काठमाडौं- नेपालको सेयर बजारमा २०५० साल माघदेखि दोस्रो बजार कारोबार सुरू भएको हो। त्यसयता बजारमा धेरै पटक उल्लेख्य उतारचढाव हुँदै आएको छ। बजारको यस्तो उतारचढावमा चुनावी वर्ष भने विशेष बन्ने गरेको देखिन्छ। खासगरी बजारको उकालो यात्रामा सहयोगी देखिने चुनावी वर्षको तथ्यांकले लगानीकर्ताको मनोविज्ञानमा परिवर्तनको आश देखाउँछ।
अब २०७९ साल चुनावी वर्षको रूपमा आउँदै छ। जसका कारण पनि लगानीकर्ताहरू हाल पर्ख र हेरको अवस्थामा रहेका छन्। चुनाव घोषणा भएमा लगानीकर्ता उत्साहित हुने आशासमेत देखिन्छ। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले त स्थानीय चुनाव बैशाखमै गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ताकेता गरेकी छन्। जसको परिणाम आउन बाँकी नै छ।
सत्तासिन कांग्रेसकै एक खेमाले पनि स्थानीय चुनाव समयमै गर्न माग गर्दै आएको छ। यदि बैशाखमै नभए पनि मंसिरसम्म अनिवार्य सबै तहको चुनाव हुने निश्चित छ। जसका कारण पनि लगानीकर्ताहरू चुनावको मिति घोषणा कुरेर बसेको देखिन्छ।
२०५० माघमा १०० रहेको नेप्से सूचकांक अहिले २०७८ माघ दोस्रो साताको अन्तिम दिन बिहीबार २७७९.९८ बिन्दुमा आइपुगेको छ। खासगरी विगतदेखि नै चुनावी वर्षहरूमा सेयर बजार उच्च अंकमा जाने गरेको छ।
यसवर्ष पनि चुनावी हल्ला चल्न थालेपछि सेयर बजार बढ्ने र घट्ने भइरहेको छ। गत पुस ५ गतेदेखि लगातार बढेको बजार यो साता भने घटेको छ। यसरी उच्च बिन्दुमा बढ्ने देखिएक बजार घट्नुको कारण चुनावी अन्योल नै भएको विश्लेषण भइरहेको छ।
अपवादबाहेक सेयर बजार चुनावका कारण बढ्दै आएको तथ्यांकले देखाउँछ। विश्लेषकहरू चुनावमा धेरै पैसा खर्च हुने र बजारमा पैसा आउने भएकोले सेयरमा लगानी बढ्ने गरेको बताउँछन्।
२०५१ सालको चुनावपछि भने बजार केही अंक घटेको थियो। तर २०५६ को चुनावको अगाडि र पछाडि दुवै समयमा बजार बढेको तथ्यांकले देखाउँछ।
‘चुनावले सेयर बजारमा सधैँजसो उत्साह ल्याउने गरेकोले यसवर्ष पनि चुनावले नयाँ उचाइमा पुर्याउने अनुमान गरिएको छ,’ विश्लेषक छोटेलाल रौनियारले भने। चुनावमा सरकारी र अनौपचरिक खर्च पनि धेरै हुने भएकोले बैंकमा तरलता अभावसमेत नहुने हुँदा लगानी बढ्ने गरेको रौनियारको बुझाइ छ।
२०५६ को जेठमा चुनावी मिति घोषणाअघि र पछि बजार बढेको देखिन्छ। २०५५ को अन्तिमतिर १९० अंकबाट बजार २०६ अंकको बिन्दुसम्म पुगेको थियो। २०५६ मा नेपाली कांग्रेसको बहुमतको सरकार बनेपछि सेयर बजार लगातार बढेर २०५७ मा ५१९.३३ को बिन्दुमा पुगेको थियो।
पछि माओवादी द्वन्द्वले ठूलो रूप लिएपछि भने सेयर बजार ओरालो लागेको तथ्यांकले देखाउँछ। २०५८ मा १९८.४४ को बिन्दुमा झरेको नेप्से २०६४ को संविधानसभाको चुनावताका भने उच्च अंकले बढेको थियो।
२०६४ को चुनावभन्दा अगाडि ३५५.६० को बिन्दुमा रहेको नेप्से चुनाव सकिएपछि ६८३.९५ बिन्दुमा पुगेको थियो। माओवादी द्वन्द्वको समाधानसँगै धेरै अनौपचारिक पैसा सेयर बजारमा आएको अनुमान उक्त समयमा गरिएको थियो। जसका कारण घरजग्गा र सेयर बजार दुवैतर्फ २०६४ सालदेखि केही वर्ष उभार आएको थियो।
२०७० मा दोस्रो संविधानसभाको चुनाव अघि र पछि पनि बजार बढेको देखिन्छ। २०७० को चुनाव घोषणा अगाडि ३८९.७४ बिन्दुमा रहेको नेप्से चुनाव घोषणपछि बढ्दै ५१८.३ बिन्दुमा नेप्से पुगेको थियो।
सेयर बजारमा २०७२ असार मसान्तमा ९६१.२३ बिन्दुमा रहेको सूचकांक २०७३ साउन १२ गते ततसमयको उच्च बिन्दु अर्थात १८८१.४५ पुगेको थियो। तर २०७४ को चुनावताका भने नेप्से परिसूचक बढ्न सकेन।
तत्कालीन समय नेकपा माओवादी र नेकपा एमाले गठबन्धनसहित चुनावमा होमिएका थिए। उक्त समयमा झन्डै दुई तिहाइ मतसमेत उक्त गठबन्धनले ल्याएको थियो। उक्त समयमा सेयर बजारलाई चुनावले छुन सकेन। जसका कारण चुनावअगाडि १५२०.२ बिन्दुमा रहेको नेप्से २०७४ फागुनमा पुग्दा १२८६ बिन्दुमा पुगेको थियो।
सेयर विश्लेषक विष्णु बस्याल भने चुनावकै कारण सेयर बजार बढ्ने कुरामा सत्यता नरहेको बताउँछन्। चुनावको समयमा सेयर बजार बढ्ने ट्रेन्डमा रहँदा बढ्ने गरेको र घट्दो ट्रेन्डमा रहँदा घट्ने गरेको उनी बताउँछन्। 'चुनावकै कारण बजार बढ्ने भन्ने होइन, जुन ट्रेन्डमा बजार गइरहेको हुन्छ त्यही ट्रेन्ड चुनावले गर्दा अघि बढ्ने गरेको हो। सबै चुनावमा बजार बढेका पनि छैनन्' उनले भने।
बस्यालले चुनाव नै सेयर बजार बढ्नुको कारण नरहेको बताए पनि अहिलेको अवस्था बजारको परिस्थिति उच्च बिन्दुमा जाने नै देखिन्छ। जसले गर्दा आउँदो चुनावको माहोल बजारको वृद्धिमा सहयोगी हुने देखिन्छ। सेयर बजारलाई स्थायित्व दिन, दोस्रो बजार कारोबारमा हुने उतारचढावलाई न्यूनीकरण गर्न तथा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न पनि चुनावले सिर्जना गर्ने माहोल प्रभावकारी हुने देखिन्छ।