शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला : ‘घुमौँ मधेस, बुझौँ मधेस’ प्रति विशेष आकर्षण

images
बुधबार, माघ १६ २०८१
images
images
पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला : ‘घुमौँ मधेस, बुझौँ मधेस’ प्रति विशेष आकर्षण

सहभागी जिज्ञासुलाई संयोजक ठाकुर, चन्द्रपुर उद्योग वाणिज्य संघका अध्यक्ष उदय सापकोटालगायतले मधेस प्रदेशको पर्यटन, त्यहाँको वास्तविकताका साथै मधेसीहरूले गर्ने न्यानो आतिथ्यता आदिबारे जानकारी गराउने गरेका छन्।

images
images

गण्डकी- पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि (आइटी) महोत्सवको उद्घाटनका अवसरमा मिथिलाको झिझिया नाचबाट गरिएको स्वागतलाई यहाँका स्थानीयले बिर्सेका छैनन्।

images
images
images

यही माघ १० गतेदेखि पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा थारू र भोजपुरी नृत्यप्रति स्थानीयको विशेष  आकर्षण थियोभने महोत्सव किनमेलको गन्तव्य पनि बनेको थियो। सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकासले ल्याएको क्रान्ति झल्काउने आइटी उपकरण अवलोकन गर्ने थलो मात्र महोत्सव बनेन अपितु विभिन्न प्रदेशलाई जान्ने, बुझ्ने र अनुभव गर्न सकिने स्थान बन्यो।

images
images

महोत्सवमा मधेस प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले राखेको ‘घुमौँ मधेस बुुझौँ मधेस’ कक्ष मधेसलाई बुझ्न महत्त्वपूर्ण बनेको छ। हरेक दिन महोत्सवका सहभागी करिब पाँच सय जनासम्मले यस कक्षमा आएर मधेस प्रदेश र यहाँको धार्मिक एवं पर्यटकीय गन्तव्यबारे बुझ्ने गरेको ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियानका संयोजक विकासकुमार ठाकुरले बताए।

images
images
images

सहभागी जिज्ञासुलाई संयोजक ठाकुर, चन्द्रपुर उद्योग वाणिज्य संघका अध्यक्ष उदय सापकोटालगायतले मधेस प्रदेशको पर्यटन, त्यहाँको वास्तविकताका साथै मधेसीहरूले गर्ने न्यानो आतिथ्यता आदिबारे जानकारी गराउने गरेका छन्।

मेला उद्घाटनका अवसरमा संयोजक ठाकुरले कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेललाई मधेस प्रदेशका धार्मिक एवं पर्यटकीय गन्तव्यबारे सचित्र परिचय दिइएको पुस्तिका (बुकलेट) हस्तान्तरण गरेका थिए। उक्त अवसरमा मधेस प्रदेशको सांस्कृतिक धरोहरलाई झल्काउने भिझिया नृत्य र थारू नृत्यसमेत देखाइएको थियो।

मधेस प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ पर्यटन राजधानी पोखरामा जारी महोत्सवका अवसरमा ‘घुमौँ मधेसः बुझौँ मधेस’ को प्रवर्द्धनात्मक कक्ष राखिएको संयोजक ठाकुरले बताए।

प्रवर्द्धनात्मक सामग्रीका रुपमा महोत्सवका सहभागीलाई मधेस प्रदेशका पर्यटकीय गन्तव्यबारे सचित्र जानकारी समेटिएको पुस्तिका वितरण गरिएको छ। पुस्तिकामा प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिरसहितका धार्मिक महत्वका स्थलबारे जानकारी गराइएको छ।

मिथिलाञ्चलवासीको सांस्कृतिक धरोहर यस मन्दिर सन् १८९४ मा शिलान्यास भइ सन् १९९१ मा निर्माण पूरा भएको पुस्तिकामा उल्लेख छ। पुस्तिकामा कोशी टप्पु वन्यजन्तु आरक्ष, सहलेश फूलबारी, गढीमाई, पर्सा राष्ट्रिय निकुञ्ज, पञ्चधुरा, दिनाभद्री मन्दिर, सिम्रौनगढ, कंकलिनी मन्दिर, धनुषाधाम, भरत तालबारे सचित्र जानकारी दिइएको छ।

