मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

पुँजीकोषको दबाब हटाउन ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार सेयर जारी गर्दै एनआईसी एसिया बैंक

बुधबार, माघ १६ २०८१
पुँजीकोषको दबाब हटाउन ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार सेयर जारी गर्दै एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले माघ महिनाभित्रै साधारणसभा गर्ने तयारी गर्दै राष्ट्र बैंकसँग एप्रुभल मागेको छ। तर राष्ट्र बैंकले हालसम्म अनुमति स्वीकृत गरेको छैन।

काठमाडौं- एनआईसी एसिया बैंकले आगामी साधारणसभामार्फत अग्राधिकार सेयर प्रस्ताव गर्ने भएको छ। प्राथमिक पुँजीकोष (टायरवान क्यापिटल) मा परेको दबाब कम गर्न एनआईसी एसिया बैंकले अग्राधिकार सेयर प्रस्ताव गर्न लागेको हो। 

८.५ प्रतिशत लाभांश दर राखेर करिब ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार सेयर प्रस्ताव गर्न लागिएको बैंकले जनाएको छ।

एनआईसी एसिया बैंकले माघ महिनाभित्रै साधारणसभा गर्ने तयारी गर्दै राष्ट्र बैंकसँग एप्रुभल मागेको छ। तर राष्ट्र बैंकले हालसम्म अनुमति स्वीकृत गरेको छैन।

गत आर्थिक वर्षको तेस्रो मौद्रिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले अग्राधिकार सेयर जारी गर्ने सुविधा दिएको थियो। बैंकहरूले पुँजी वृद्धिको सुविधा मागेपनि राष्ट्र बैंकले अग्राधिकार सेयरको प्रस्ताव अगाडि बढाएको हो।

भुक्तानी अवधि तोक्न नपाइने, संस्थापक तथा संस्थागत सेयरधनीले मात्रै खरिद गर्न पाउने, बैंकको टायरवान क्यापिटल ट्रिगर बिन्दुभन्दा तल आएमा साधारण सेयरमा परिणत गर्न पाउने, लगानीकर्तालाई भन्दा पहिले लाभांश दिनुपर्नेलगायतका सर्तहरू अग्राधिकार सेयरमा समावेश भएको छ। 

यसअघि प्रस्ताव गरेको कामना सेवा विकास बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर अनुमति पाइसकेको छ भने नबिल बैंकको अग्राधिकार सेयर प्रस्ताव अस्वीकृत भएको छ। भुक्तानी अवधि तोकेको भन्दै नबिल बैंकको अग्राधिकार सेयर अनुमति खारेज गरेको हो।

यस्तै एनएमबि बैंक र सिद्धार्थ बैंकले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेका छन्। दुबै बैंकले ३/३ अर्ब रुपैयाँ अग्राधिकार सेयर जारी गर्नका लागि प्रस्ताव गरेका छन्।

एनआईसी एसिया बैंक गत वर्षदेखि नै पुँजीकोषको दबाब रहेको छ। बैंकले पुँजीकोषमा रहेको दबाब कम गर्न पुँजी वृद्धिको प्रस्ताव गर्दै आएको थियो। तर राष्ट्र बैंकले अनुमति नदिएपछि अग्राधिकार सेयर जारी गर्ने बाटोमा गएको छ। 

हाल बैंकको चुक्ता पुँजी करिब १४ अर्ब रहेको छ। थप ५ अर्ब रुपैयाँ अग्राधिकार सेयरको अनुमति पाएमा प्राथमिक पुँजी सहज अवस्थामा पुग्ने अपेक्षा बैंकले लिएको छ। 

पछिल्लो समय बैंकको खराब कर्जा बढिरहेको छ। खराब कर्जा बढेकाले बैंकको प्रोभिजनिङ बढेको छ। लोन लस प्रोभिजिनिङ बढेकाले बैंकको वितरणयोग्य घाटा २ अर्ब ५० करोडभन्दामाथि पुगिसकेको छ। खराब कर्जा घटाउन बैंकले कर्जा असुलीमा तीब्रता दिनुका साथै आफ्नो व्यवसायिक रणनीतिसमेत परिवर्तन गर्ने तयारी गरिरहेको छ। गत वर्षयता बैंकले आफ्नो कर्जा असुली तीब्र बनाउनुका साथै महँगो ब्याजदर लिएको मुद्दती निक्षेपसमेत फिर्ता गरेको छ। 


प्रकाशित : बुधबार, माघ १६ २०८१०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend