मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्ने १५ वित्तीय संस्थाका सीईओलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

बुधबार, माघ ९ २०८१
सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्ने १५ वित्तीय संस्थाका सीईओलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा, सहुलियतपूर्ण कर्जाबारे अध्ययन गरेर परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका सीईओलाई राष्ट्र बैंकले सचेत गराएको छ।

काठमाडौं- सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेको भन्दै राष्ट्र बैंकले १५ वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई कारबाही गरेको छ।

पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा, सहुलियतपूर्ण कर्जाबारे अध्ययन गरेर परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका सीईओलाई राष्ट्र बैंकले सचेत गराएको छ।

कोभिड १९ को समयमा अर्थतन्त्र पुनर्उत्थान गर्ने भन्दै सरकारले सहुलियतपूर्ण कर्जा र राष्ट्र बैंकले पुनर्कर्जा सुविधा दिएको थियो। उक्त कर्जाको दुरुपयोग भएको भन्दै प्रश्न उठेपछि सरकारले स्वतन्त्र परामर्शदाता नियुक्त गरी छानबिन अगाडि बढाएको थियो। 

स्वतन्त्र परामर्शदाताले बुझाएको प्रतिवेदनअनुसार लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामनासेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ। 

यस्तै सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेको भन्दै समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आईसीएफसी फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृतहरूलाई राष्ट्र बैंकले सचेत गराएको छ।

'पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेश गरेको प्रतिवेदनमा संस्थाहरुबाट प्रवाह भएका कर्जाहरूमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरूको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणबाट तयार गरी यस बैंकमा पेश गरेको प्रतिवेदनमा खुलाइएअनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र यस बैंकबाट जारी सोसम्बन्धी निर्देशन उल्लंघन भएको हुँदा नेपाल राष्ट्र बैंक ऐनबमोजिम सचेत गराइएको छ' राष्ट्र बैंकले उल्लेख गरेको छ।


प्रकाशित : बुधबार, माघ ९ २०८११७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend