता दियो। २०२३ को नोभेम्बरम बिग्रिएको इन्जिनको ठाउँमा सेप्टेम्बरमा मर्मतका लागि दिएको इन्जिन राखेर जहाज उडानमा आयो। त्यसपछि बीच-बीचमा केही दिन जहाज ग्राउन्डेड भए पनि उडानमा छ।
कम्पनीले २०२४ को अप्रिल २८ मा मर्मतका लिएको इन्जिन मर्मतमा फेरि ढिलासुस्ती गरिरहयो। त्यसको पछाडि जहाजमा भाडाको इन्जिन प्रयोग भइरहेको र त्यसबाट कम्पनीलाई आम्दानी भइरहेको थियो। कम्पनीले २०२४ को अक्टोबर २० मा निगमलाई मेल गर्दै २ वटै इन्जिन मर्मतबापतको रकम र इन्जिन भाडाबापतको रकम भुक्तानी गरी इन्जिन लिन आउन सूचना गर्यो।
तर मर्मत भएको इन्जिन अहिलेसम्म ल्याउन सकेको छैन। भाडाको इन्जिन पनि अबको २ महिनाभित्रै मर्मत नगरी उडान गर्न नमिल्ने अवस्थामा जाँदैछ। तर अधिकारीले मर्मत इन्जिन ल्याउने कुनै काम गरेका छैनन्। यता इन्जिन भाडाबापतको रकम भने खर्च भरहेको छ।
२ पटकमा गरी २ सय ५४ दिन जहाज ग्राउन्डेड हुँदा करिब ३ अर्ब आम्दानी गुम्यो
२०२३ को जुन १७ देखि २०२३ को सेप्टेम्बर २८ सम्ममा गरी निगमको उक्त जहाज १ सय ३ दिन ग्राउन्डेड भएको थियो भने २०२३ को नोभेम्बर ३० देखि २०२४ को अप्रिल २८ सम्म १ सय १५ दिन जहाज ग्राउन्डेड भएको थियो। २ पटामा गरी जहाज २ सय ५४ दिन जहाज ग्राउन्डेड भएको थियो।
यति लामो समय जहाज ग्राउन्डेड हुँदा निगमले करिब ३ अर्ब आम्दानी गुमाएको छ। सामान्यत: निगमको न्यारोबडीको दैनिक आम्दानी १ करोड १५ लाखदेखि १ करोड ३० लाख रुपैयाँसम्म हुन्छ। सोही आधारमा न्यूनतमा आम्दानीकै दरमा हिसाब गर्ने हो भने पनि निगमको जहाज २ सय ५४ दिन ग्राउन्डेड हुँदा २ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गुमाएको छ। जसको कारण निगममा आर्थिक संकट आइसकेको छ।
इन्जिन भाडामै ३८ करोड
२०२३ को सेप्टेम्बर २८ देखि २०२३ को नोभेम्बर ३० सम्म जहाज भाडाको इन्जिनमा उडान भरेको थियो। कुल ६४ दिन जहाज उडानमा थियो। त्यसपछि जहाज २०२४ को अप्रिल २८ सम्म ग्राउन्डेड भयो। फेरि २०२४ को अप्रिल २८ बाट भाडाकै इन्जिना जहाज उडानमा आयो।
आजको दिनसम्म पनि जहाज भाडाकै इन्जिनमा उडिरहेको छ। मर्मत इन्जिन ल्याउने काम भएको छैन। २०२४ को सेप्टेम्बर २८ देखि आजसम्म गरी २ सय ८२ जहाज भाडाकै इन्जिनमा उडिरहेको छ। सम्रगमा कल साइन नाइन एन एकेएक्स जहाज ३ सय ४६ दिन भाडाको इन्जिनमा उडेको छ। भाडाकै इन्जिनमा मात्रै निगमको ५० करोड रुपैयाँ खर्च भइसकेको छ।
निगमले जहाज उडे पनि, नउडे पनि दैनिक २ हजार डलर, प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल २सय ३९ डलरको दरमा इन्जिन भाडामा लिएको छ। निगमको न्यारोबडी जहाजको सरदर दैनिक उडान आवर १२ घण्टा र प्रतिदिन सरदर ४ साइकल रहेको छ। यही हिसाबले निगमले इन्जिनको दैनिक भाडाबापत मात्रै ९ करोड ३४ लाख २० हजार रुपैयाँ खर्च गरिसकेको छ। यसैगरी प्रतिघण्टा उडानबापत इन्जिन भाडामा १८ करोड १७ लाख ९५ हजार ३ सय २० रुपैयाँ खर्च गरिसकेको छ।
