मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

मार्जिन कारोबारका लागि १६ वाणिज्य बैंकसहित १०२ कम्पनी योग्य, यस्तो छ सूची

बुधबार, माघ १६ २०८१
मार्जिन कारोबारका लागि १६ वाणिज्य बैंकसहित १०२ कम्पनी योग्य, यस्तो छ सूची

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार योग्य १ सय २ कम्पनीको सूची सार्वजनिक गरेको छ।

नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको हो।

नेप्सेमा सूचीकृत ३ सय २५ कम्पनीमध्ये १ सय २ वटा कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ।

मार्जिन कारोबारयोग्य कम्पनीहरूमा १६ वटा वाणिज्य बैंक परेका छन्। यस्तै ६ वटा विकास बैंक, एउटा फाइनान्स कम्पनी, ३३ लघुवित्त वित्तीय संस्था परेका छन्। यस्तै यस सूचीमा ९ जीवन बीमा, ९ निर्जीवन बीमा र एक पुनर्बीमा कम्पनी परेका छन्।

नेप्सेका अनुसार लगानी समूहका ४ कम्पनी, उत्पादन समूहका ३ कम्पनी, जलविद्युत समूहका १५ कम्पनी, होटल समूहका २ कम्पनी र अन्य समूहबाट एक कम्पनी मार्जिन कारोबारयोग्य सूचीमा छन्।

के हो मार्जिन कारोबार?

सेयर कारोबारीले आफूसँग भएको रकमभन्दा बढी रकममा सेयर खरिद गर्न पाउने सुविधालाई मार्जिन कारोबार भनिन्छ। आफूसँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदा पनि सेयर किन्न सकिने सुविधालाई मार्जिन ट्रेडिङ अर्थात् मार्जिन कारोबार भनिन्छ। यस्तो ऋण सेयर ब्रोकरहरूले उपलब्ध गराउँछन्। यसरी ऋण दिलाएबापत सेयर ब्रोकरहरूले ब्याज अथवा अन्य शुल्कहरू लिन्छन्।

धितोपत्र खरिद गर्न आफूले निश्चित रकम लगानी गरी बाँकी रकम धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीमार्फत ऋण लिने सुविधालाई मार्जिन कारोबारसम्बन्धी सुविधा भनेर बुझ्न सकिन्छ। नेपाली धितोपत्र ब्रोकरले यस्तो सुविधा दिन पाउने व्यवस्था भर्खरै भएको हो।

धितोपत्र बोर्डले बनाएको नियमअनुसार ५० प्रतिशत रकम ग्राहकले लगानी गर्नुपर्नेछ र बाँकी ५० प्रतिशतसम्म ब्रोकरले हालिदिनेछ। मानौँ, तपाईसँग ५ लाख रुपैयाँ छ र १० लाखको सेयर खरीद गर्नुपर्‍यो भने बाँकी रकम मार्जिन सुविधाबाट ब्रोकर कम्पनीले कर्जाको रूपमा उपलब्ध गराउनेछ।

यो सुविधा उपलब्ध गराउँदा ब्रोकर कम्पनीले सो सम्बन्धमा ग्राहकसँग सम्झौता गर्नुपर्नेछ। सम्झौतामा प्रारम्भिक मार्जिन कति हुने, सम्भार मार्जिन दर कति हुने, मार्जिन कल कसरी गर्ने, सेवाशुल्क वा ब्याज कति हुने, कुन कुन सेयर खरीद गर्ने हो सोको विवरणसहित आवश्यकताअनुसार अन्य सर्त समेटिएको हुन्छ।

यो सुविधा उपलब्ध गराएबापत कम्पनीले केही रकम ब्याज तथा अन्य शुल्कको रूपमा लिन सक्नेछन्। यसरी सेयर किनेपछि हुन सक्ने लाभ र हानि दुवैको पूर्ण जिम्मेवार भने मार्जिन सुविधा लिने लगानीकर्ता आफै हुन्छ। 

अर्थात् नाफा र घाटा दुवैको हकदार लगानीकर्ता स्वयम् हुनेछ। खुद सम्पत्ति कम्तीमा ५ करोड हुने ब्रोकर कम्पनीले मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउँछन्।

मार्जिन कर्जा पहिले आफ्नो रकमले धितोपत्र खरीद गरेपछि त्यसको प्रमाणपत्र धितोको रूपमा बैंकमा प्रस्तुत गर्नुपर्दछ र उक्त धितोको आधारमा बैंकले केही प्रतिशत कर्जा दिन्छ। ब्रोकरमार्फत लिइने मार्जिन कारोबार सुविधामा भने आफूसँग भएको रकम ब्रोकरलाई दिइन्छ र ब्रोकरले त्यसमा थपेर धितोपत्र खरीद गरिदिन्छ।

यस्तो छ सूची विवरण


प्रकाशित : बुधबार, माघ १६ २०८११०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend