शनिबार, असोज ५ गते २०८१    
images
images

समयमा नसकिने भयो हुलाकी राजमार्ग, ७० वटा पुलको डिजाइन हुनै बाँकी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १४ २०७८
images
images
समयमा नसकिने भयो हुलाकी राजमार्ग, ७० वटा पुलको डिजाइन हुनै बाँकी

वन क्षेत्रका कारणले सडक निर्माण गर्न नसकिएको खण्डमा विगतमा प्रयोगमा रहेका अरू सडकलाई विकल्पका रुपमा प्रयोग गर्ने गरी पनि विगतमा छलफल भएको थियो।

images
images

काठमाडौं- राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण लक्ष्य लिइएको समय (आब २०७९/८०) सम्ममा सम्पन्न नहुने देखिएको छ।

images
images
images

निर्धारित समय सकिन डेढ वर्षभन्दा कम बाँकी हुँदा अझै कतिपय खण्डमा रेखाङ्कन नै टुङ्गो लाग्न सकेको छैन भने झन्डै ७० वटा पुलको डिजाइन हुन पनि बाँकी नै छ। वन क्षेत्रबाट रेखाङ्कन हुने गरी डिजाइन भए पनि त्यस क्षेत्रमा जग्गा प्राप्त गर्ने अवस्था नभएको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ। झन्डै १२५ किमी निकुञ्ज क्षेत्रमा पर्ने र निर्माणका लागि पटकपटक प्रयास गरे पनि अनुमति नपाइएको निर्देशनालयका प्रमुख धर्मेन्द्र झाले बताए।

चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग पटकपटक छलफल भए पनि निर्माणस्थल नपाउने देखिएको छ। उनले भने, 'त्यसको विकल्पका बारेमा निर्णय माथिबाट नै हुनुपर्छ।' विगतका वर्षहरूमा कोभिडका कारणले पनि निर्माणमा ढिलाइ भएको निर्देशनालयले जनाएको छ।

आयोजनाको समय सकिएपछि झन्डै दुई वर्ष थप आवश्यक पर्नसक्ने उनले बताए। वन क्षेत्रका कारणले सडक निर्माण गर्न नसकिएको खण्डमा विगतमा प्रयोगमा रहेका अरू सडकलाई विकल्पका रुपमा प्रयोग गर्ने गरी पनि विगतमा छलफल भएको थियो।

images

चितवन राष्ट्रिय निकुञ्ज हुँदै सडकको रेखाङ्कन भएकाले आयोजनाले वातावरणीय अध्ययन सकेर पटकपटक अनुमति मागे पनि पाएको थिएन। चितवन जिल्लामा २३ किमी र नवलपरासी जिल्लामा ६५ गरी झन्डै ८८ किमी निकुञ्जभित्र पर्छ। विश्व सम्पदा क्षेत्रमा त्यसको मापदण्डका आधारमा मात्रै पूर्वाधार निर्माण गर्न पाउने व्यवस्था छ। त्यसका लागि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सहमति चाहिन्छ।

आयोजनाअन्तर्गत झन्डै साढे दुई सय पुल निर्माण गर्नुपर्नेमा झन्डै ७० पुलको डिजाइन बाँकी छ। अहिलेसम्म झन्डै एक सय पुल मात्रै सम्पन्न भएको छ। ती ७० पुलमध्ये अहिले धेरै डिजाइन स्वीकृत हुने क्रममा रहेको प्रमुख झाले बताए। उनले भने, 'नारायणी, बाग्मतीलगायत ठूला र कतिपय साना खोलामा डिजाइनमा जान बाँकी छ।'

रेखाङ्कनमा समस्या भएको बाहेकको खण्डमा सडक सम्पन्न भए पनि पुल अबको डेढ वर्षमा सम्पन्न गर्न नसकिने आयोजनाले जनाएको छ। नेपालमा पुल निर्माणका लागि कम्तीमा दुईदेखि साढे दुई वर्षसम्म लाग्ने गरेको छ। सडकतर्फ, अहिलेसम्म झन्डै आठ सय किमीमा कालोपत्र सकियो भने झन्डै एक हजार किमीमा कालोपत्र बाँकी छ। उनले भने, 'सडक निर्माणका लागि अधिकांश ठाउँमा ठेक्का भयो, केही खण्डमा मात्र बाँकी छ।'

