मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

आयातमा कर बढाउने ट्रम्पको नीतिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा

शनिबार, माघ १९ २०८१
आयातमा कर बढाउने ट्रम्पको नीतिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा

नेपाली बजारमा पनि सुनको मूल्य बढ्दै गएको छ। विशेषगरी भन्सार घटेपछि मूल्य तल आए पनि अहिले फेरि बढेर तोलाको १ लाख ६२ हजार पुगिसकेको छ।

काठमाडौं- आयातमा कर बढाउने अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको नीतिका कारण बढ्दै गएको भूराजनीतिक अनिश्चितकै बीचमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआउन्स २ हजार ८ सय अमेरिकी डलरमाथि पुगेको छ। शुक्रबार सुन प्रतिआउन्स २ हजार ८०८ डलर पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

पछिल्लो समय सुनको मूल्यले निरन्तर उचाइ हासिल गरिरहेको छ। सन् २०२५ को जनवरीमै सुनको मूल्य ५ प्रतिशतले बढेको छ भने पछिल्लो ६ मिनामा १४ प्रतिशतले बढेको छ। गएको १ वर्षमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३६ प्रतिशतले बढेको छ।

सुनको मूल्यमा निरन्तरको वृद्धि अझै नरोकिने अन्तर्राष्ट्रिय संस्थाहरूले विश्लेषण गरेका छन्। अमेरिकाले आयातमा उच्च कर लगाउँदै जाँदा त्यसले मूल्यवृद्धिको त्रास झनै बढाएको छ।

त्यस्तै धेरैतिर संरक्षणवादले गर्दा अर्थतन्त्रमा जोखिम बढाउँदै गएको छ। यसले पनि सबैभन्दा सुरक्षित लगानी सुन भएकाले यसको मूल्य छिट्टै ३ हजार डलर पुग्ने अनुमान गरिएको छ। 

अर्कोतिर केन्द्रीय बैंकहरूले सुनको खरिदलाई झन तीव्रता दिन थालेका छन्। विशेषगरी ब्रिक्स मुलुकका केन्द्रीय बैंकले सुनको खरिदलाई रणनीतिक रुपमा अघि बढाएका छन्। डलरमाथिको निर्भरता घटाउनका लागि उनीहरूको सुनको खरिदलाई प्राथमिकता दिन थालेका छन्। 

पछिल्लो १८ महिनादेखि केन्द्रीय बैंकहरूले सुन खरिद बढाउँदा पनि मूल्यमा उछाल देखिएको छ।

अर्कोतिर सुनको ठूलो उपभोक्ता बजार भारत हो। भारतमा भोलि आउने बजारले पनि प्रभाव पार्नसक्ने बताइएको छ। यदि भारतले सुनमा लाग्ने भन्सारमा अझै घटाइदियो या यथावत राख्यो भने पनि माग बढ्ने अनुमान गरिएको छ।

नेपाली बजारमा पनि सुनको मूल्य बढ्दै गएको छ। विशेषगरी भन्सार घटेपछि मूल्य तल आएपनि अहिले फेरि बढेर तोलाको १ लाख ६२ हजार पुगिसकेको छ।


प्रकाशित : शनिबार, माघ १९ २०८१०९:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend