काठमाडौं- सेयर बजारले पुनः वृद्धितर्फको लय समातेको छ। लामो समयपछि नेप्से सूचक २६०० बाट उकालो लागेको छ।
अब २८०० बिन्दुको ब्रेक आउट गरेर अगाडि बढ्ने अनुमान गरिएको छ। पछिल्लो समय पटकपटक करेक्सन र साइडवेजमा रहँदै आएको सेयर बजारमा यो हप्ताको सुरुवातमै उच्च अंकको वृद्धि भएको छ।
राजनीतिक तह र सरकारले आर्थिक क्षेत्र चलायमान गराउन ल्याएको अध्यादेशसमेत संसदमा दर्ता भइसकेको छ। यसमा सत्तापक्षले जसरी पनि पास गर्ने नीति लिएको छ। सो नीतिमा निजी क्षेत्र उत्साही देखिएका छन्।
गएको साताको अन्तिम कारोबार र यो साताका दुई कारोबारमा गरी लगातार तीनदिन ओरालो लागेको सेयर बजार मंगलबार भने वृद्धितर्फ लागेको थियो। मंगलबार २४.५० अंकले बढेर बजार २६५७.७७ बिन्दुमा पुग्दा ९ अर्ब ४० करोड २६ लाख रुपैयाँको कारोबार भएको थियो।
मंगलबार बढेको बजार यो साता आइतबार झनै सकारात्मक लय समातेर उच्च अंकले बढेको छ। आइतबार ६९.८० अंकले बढेर बजार २७२७.५८ बिन्दुमा पुग्दा १२ अर्ब ९५ करोड ५७ लाख रूपैयाँको कारोबार भएको छ। आज २ सय २ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ३ कम्पनीको भने स्थिर रहेको छ।
गएको साउन ३१ गते ३००० बिन्दु छोएयता गति लिन सकेको छैन। सेयर बजारको 'साइडवेज' चरण निकै लामो देखिएको छ। नयाँ खुड्किलो पार गर्न कठिन भएको थियो। बजार निकै छोटो समयमा २००० को बिन्दुबाट करिब ३००० सम्म पुगेकाले पनि अहिले लामो समय करेक्सनमा गएको देखिन्छ। यसअघिको बढोत्तरी निकै छोटो अवधिमा भएको थियो। दुई महिनाभन्दा पनि कम अवधिमा करिब हजार अंकको वृद्धि भएको थियो।
पछिल्लो समय बजारले २६०० बाट पनि तल नजाने र २८०० को बिन्दुबाट पनि माथि नजाने ट्रेण्ड लगातार समातिरहेको छ। यसैको प्रभावले उही बिन्दु वरपर बजार लामो समयदेखि घुमिरहेको छ। यहि ट्रेण्डबीच पछिल्लो केही कारोबारमा वृद्धि देखिएको छ।
बजारले निकै लामो समय करेक्सन र साइडवेजमा बिताइसकेको छ। अझै पनि प्रभावकारी गति लिन भने सकेको छैन। बजार यही २५००/२६०० आसपासकै अंकभित्र रहेर तलमाथि गरिरहेको थियो। यसो हुनुमा आम लगानीकर्तामा विश्वास बढ्न नसक्नु नै मुख्य कारण मानिएको छ। तर अव भने बजारमा धेरै लगानीकर्ता प्रवेश गरेको अनुमान गरिएको छ। यसले बजार उच्च बिन्दुमा जाने अनुमान गरिएको छ।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाती भइरहेको छ।
नेप्से सूचकसँगै औसतमा कारोबार रकम पनि राम्रो रहेको छ। अहिले नेप्से २६ सयको तहमा छ। यो लेभलमा आएपछि पनि नेप्से पटकपटक करेक्सन र साइडवेजमा रहेको पाइन्छ ।
बजारले निकै लामो समय करेक्सन र साइडवेजमा बिताइसकेको छ। अझै पनि प्रभावकारी गति लिन भने सकेको छैन। बजार यही २५००/२६०० आसपासकै अंकभित्र रहेर तलमाथि गरिरहेको थियो। यसो हुनुमा आम लगानीकर्तामा विश्वास बढ्न नसक्नु नै मुख्य कारण मानिएको छ। यता, प्राविधिक विश्लेषकहरुले भने बजार नियमित प्रक्रियाअनुसार अहिले करेक्सन र साइडवेज फेजमा रहेको र यो चक्र पूरा भएपछि गति लिने बताइरहेका छन्।
विगतमा प्रणालीमा अधिक तरलता र ब्याजदर सस्तो हुँदा सजिलै बजार माथि जाने गरेको भए पनि यसपटक भने नेप्से सजिलै अघि बढिहालेको अवस्था भने छैन। सामान्यतयः ब्याजदर सस्तो हुँदा सेयर बजार बढ्ने विश्वास गरिन्छ। मुलुकको समग्र अर्थतन्त्रमा दखिएको संकुचनकै कारण बजारले पनि आशातीत गति लिन नसकेको विश्लेषकहरु बताउँछन्।
त्यसो त आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले पहल गरिरहेको छ। यसआधारमा अब विस्तारै अर्थतन्त्रसँगै सेयर बजारले पनि गति लिने विश्वास गर्न सकिन्छ। सस्तो ब्याजदरका कारण आम लगानीकर्ताले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्नेक्रम बढेको तथ्यांकले देखाएको छ।
समग्र सेयर धितो कर्जा गत वर्षको तुलनामा २० प्रतिशतले बढिसकेको छ। अझ, मध्यम र ठूला लगानीकर्ताले यस्तो कर्जा झन्डै ५० प्रतिशतले बढाएका छन्। यसरी बजार प्रवेश गर्नेहरु बढ्दा सेयरको माग बढ्न जान्छ। माग बढ्न थालेपछि मूल्य पनि बढ्दै जाने अनुमान गर्न सकिन्छ।