यसैगरी प्रतिसाइलको इन्जिन भाडाबापतमा ४ करोड ४६ लाख ४५ हजार ७ सय ६० रुपैयाँ खर्च गरिसकेको छ। यसरी इन्जिन भाडामा मात्रै अहिलेसम्म ३१ करोड ८ लाख ६० हजार रुपैयाँ खर्च भइसकेको छ। यसमा इजरायल एरोस्पेस इन्डस्ट्रिजले २०२ को नोभेम्बर ३० देखि २०२४ को अप्रिल २७ सम्म जहाज उडान नगरेको दिनको भाडा जोडिएको छ। यो पनि कम्पनीले लिएमा निगमको इन्जिन भाडाको रकममा ६ करोड ७७ लाख ७० हजार रुपैयाँ थप खर्च हुने छ।
मर्मतमा अस्वाभाविक रकम
यसैगरी इजरायल एरोस्पेस इन्डस्ट्रिजले इन्जिन मर्मतमा अस्वाभाविकत बिल पठाइरहेको छ। सम्झौता गर्दाको भन्दा एउटै इन्जिनमा बढी समस्या देखिएको भन्दै ३० करोड रुपैयाँसम्म बढी बिल पठाएको छ। जुनमा बिग्रिएको इन्जिनको मर्मत शुल्क ९८ करोड रुपैयाँको हाराहारीमा पठाएको थियो भने नोभेम्बरमा बिग्रिएको इन्जिनको मर्मत शुल्क पनि सोहीअनुसार नै पठाएको छ। तर निगमले कुनै वित्तीय विवरण सार्वजनिक गरेको छैन।
निरीह पर्यटनमन्त्री
विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा बद्री पाण्डे आउनुअगाडि नै यो सबै प्रक्रिया सुरु भएको थियो। पाण्डेले मन्त्रीको जिम्मेवारी सम्हालेको साढे ६ महिना हुँदासमेत इन्जिन मर्मत भएर नेपाल आएको छैन।
तर निगम कार्यकारी अध्यक्ष अधिकारीलाई उनले कुनै कारबाही गर्न सकेका छैनन्। इन्जिन मर्मत भएको र लिन आउने सूचना पठाएको १ सय दिनभन्दा बढी भइसकेको छ। तर पाण्डेले किन मर्मत भएको इन्जिन नल्याएको र भाडाको इन्जिनमा जहाज उडाएको भनेर प्रश्नसम्म पनि गरेका छैनन्।
नेपाल एयरलाइन्समा प्रत्येक बिन्दुमा अनियमितता छ। यस्ता अनियमितताले संस्थालाई अर्बौँको नोक्सान हुँदासम्म पनि सबै निकाय मौन देखिन्छन्। मन्त्रालयमात्र होइन अरु अनुसन्धानकारी निकायको पनि खासै सक्रियता छैन। व्यवस्थापनले गर्नुपर्ने आधारभूत काम नगर्दा संस्थाले रकम गुमाएको मात्र होइन नियोजित रुपमा खरिदको योजना बनाएर काम गरिएको छ। यस्ता काममा मन्त्री पाण्डेको मौनता अनौठो देखिन्छ।
इन्जिन मर्मतको समय कति?
सामान्यतया इन्जिन मर्मतको समयावधि बढीमा ९० दिन हो। इन्जिनको समस्या हेरेर मर्मतको समय यकिन हुने एक एयरलाइन्स कम्पनीका सञ्चालक बताउँछन्। ती सञ्चालकका अनुसार इन्जिन ३० दिनदेखि ९० दिनभित्रैमा जस्तोसुकै समस्या भए पनि मर्मत हुन्छ।
तर नेपाल एयरलाइन्सलको मात्रै इन्जिन मर्मतमा भइरहेको ढिलाइबाट के पुष्टि हुन्छ भने मर्मत र भाडामा लिने काममा नै कमिनस जोडिएको छ। नेपाल वायुसेवा निगमको आर्थिक विनियामवलीमा पनि इन्जिन भाडामा अधिकतम ९० दिनका लागि मात्रै लिन पाउने व्यवस्था छ।
विशेष परिस्थितमा भने एकपटक मात्रै समय थप गर्न पाउने उल्लेख छ। यसको अर्थ इन्जिन मर्मत सामान्यतया ९० दिनभित्रै हुन्छ। निगमको इन्जिन मर्मतमा ढिला हुनुको पछाडि आर्थिक हिनामिना नै मुख्य कारण छ। त्यसमा पनि एउटै कम्पनीसँग इन्जिन मर्मत र भाडामा लिने कामले यसमा मलजल पुगिरहेको छ।