चालु आवमा अहिलेसम्म वित्तीय प्रगति झन्डै ४० प्रतिशत र भौतिक प्रगति ६० प्रतिशत भएको छ। बीस प्रतिशत काम सकिएको बिल पेस गर्न बाँकी छ। चालु् आवमा डेढ सय किमी सडक र १५ पुल सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। अहिलेसम्म ६० किमी सडक र नौ पुल सम्पन्न भइसकेको छ।

कोभिडका कारण विगतका वर्षहरूमा निर्माणमा बाधा पुगेको भए पनि अहिले सङ्क्रमणले निर्माणमा समस्या छैन । चालु आवमा माग भएभन्दा कम बजेट छुट्याइएको छ। उनले भने, 'त्यसैले गर्दा पनि लक्ष्यभन्दा बढी काम हुनसक्छ । यो आवमा आयोजनामा ६ अर्ब २० करोड छुट्याइएको तथा पुस सम्ममा सवा दुई अर्ब खर्च भइसकेको छ। जम्मा ६५ अर्ब रूपैयाँ बजेट रहेकामा अहिलेसम्म ५१ अर्ब खर्च भइसकेको छ।'

विगतका वर्षहरूमा आयोजनाका पुलमा धेरै समस्या भए पनि अहिले समाधान भइरहेको प्रमुख झाले बताए। कमला नदीमा सिरहा र धनुषा जोड्ने पुल सम्पन्न नहुँदै भाँचिएको थियो भने  बाग्मती पुल पनि मुद्दामा थियो। अहिले त्यसमा नयाँ ठेक्काबाट काम भइरहेको उनले बताए। उनले भने, 'बाँकी रहेका पुराना ठेक्कामा पनि काम भइरहेको छ।'

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रुपमा थियो। पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल सरकारले बनाउने सम्झौता भएको थियो। विसं २०६५/६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने भन्ने योजना बनेको थियो । विभिन्न कारणले त्यो स्वरुपमा काम हुन सकेन। भारतीय पक्ष बीचैमा छाडेर फर्किएपछि आव २०७३/७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेको थियो।

आयोजनाअन्तर्गत नै ८८१ किमी लम्बाइको ‘फिडर सडक’ को निर्माण भइरहेको छ। यसमध्ये २४५ किमी भारत सरकारले र बाँकी नेपाल सरकारले निर्माण गर्ने समझदारी थियो। भारत सरकारले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ भने बाँकीमा सरकारले निर्माण गरिरहेको छ।

राष्ट्रिय योजना आयोगले हुलाकी राजमार्ग आयोजना आव २०७९/८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ। हुलाकी राजमार्गको पूर्व-पश्चिम सडक निर्माणाधीन छ भने कतिपय उत्तर-दक्षिण सडक निर्माणका क्रममा रहेका छन्। हुलाकी राजमार्गलाई तराई-मधेसको समृद्धिसँग जोडेर सुरु गरिएको हो।

मधेसमा देशभरको झण्डै आधा जनसङ्ख्या बसोबास गर्ने भएकाले आयोजना सम्पन्न भएपछि त्यहाँका नागरिकको पहुँच बढ्ने अपेक्षा गरिएको छ। त्यस क्षेत्रको ब्यापार, कृषिलगायतका क्षेत्रमा राजमार्गले नयाँ सम्भावना खुल्नेछ। 

पूर्व-पश्चिम राजमार्गबाट सुरु भएर हुलाकी राजमार्गलाई पार गरी भारतीय सीमासम्म पुग्ने गरी ‘फिडर रोड’ निर्माण गरिएको छ। राजमार्गले पूवदेखि पश्चिमसम्म पूरै तराईलाई समेटेको छ। राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएपछि तराई-मधेश पूर्ण रुपमा सुगम हुने अपेक्षा गरिएको छ। हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेको ‘फिडर सडक’ बाहेक अरु निकायबाट पनि उत्तर दक्षिण जोड्ने गरी सडक निर्माण गरिएको छ। सबै निर्माण सकिएपछि तराईका धेरै ठाउँसम्म सडकको सञ्जाल विस्तार हुनेछ।

हुलाकी राजमार्ग र ‘फिडर सडक’ दुबै दुईदुई लेनमा निर्माण अघि बढाइएको छ। सात मिटर कालोपत्र र दुईदेखि साढे दुई मिटर पैदलयात्रु मार्गसमेत गरी ११ देखि १२ मिटर चौडाइमा सडक निर्माण भइरहेको छ। जग्गा उपलब्ध हुँदा १२ मिटर र नहुँदा कम्तीमा ११ मिटर निर्माण गरिएको हो। रासस


प्रकाशित : शुक्रबार, माघ १४ २०७८०९:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend