शुक्रबार, जेठ ४ गते २०८१    
images
images

६ वर्षमा पनि पूरा भएन जोरपाटी-सुन्दरीजल सडक

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
images
images
६ वर्षमा पनि पूरा भएन जोरपाटी-सुन्दरीजल सडक

जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक विस्तार सुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा खाल्डा खुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ।

images
images

काठमाडौं- जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक विस्तार सुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा खाल्डा खुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ।

images
images
images

खाल्डा खुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीय बासिन्दाले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए। सङ्घीय सरकारले ठेक्का गरेको आयोजनाका निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा जीर्ण सडकमा समस्या हुने गरको उनको भनाइ छ। 

images

अस्पतालजस्तो संवेदनशील स्थानअघिको सडकलाई ग्राभेल हालेर सहज रुपमा सवारी हिँड्ने वातावरण बनाउन पटकपटक गरिएको अनुरोधसमेत नमान्दा धेरैले दुःख पाएका छन्।

images
images

आर्थिक वर्ष २०७५/७६ मै सक्ने गरि विसं २०७२ मै ठेक्का भएको सात किमी सडक छ वर्षदेखि अलपत्र छ। शुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिइ काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन। केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो। 

images
images

सात किमीको दूरीमा पर्ने करिब ९ सय घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर बिस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता ढुङ्गानाले जानकारी दिए। यो सहमति अनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौँदेखि यात्रु पीडित छन्।

अत्तरखेल मूल सडकमा सटर भाडामा लिएर किराना पसल चलाउँदै आउनुभएकी रञ्जना श्रेष्ठ वर्षाद्मा हिलो र हिउँदमा धुलो खाएर स्वास्थ्य सङ्कट आउने गरेको गुनासो गरिन्। नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने सहमति गरेको दुई वर्षसम्म पनि सडक अलपत्र छ। आर्थिक वर्ष २०७६/७७ सक्ने सहमति नभइ थप गरिएको एक वर्षमा पनि काम सकिएन। 

आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो। त्यो अवधिमा पनि काम सकिएन। ५८ करोड रूपैयाँ लागतमा भइरहेको काममा बेला बखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन्। 

विसं २०७६ चैतमा सुरु भएको बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाए पनि विद्युतको पोल, तारलगायत संरचना अझै हटेको छैन। सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी डबले तामाङले गुनासो गरे।  

ग्राभेल हालेर डोजर र रोलरले सम्याएर वर्षाका समयमा हिलो एवं धुलो नहुने गरी काम गराउन नगरपालिकाले दबाब दिँदै आएको जनाइएको छ। निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनका इञ्जिनीयर सनम श्रेष्ठ बन्दाबन्दी शुरु भएपछि सुरक्षित तरीकाले काम गर्न कामदार पाउन नसकिएकाले काममा ढिलाइ भएको बताउँछन्।

पछिल्लो समय अन्य स्थानमा ग्राभेल हाले हिँड्न सजिलो बनाएपछि नेपाल मेडिकल कलेजअघिको सडक अलपत्र छोड्दा एम्बुलेन्समा यात्रा गर्ने बिरामीसमेत प्रभावित हुने गरेका छन्। अस्पताल अगाडिकै सडकमा बनेको खाल्डा खुल्डीमा पानी जमेर ठूला पोखरी बनेपनि सरोकार भएका निकायको ध्यान नजाँदा समस्या भएको स्थानीय बुद्धिमान तामाङले बताए। रासस


प्रकाशित : आइतबार, भदौ २७ २०७८१२:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend