शनिबार, चैत ९ गते २०८१    
शनिबार, चैत ९ २०८१
images
images

व्यवस्थित बन्दै नेपालगञ्ज, ‘ट्राफिक लाइट’ नियम लागु

images
सोमबार, माघ २१ २०८१
images
images
व्यवस्थित बन्दै नेपालगञ्ज, ‘ट्राफिक लाइट’ नियम लागु

यहाँ पहिलोपटक ट्राफिक लाइटको नियम लागु भएको छ। गत पुसको २८ गतेदेखि ट्राफिक लाइटको नियम लागु भएसँगै यहाँका सवारी साधन चालक र यात्रुहरुले उक्त नियमको पालना गरेको ट्राफिक प्रहरीको भनाइ छ।

images
images

बाँके- 'अहिले म सुर्खेतबाट आउँदै छु, एक्कासि अगाडि गाडीहरु रोकिएको देखेँ, दुर्घटना भएछ भन्ने ठानेको थिएँ, तर ‘ट्राफिक लाइट’ बलेर पो अगाडि गाडी रोकिएका रहेछन्', सुर्खेत बाङ्गेसिमलका प्रवीणकुमार गिरीले ट्राफिक जाममा रोकिँदै नेपालगञ्जमा लागु भएको ट्राफिक लाइटको अनुभव सुनाए।

images
images

उनी नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत आफन्तलाई भेट्नका लागि आज सुर्खेतबाट नेपालगञ्ज आउँदै गर्दा धम्बोझीमा लागु गरिएको ट्राफिक लाइटको नियमलाई पालना गर्दै जाममा रोकिएका थिए। मोटरसाइकल चालक गिरीले ई-रिक्साका कारण नेपालगञ्जको सडक अस्तव्यस्त हुने हुँदा ट्राफिक लाइटको नियम आफूलाई प्रभावकारी लागेको बताए।

images
images

'म पहिला आइरहँदा यहाँ ई-रिक्साका कारण धेरै पटक दुर्घटना हुनबाट जोगिएको छु', उनले भने, 'ट्राफिक लाइटको नियम लागु भएपछि अब त रिक्सा पनि व्यवस्थित रुपमा चल्ने भएछन्।'

images
images

नेपालगञ्जको मुटु मानिने धम्बोझी चोकमा नै ट्राफिक लाइटको नियम लागु भएसँगै पूर्व-पश्चिम र उत्तर-दक्षिणतर्फबाट तीव्र गतिमा चल्ने सवारीसाधन अब ट्राफिक नियमानुसार सुस्त गतिमा चल्न लागेका छन्। 

गत वर्षको चैतमा उक्त ट्राफिक लाइटको परीक्षणकाल सुरु गरिए पनि गत पुसको २८ गतेदेखि नियमित रुपमा लागु भएको ट्राफिक लाइटले सडकलाई मात्र नभइ सवारी साधन चालक र यात्रुलाई समेत व्यवस्थित रुपले सडकमा हिँड्न सहयोग गरेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का बासिन्दा बलवीर खड्काले बताए।

'ट्राफिक लाइटको नियम लागु भएदेखि यो सहर बल्ल व्यवस्थित सहरजस्तो भएको छ', उनले भने, 'पहिला जसलाई जताबाट मन लाग्यो त्यतैबाट बाटो काटेर हिँड्ने बानी थियो, अब भने बल्ल सडकमा नियमअनुसार हिँड्नुपर्ने रहेछ भन्ने कुराको चेतना जागेको छ।'

सुर्खेतका गिरी र बाँकेका खड्काजस्तै नेपालगञ्जमा ट्राफिक नियम लागु भएपछि बच्चालाई स्कुल पुर्‍याउने समयभन्दा आधा घण्टा अगाडि नै निस्कने गरेको नेपलगञ्ज-१० ट्राफिक चोक निवासी सरिता थापाले बताइन्। 'पहिला १०-१५ मिनेट अघि छोरीलाई स्कुल पुर्‍याउन निस्कन्थेँ, अहिले जाममा परिन्छ भनेर आधा घण्टा अगाडि नै निस्कने गरेको छु', उनले भनिन् ।

बाँकेमा पहिलोपटक ट्राफिक लाइटको नियम लागु भएको छ। गत पुसको २८ गतेदेखि ट्राफिक लाइटको नियम लागु भएसँगै यहाँका सवारी साधन चालक र यात्रुहरुले उक्त नियमको पालना गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण आचार्यले बताए।

'यहाँ ट्राफिक लाइटको नियम लागु भएको भर्खर भर्खर भएको हुनाले हामीले जरिवानाभन्दा पनि ट्राफिक लाइट र लेनको प्रयोग कसरी गर्ने र कस्तो अवस्थामा गर्ने भनेर सिकाइरहेका छौँ', उनले भने, 'विशेष गरी महिला र ग्रामीण भेगतिरबाट आउने सवारी साधन चालकसँगै यात्रुलाई ट्राफिक लाइटको नियम बुझाउन अलि गाह्रो भइरहेको छ।'

उनका अनुसार तीन-चार पटकसम्म सम्झाइबुझाइ गर्दा पनि रातो बत्तीको नियम पालना नगरेका आठ जनालाई जरिवाना स्वरुप चिट काटेर कारबाही गरिएको छ। 

ई-सेवा, खल्ती, ई चलान र राष्ट्रिय वाणिज्य बैंकको माध्यमबाट हालसम्म आठ जनाबाट चार हजार रूपैयाँसम्मको राजस्व संकलन भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख आचार्यले जानकारी दिए। नेपालगञ्जमा ट्राफिक लाइटको नियम लागु भएसँगै जरिवानाभन्दा पनि यात्रुलाई सडक लेनको प्रयोग कसरी र कस्तो अवस्थामा गर्ने भनेर जनचेतना दिने विषयमा आफूहरु केन्द्रित रहेको आचार्यको भनाइ थियो।

'रातो बत्ती बल्दा जहिले पनि देब्रे लाइन भएर जाने सवारी साधन चालक र यात्रुहरु रोकिनुपर्दैन, भनेर हामीले अलमलमा परेकालाई सम्झाएर बाटो काट्न सिकाउँदै छौँ', उनले भने, 'यहाँका सवारी साधन चालक र यात्रुलाई जरिवानाभन्दा जनचेतनाको आवश्यकता भएको हुनाले हामीले सडक नियमका विषयमा डियुटीकै समयमा जानकारी दिने प्रयास गरिरहेका छौँ।'

प्रमुख आचार्यका अनुसार ट्राफिक लाइटको नियम लागु भएसँगै पहिलाको तुलनामा अहिले धम्बोझीदेखि बीपी चोकमा हुने दुर्घटनामा कमी आएको छ।

पहिला हप्तामा आठ-दश वटा सामान्य दुर्घटना हुन्थ्यो भने अहिले सोही ठाउँमा ट्राफिक लाइटको नियम लागु भएपछि दुर्घटना नभएको ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक आचार्यले बताए। उनका अनुसार ट्राफिक लाइटको नियम सञ्चालन भएसँगै हालसम्म रातो बत्ती कारबाहीमा १ सय ६५ परेका छन् भने गलत तरिकाले बाटो काट्ने ३ सय २३ जनालाई कारबाही गरिएको छ। रासस


प्रकाशित : सोमबार, माघ २१ २०८११४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend