मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेपाल फाइनान्सको वित्तीय स्थिति थप बिग्रिँदै, वितरणयोग्य घाटा २६ करोड १९ लाख हुँदा खराब कर्जा १० प्रतिशतमाथि

बिहीबार , माघ १० २०८१
नेपाल फाइनान्सको वित्तीय स्थिति थप बिग्रिँदै, वितरणयोग्य घाटा २६ करोड १९ लाख हुँदा खराब कर्जा १० प्रतिशतमाथि

पुरानो कर्जा उठेको भन्दै फाइनान्सले इम्पियरमेन्ट चार्ज घटाएर खुद नाफा बढाए पनि अन्य सूचकहरु खासै उत्साहप्रद देखिँदैन।

काठमाडौं- नेपाल राष्ट्र बैंकले टेकओभर गरेर पुन:सञ्चालनमा ल्याइएको नेपाल फाइनान्स लिमिटेडले आफ्नो वित्तीय स्थितिमा अझै पनि अपेक्षित सुधार गर्न सकेको छैन।

करिब ७२ करोड रूपैयाँ बराबरको चुक्ता पुँजी रहेको नेपाल फाइनान्स केही ठूला लगानीकर्ताको चलखेलको उपयुक्त माध्यम बने पनि समस्याग्रस्त अवस्थाबाट फुकुवा भएयता समेत वित्तीय विवरणमा खासै सुधार नदेखिएको हो।

राजेन्द्र शाक्यको जोडबोलमा समस्याग्रस्तबाट राष्ट्र बैंकले फुकुवा गरेको नेपाल फाइनान्स सेयर बजारका ठूला लगानीकर्ताका लागि कमाइ गर्ने भाँडो बनिरहँदा साना लगानीकर्ता भने फसिरहेका छन्।

पछिल्लो समय सेयर बजार परिसूचक नेप्से ३००० बिन्दुमा पुगेको समयमा ३ सय १६ रूपैयाँबाट बढेर २ हजार ६ सय १४ रूपैयाँ पुगेको थियो। राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेर सेयर कारोबार रोक्का गरेसँगै नेपाल फाइनान्सको सेयर मूल्य घटेर ७ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

नेपाल फाइनान्सको सेयर मूल्य यसरी अस्वाभाविकरुपमा बढ्नुपर्ने कुनै पनि भरपर्दो कारण भने देखिँदैन। एकपटक समस्याग्रस्त भइसकेको यस फाइनान्स चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा करिब २६ करोड १९ लाख रूपैयाँ वितरणयोग्य घाटामा रहेको छ।

यस आधारमा हेर्दा यस फाइनान्स कम्पनीले थप केही वर्ष प्रतिफल दिनसक्ने स्थिति छैन। वितरणयोग्य घाटामात्रै होइन यस फाइनान्स कम्पनीको खराब कर्जा १०.४६ प्रतिशत पुगेको छ।

पुरानो कर्जा उठेको भन्दै फाइनान्सले इम्पियरमेन्ट चार्ज घटाएर खुद नाफा बढाए पनि अन्य सूचकहरु खासै उत्साहप्रद देखिँदैन।

फाइनान्सको यस वर्षको दोस्रो त्रैमासमा २ करोड ५ लाख रूपैयाँ खुद नाफा रहे पनि विगतको सञ्चित घाटा २४ करोड ४६ लाख रहेको छ। नियामकीय प्रावधान तथा कोषहरुमा रकम छुट्याउनुपर्दा फाइनान्सको सञ्चित घाटा थप बढेको हो।

वितरणयोग्य घाटा बढेसँगै फाइनान्सको पुँजीकोषमाथि समेत दबाब बढ्दै गएको छ।

*यसअघि वितरणयोग्य घाटा रकम अन्यथा पर्न गएकोमा सच्याइएको छ।


प्रकाशित : बिहीबार , माघ १० २०८११३:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend