मंगलबार, माघ १५ गते २०८१    
मंगलबार, माघ १५ २०८१
images
images

विद्युतको बजार सुनिश्चित छ, जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस् : उर्जामन्त्री खड्का

images
सोमबार, माघ १४ २०८१
images
images
विद्युतको बजार सुनिश्चित छ, जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस् : उर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

images
images
images

‘रेमिट हाइड्रो लिमिटेड’ले ताप्लेजुङको धुन्साखोलामा निर्माण गर्न लागेको ७७.५ मेगावाटको धुन्साखोला जलविद्युत् लिमिटेडको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा आइतबार सांझ आयोजित कार्यक्रममा  मन्त्री खड्काले उत्पादित जलविद्युत्को बजार सुनिश्चित रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन।

images

“हामीले सन् २०३५ सम्म आन्तरिक खपत १३ हजार पाँच सय मेगावाट र १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा बिक्री गर्ने भनेका छौँ, उत्पादित विद्युत्को बजार सुनिश्चित भइसकेकाले यस क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्,” मन्त्री खड्काले भने।

images
images
images

विद्युत् उत्पादनसँगै प्रसारण लाइन विस्तारको कामलाई समेत सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए। मन्त्री खड्काले निजी क्षेत्रले समेत प्रसारण लाइन निर्माण गर्न सक्नेगरी व्यवस्था मिलाइएकाले अब उत्पादित विद्युत् प्रसारण लाइनको अभावले खेर जाने अवस्था नआउने उल्लेख गरे। उनले उत्पादित विद्युत्को बजार सुनिश्चित रहेको र प्रसारण लाइनको कामसमेत द्रुत गतिमा हुँदै गएकाले यस क्षेत्रमा लगानी सुरक्षित हुँदै गएको बताउँछन। 

जलविद्युत् क्षेत्रको विकासमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्नका लागि सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विनाधितो सहुलियतदरमा प्रभावित क्षेत्रका विपन्न नागरिकलाई दुई लाखदेखि पाँच लाखसम्म रुपैयाँ सेयरको व्यवस्था गर्न लागेको मन्त्री खड्काले उल्लेख गरे। विपन्न नागरिकलाई धनी बनाउन नसकेसम्म हामीले कल्पना गरेजस्तो समृद्ध मुलुक निर्माण हुन नसक्ने उनको भनाइ थियो ।

मन्त्री खड्काले विकासका लागि सबै दलबीच राष्ट्रिय एकता कायम हुँदै गएको बताउँछन। सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संशोधित प्रावधान खारेज गर्दा जलविद्युत् क्षेत्र मारमा परेको भन्दै उनले उक्त आदेशलाई पुनर्विचार गर्न आग्रह गरे। मन्त्री खड्काले सरकारले लिएको लक्ष्य पूरा गर्न यस्ता जलविद्युत् कम्पनीले सहयोग पुग्ने भन्दै समयमै आयोजना सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन्।

पूर्वमन्त्री एवं ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले रोजगारी सिर्जना गर्दै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन यस्ता आयोजनाले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले ताप्लेजुङ जलविद्युत्को प्रचुर सम्भावना भएको क्षेत्र भएकाले यहाँ भएको स्रोतको उच्चतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा लाग्न निजी क्षेत्रलाई आग्रह गरे। मुलुकमा भएको ऊर्जा सङ्कटलाई समाधान गर्न ताप्लेजुङबाट उत्पादित विद्युत्ले सहयोग पुग्ने उनको भनाइ थियो।

लक्ष्मी सनराइज बैङ्क लिमिटेडको नेतृत्वमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), नेपाल विद्युत् प्राधिकरण, नागरिक लगानी कोष, माछापुच्छ्रे बैङ्कलगायतको लगानीमा उक्त जलविद्युत् आयोजना निर्माण हुन लागेको छ।

उक्त जलविद्युत् आयोजना नौ वर्षको अध्ययनपछि निर्माण कार्य अगाडि बढाउन लागिएको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले जानकारी दिए। आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रुपैयाँ रहेको छ भने चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 


प्रकाशित : सोमबार, माघ १४ २०८१०७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend