बागलुङ- गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो। कुशल राना परिवारसहित काठमाडौं बस्थे। उनी भविष्य खोज्दै १० वर्षअघि सहर पसेका थिए। काठमाडौं छँदै राना कतार पुगे। त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किए। चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गरे। त्यसपछि भने रानाले जागिरे मनस्थिति त्यागे।
जैमिनी नगरपालिका-७ जैदी बोरका रानाले गाउँ फर्कने निधो गरे। १० वर्षपछि थातथलो फिर्दा घर बस्न लायक थिएन। बारी घाँस र झाडीले ढाकिएको थियो। तैपनि रानाको मन मरेन।
आफ्नै जन्मथलोमा केही गरि छाड्ने हुटहुटीले रानालाई घच्घचाइरह्यो। जीर्ण बनेको घरगोठ सिँगारे। बाँझो पल्टिएको बारीलाई हराभरा पारे। अब कतै नभौँतारिइ गाउँमै आयआर्जनको बाटो समात्ने अठोट उनले लिए। त्यसको पहिलो पाइला रानाले बाख्रापालनबाट चाले। ३७ वर्षीय रानाले व्यावसायिक रुपमा बाख्रापालन थालेको वर्ष दिन बित्यो। उनले चलाएको ‘राना कृषि तथा पशुपछी फार्म’ मा अहिले २२ वटा बोयर जातका बाख्रा छन्।
तीन लाख रूपैयाँ पर्ने ९० किलोको बोका पनि रानाको फार्ममा छ। १६ महिने त्यो बोकालाई अर्को वर्षसम्म पालेर चार लाख रूपैयाँसम्म पार्ने योजनामा उनी छन्। रानाले उक्त बोका रायडाँडाका किसान चिरञ्जीवी केसीकोबाट गतवर्ष किनेर ल्याएका हुन्। प्रजनन र नश्ल सुधारका लागि बोका पालेको उनको भनाइ छ। फार्ममा बोयर बोका र स्थानीय खरी जातका पाठीबाट नश्ल सुधार गर्ने गरिएको छ। बाहिरका किसानले पाठीलाई प्रजननका लागि बोकासँग ल्याउँदा १ हजार ५ सय रूपैयाँसम्म शुल्क तिर्छन्।
खोर निर्माणदेखि फार्मको संरचना तयार पार्दा अहिलेसम्म १० लाख लगानी भइसकेको रानाले बताए। 'अहिले लगानीकै चरणमा छु, ऋणधन गरेर भए पनि फार्मलाई अझ विस्तार गर्ने सोचमा छु', उनले भने, 'आउँदो वर्षदेखि बल्ल आम्दानी आउन सुरु होला।' बोयर बाख्राको बजार माग र मूल्य बढी छ। व्यावसायिक पालनका लागि पाठापाठीको पनि उत्तिकै खोजी हुन्छ।
रानाले बोयरपालनमा जिल्लाकै ‘नमूना फार्म’ बनाउने लक्ष्य लिएको बताए। घर वरपरको बारी र खाली जग्गामा उनले बाख्रपालनलाई चाहिने उन्नत घाँस खेती गरेका छन्। 'बाली लगाउन छाडेपछि बाँझो भएको बारीमा अहिले सुपर नेपियर, राई खनियो, बडहरलगायत उन्नत जातका घाँस खेती भइरहेको छ', उनले भने। बोयर बाख्रालाई उच्च प्रोटिनयुक्त घाँस चाहिने भएकाले २५ रोपनी क्षेत्रफलमा उन्नत जातको घाँसखेती गरेको उनको भनाइ छ।
जैमिनी नगरपालिकाका पशु प्राविधिक नेत्र आचार्यका अनुसार बोयरको तौल र शारीरिक वृद्धि छिटो हुन्छ। 'बोयर बाख्रा दिनमा एक सय ५० देखि दुई सय ग्रामसम्म बढ्छ, दुई वर्षमा एक सय २० किलोसम्म हुन्छ', उनले भने। पशु प्राविधिक आचार्यले पहाडी हावापानीमा बोयर जातको बाख्रापालन फस्टाउने गरेको बताए। बाख्रापालक किसानलाई खोर सुधार, घाँस, औषधिलगायतमा अनुदान दिएर नगरपालिकाले सघाउँदै आएको उनको भनाइ छ।
जैदीको धवलागिरि कृषि सहकारीमार्फत व्यावसायिक बाख्रापालनमा किसानले सहायता पाउँदै आएका छन्। सहकारीले गत वर्ष तीनवटा बोयर जातका बोका गाउँमा वितरण गरेको थियो। रानाको फार्मले पनि यो वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत एक लाख रूपैयाँ अनुदान पाएको छ। धन कमाउने आशमा धैरेतिर हण्डर खाएपछि घर फर्केर आफैँ उद्यम गर्न कस्सिनुभएका रानाको मेहेनत देखेर छरछिमेकी पनि दङ्ग छन्। सहर छिरेका उनी यसरी गाउँ फर्कनुहोला र झण्डै बिर्सिसकेको घरबारी सम्हाल्लान् भनेर धेरैले पत्याएका थिएनन्। रानाका लागि भने सहरको सङ्घर्ष त्यति सजिलो थिएन।
श्रीमती माया र दुई छोरालाई काठमाडौंमै छाडेर गाउँ फर्कनु अर्को चुनौती थियो, रानालाई। आखिर, आँट र सपनाले डोर्याएर उनलाई आफ्नै जन्मथलो ल्याइपुर्यायो। गाउँको घरमा अहिले राना एक्लै बस्छन्। 'बुवाआमा बितिसक्नुभयो, एउटा दाइ उहाँ पनि काठमाडौं हुनुहुन्छ, श्रीमती, छोराहरू उतै बसेर पढ्छन्', उनले भने।
घरधन्दादेखि बाख्राको स्याहारसुसार उनी एक्लैले भ्याउँछन्। 'कामले गर्दा खासै फुर्सद हुन्न, यसमै खुसी छु, आफ्नै गाउँठाउँमा रमाएको छु', रानाले भने। रासस