मधेस प्रदेशमा रहेका नुनथर, गहवामाई, छिन्नमस्ता भगवती मन्दिर, ठोरी, भिश्वाडाँडा, मटिहानी, रौजा मजार, कमलदह, चुरे शिवालिक पर्वत, राजदेवी मन्दिर, चुरियामाई, पारसनाथ मठ, पर्सागढी, दुग्धेश्वरनाथ महादेव, चन्द्र नहरबारे पुस्तिकामा चर्चा गरिएको छ।

यस्तै मूर्तिया, नाढीमन ताल, जलेश्वर महादेव मन्दिर, हनुमान मन्दिर, बाबाताल, हात्तीदह सिमसार, टुटेश्वरनाथ धाम, कारिक स्थान पडौल, सहिद स्मृति पार्क, शिव मन्दिर, निजानन्द धाम, सिद्धबाबा हाइकिङ, जनकपुर रेलमार्ग र बरहवातालबारे पुस्तिकामा जानकारी गराइएको छ। पुस्तिकामा उल्लेखित स्थानबारे दिइएका जानकारीले मधेस प्रदेशमा जाने पर्यटकलाई त्यहाँबारे पूर्ववत् रूपमा सामान्य जानकारी हासिल गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

मधेसबारे महोत्सवका सहभागीलाई परिचय गराउनुका साथै त्यहाँका विशिष्टताबारे जानकारी गराउँदै मधेस बुझ्न र घुम्न अनुरोध गर्ने गरिएको चन्द्रपुर उद्योग वाणिज्य संघका अध्यक्ष उदय सापकोटाले बताए। 'मधेस सबै किसिमले घुम्नैपर्ने गन्तव्य हो भन्ने सन्देश दिनका लागि पनि हामी यहाँ आएका हौँ', उनले भने, 'मधेसका धेरै प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरू हेर्न लायक छन्।'

पछिल्ला समयमा मधेसमा पूर्वाधार विकास पनि द्रुत रूपमा भइरहेको बताउँदै उनले पहिला जनकपुर विमानस्थल मात्र रहेको यस प्रदेशमा अहिले सिमरा र राजविराजमा पनि विमानस्थल सञ्चालनमा आएको जानकारी दिए।

मधेस बुझ्ने कक्षका साथै मधेसको मौलिक परिकार चाख्न पाउने गरी राखिएको अर्को कक्ष पनि यतिखेर महोत्सवको आकर्षण बनेको छ। महोत्सवस्थलमा रौतहटको कटहरिया बजारबाट आएर बनाइएको कटियाको स्वादसँगै सप्तरीको बरमझियाको पेडाको स्वादसमेत चाख्न पाइने सो कक्षका सञ्चालक अजय साह सोनारले जानकारी दिए।

महोत्सवस्थलमा आएका व्यक्तिहरूले निकै रुचिका साथ कटिया र पेडा खाने गरेको उनले बताए। माटोको घैँटोमा पकाइने खसीका मासुलाई कटिया भनिने र यसले मधेसको रौतहटको मौलिक परिकारका रूपमा चर्चा कमाएको उनले जानकारी दिए।

माटोको घैँटोमा खसीको मासुसँगै प्याज, अदुवा, लसुन, जिरा, खुर्सानी, मरिच, बेसार राखेर कोइलाको रापमा पकाइने यो परिकार महोत्सवको आकर्षण बनेको उनले जानकारी दिए। सप्तरी बरमझियाको पेडा चाख्नेको पनि उत्तिकै आकर्षण रहेको उनले जानकारी दिए।

महोत्सवलाई पोखराको मात्र नभई देशकै विविधता जान्ने, बुझ्ने र अनुुभव गर्ने थलोका रूपमा विकास गर्न खोजिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए।

महोत्सवस्थलमा विभिन्न प्रदेशका कक्ष पनि रहेका जानकारी दिँदै उनले दुई सय ५० कक्षमध्ये मधेस प्रदेशको दुई कक्षसँगै सूदुरपश्चिमका एक, कोशीका तीन, बागमतीका पाँचवटा कक्ष रहेको उनले जानकारी दिए। तीनवटै प्रदेशका मौलिक उत्पादनलाई बिक्रीमा राखिएको छ। महोत्सव माघ १९ गते समापन हुने छ। रासस


प्रकाशित : बुधबार, माघ १६ २०८११०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend