काठमाडौं- विसं २०७२ साल बैशाखमा गएको भूकम्पपछि भारतले नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि २५० मिलियन अमेरिकी डलर अनुदान सहायताको प्रतिबद्धता जनाएको थियो। सो अनुदान सहायता चार विभिन्न क्षेत्रका लागि छुट्याइएको थियो। जसमा आवास (१०० मिलियन), शिक्षा (५० मिलियन), स्वास्थ्य (५० मिलियन) र सांस्कृतिक सम्पदा (५० मिलियन) थियो। यी परियोजनाहरूको प्रगति अनुगमन गर्न सन् २०१७ अगस्टमा जेपीएमसी (संयुक्त परियोजना अनुगमन समिति) संयन्त्र स्थापना गरिएको थियो।
भारत र नेपालले भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरू सम्बन्धी संयुक्त परियोजना अनुगमन समितिको पाँचौं बैठक मिति २०८१ माघ १४ गते काठमाडौंमा आयोजना गरेका थिए। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकार, विदेश मन्त्रालयका अतिरिक्त सचिव (नर्थ) मुनु महावरले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपाल सरकार, सहरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले गरेका थिए। बैठकमा भारत र नेपाल सरकारका अन्य दर्जनौँ प्रतिनिधिहरू, परामर्शदाता र परियोजनाहरूको कार्यान्वयनमा संलग्न अन्य सरोकारवालाहरूको पनि उपस्थिति थियो।
बैठकले नेपालमा आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारको सहयोगमा अघि बढाइएका भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको विस्तृत समीक्षा गर्यो। बैठकले सन् २०२१ मा आवास क्षेत्र र सन् २०२४ मा शिक्षा क्षेत्र अन्तर्गत सहमति भएका परियोजनाहरू सफलतापूर्वक सम्पन्न भएकोमा प्रशंसा गर्यो।
स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भएको प्रगति उपर दुवै पक्षले सन्तुष्टि व्यक्त गरे र यी क्षेत्रहरू अन्तर्गतका परियोजनाहरू छिटो भन्दा छिटो सम्पन्न गर्ने कुरामा सहमत भए।
सन् २०२३ अक्टोबरमा सम्पन्न पछिल्लो जेपीएमसी बैठक यता, भारत सरकारले शिक्षाको क्षेत्रमा काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय सहित २६ वटाभन्दा बढी परियोजना, स्वास्थ्य क्षेत्रमा ३२ वटा परियोजना र सांस्कृतिक सम्पदा क्षेत्रमा ३ वटा परियोजना हस्तान्तरण गरिसकेको छ। यी परियोजनाहरूको लागत नेरु ३३५.०८ करोड रहेको छ। यसका साथै यो अवधिमा नेरु १७३.४९ करोड बराबर स्वास्थ्य क्षेत्रमा ४३ वटा परियोजना र सांस्कृतिक सम्पदा क्षेत्रमा ९ वटा परियोजना सम्पन्न भइसकेका छन्।
दुवै पक्षले पुनर्निर्माण परियोजनाले ल्याएको सकारात्मक सामाजिक-आर्थिक प्रभाव खास गरी रोजगारी सिर्जना र दुर्गम क्षेत्रमा स्वास्थ्य र शिक्षा सुविधामा भएको विस्तारको सराहना गरे।
अतिरिक्त सचिव (नर्थ) ले ललितपुर महानगरपालिका वडा नम्बर ८ को गुइटोलस्थित सांस्कृतिक सम्पदा स्थल गुस्तल महाविहार पुनर्निर्माण परियोजनाको पनि भ्रमण गरे। भ्रमणको क्रममा उनले परियोजनाको प्रगतिको समीक्षा गरे र उपभोक्ता समुदायका सदस्यहरूसँग कुराकानी गरे। दुवै पक्ष जेपीएमसीको अर्को बैठक उपयुक्त मितिमा आयोजना गर्न सहमत भए।