शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

नवलपुरको नमुना सदरमुकाम निर्माणस्थलका रुख काटियो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १८ २०८१
images
images
नवलपुरको नमुना सदरमुकाम निर्माणस्थलका रुख काटियो

प्रारम्भिक गुरुयोजनाअनुसार आयोजनाको कुल लागत १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ। यो लागत बढ्ने आयोजनाले बताएको छ।

images
images

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माणस्थलका रुख काटिएका छन्। जिल्लाको कावासोती नगरपालिका-३ मा नमुना सदरमुकाम निर्माण स्थलमा पर्ने ६ सय ४२ रुखमध्ये पहिलो चरणमा ४७ रुख काटिएको हो। 

images
images
images

सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनका सहायक इञ्जनियर कुन्दन तिवारीका अनुसार पहिलो चरणमा भवन निर्माण हुने स्थलका ४७ रुख काटिएको छ।

images
images

विसं २०७६ बैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना सदरमुकामको शिलान्यास गरेका थिए। उक्त स्थानमा रहेका रुख हटाउने निर्णय नहुँदा काम अघि बढ्न सकेको थिएन।

images
images
images

हालै मन्त्रिपरिषद्ले सदरमुकाम निर्माण स्थलका छ सय ४२ रुख कटानका लागि स्वीकृत प्रदान गरेको थियो। उक्त निर्णयसँगै पहिलो चरणमा निर्माण हुन लागेको भवन रहने स्थानमा पर्ने रुख काटिएको सहायक इञ्जिनियर तिवारीले बताए।

नवलपुरको नमुना सदरमुकाम निर्माण स्थलका लागि छुट्याइएको एक सय ८४ बिघा जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माणको योजना रहेको छ। सोअनुसार पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन र थप दुई कार्यालयका लागि एकीकृत भवन निर्माण गर्नेगरी चौधरी कन्स्ट्रक्सन रौतहटसँग ठेक्का सम्झौता भएको सहायक इञ्जिनियर तिवारीले बताए। रुख हटाएसँगै केही दिनमा भवन निर्माणको काम सुरु हुने उनले बताए। 

सदरमुकाम निर्माणको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनले गत आर्थिक वर्षमा विनियोजित ५० करोड बजेटबाट पहिलो चरणमा भवन निर्माण थालेको छ। यस वर्ष थप  ८० करोड विनियोजन भएको छ।

 यसबाट अन्य भवन निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी गरिएको सहायक इञ्जिनियर तिवारीले बताए। नवलपुरको सदरमुकाम निर्माणका लागि यसै वर्ष थप चार अर्बको स्रोत सुनिश्चितताको सहमति प्राप्त भएकाले क्रमशः अन्य भवन निर्माणका कामसमेत हुँदै जाने सहायक इञ्जिनियर तिवारीले बताए। 

शिलान्यास भएको करिब छ वर्षको अवधिमा बल्ल सदरमुकाम निर्माणको काम हुन लागेको हो। नमुना सदरमुकाम निर्माणको गुरुयोजनाअनुसार यहाँ संघ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम, कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभाहल, पुस्तकालय, खाजाघरलगायत संरचना निर्माण हुनेछन्।

प्रारम्भिक गुरुयोजनाअनुसार आयोजनाको कुल लागत १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ। यो लागत बढ्ने आयोजनाले बताएको छ। 

एक सय ८४ बिघा क्षेत्रमध्ये ४१ प्रतिशत भूभागमा मात्र भौतिक पूर्वाधार निर्माण हुनेछन्। वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनअनुसार अन्य भू-भाग कङ्क्रिटविहीन राखिनेछ। आयोजना निर्माण स्थलमा हरियाली क्षेत्र राखिनेछ। गण्डकी प्रदेशका ११ जिल्ला परिदृश्य गर्ने ११ खण्डको एक लाख १८ हजार नौ सय १९ वर्ग मिटर क्षेत्रफलमा हरियाली क्षेत्र निर्माण गरिनेछ। रासस


प्रकाशित : शुक्रबार, माघ १८ २०८११३:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend