मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित, पुलको पहुँचमार्ग निर्माणमा समेत समस्या

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ८ २०८१
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित, पुलको पहुँचमार्ग निर्माणमा समेत समस्या

झापाको १० हेक्टर र इलामको छ हेक्टर वन क्षेत्रको भोगाधिकार र त्यहाँ रहेका छ हजार दुई सय ७१ वटा रुख कटानको अनुमति अझैसम्म प्राप्त भइसकेको छैन।

झापा- वन विभागबाट रुख कटान अनुमति प्राप्त नहुँदा मदन भण्डारी राजमार्गको सडक र पुल निर्माण प्रभावित भएको छ।

राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीबाट सुनसरीको धरानसम्म ९५ दशमलव आट किलोमिटर सडक हाल निर्माणाधीन छ। उक्त खण्डमा ३७ वटा पुल छन्।

वन विभागबाट रुख कटान अनुमति नआउँदा मुख्य सडक र पुलको पहुँचमार्ग निर्माणमा विलम्ब भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताए।

उनका अनुसार झापा, इलाम, मोरङ र सुनसरी जिल्लाको २४ दशमलव ५४ किलोमिटर राजमार्ग वन क्षेत्रमा पर्दछ। वनको ५१ हेक्टर जग्गामा १३ हजार आठ सय ३४ वटा रुख कटान गर्नुपर्ने भएकाले भोगाधिकार र रुख कटानका लागि आयोजना कार्यालयले मन्त्रिपरिषद् र वन विभागसँग अनुमति मागेको थियो।

मन्त्रिपरिषद्ले गत मङ्सिर ६ गते मोरङको २१ हेक्टर र सुनसरीको १४ हेक्टर गरी कूल ३५ हेक्टर वन क्षेत्रको जग्गाको भोगाधिकार राजमार्गका लागि दिने निर्णय गरिसकेको छ। वन विभागसँग उक्त जग्गाको सात हजार छ सय ६३ वटा रुख कटानका लागि सम्झौताको प्रक्रिया अघि बढेको दत्तले जानकारी दिए।

झापाको १० हेक्टर र इलामको छ हेक्टर वन क्षेत्रको भोगाधिकार र त्यहाँ रहेका छ हजार दुई सय ७१ वटा रुख कटानको अनुमति अझैसम्म प्राप्त भइसकेको छैन।

भोगाधिकार तथा रुख कटानको फाइल वन तथा भू-संरक्षण विभागबाट वन तथा वातावरण मन्त्रालयमा पेस हुने प्रक्रियामा रहेको आयोजना कार्यालयका सूचना अधिकारी दत्तले बताए। 

'हालसम्म पनि भोगाधिकार र रुख कटानको अनुमति प्राप्त नहुनु आयोजनाको प्रमुख चुनौती बनेको छ', उनले भने, 'कतिपय पुलको पहुँच सडकको रेखाङ्कनमा वनक्षेत्र पर्ने कारणले निर्धारित समयमा कार्य सम्पन्न हुन सकेको छैन।'

हालसम्म राजमार्गको ९५ दशमलव आठ किमी लामो पूर्वी खण्ड (झापा, इलाम, मोरङ र सुनसरी)मा ४१ दशमलव ६८ किमी सडक कालोपत्र भइसकेको छ भने २२ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्।

पूर्वको झापाबाट पश्चिमको डडेल्धुरा जिल्ला जोड्ने उक्त राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ। यसको कूल लम्बाइ एक हजार दुई सय किलोमिटर रहेको छ। धरानबाट हेटौँडासम्मको तीन सय किमी सडक निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा धमाधम कार्य भइरहेको आयोजना कार्यालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, माघ ८ २०८११०:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend