काठमाडौं- नेपाली बजारमा अहिलेसम्म आफूले किनेर वा रेन्टल कम्पनीसँग लिएर निश्चित सयमसम्म कार चढ्न पाइन्छ। रेन्टल कम्पनीसँग सीमित समयका लागि भाडा दिएर कार प्रयोग हुने गरेको छ। तर नेपालमा आयातकर्ताहरू आफैले लिजमा कार दिने गरेका थिएनन्।
विदेशमा भने लिजमा कार चढ्नेहरूको संख्या ठूलै छ। छिमेकी भारतमा समेत नयाँ कार लिजमा लिएर प्रयोग गर्नेको संख्या उल्लेख्य छ। अब भने नेपालमा समेत नयाँ कार लिजमा लिएर चढ्न पाइने भएको छ। फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइलले फोर्डको फ्रिस्टाइल कार लिजमा चढ्न पाइने भएको छ।
जीओ अटोमोबाइलले रेन्टल कम्पनीसँगको सहकार्यमा कार लिजिङको व्यवस्था मिलाएको कम्पनीका महाप्रबन्धक सुनिल क्षत्रीले जानकारी दिए। ‘निश्चित समय कार चढ्ने वा केही वर्ष कार चढ्नेका लागि किन्ने झन्झटबाट पर रहन चाहनेहरूका लागि लिज एउटा राम्रो विकल्प हो,’ क्षेत्रीले भने, ‘यसमा डाउन पेमेन्ट पनि कम हुने र किस्ता पनि कम हुन्छ।’
लिजमा कार चढ्दा निश्चित समयपछि कारको डिप्रिसिएसन घट्ने र त्यसको रिसेल भ्यालु कति आउला भन्ने चिन्तासमेत नहुने उनले बताए।
नेपाली बजारमा हाल रेन्टल कम्पनीले भाडा लिएर कार उपलब्ध गराउँदै आएका छन्। यो लिज नै नभएपनि लिजको एउटा रुप भने हो। लिजका बारेमा उपभोक्तालाई बुझाउने काम भइरहेको क्षेत्रीले बताए। ‘हामीेले उपभोक्तालाई कार किन्दा र लिजमा लिँदा के फरक छ भनेर बुझाइ रहेका छौँ,’ उनले भने, ‘हामीले फोर्डको फ्रिस्टाइल कार लिजमा उपलब्ध गराउन सुरु गरेका हौँ।’
कार किन्दा निश्चित डाउन पेमेन्ट गर्नुपर्ने र त्यसपछि नश्चित समयका लागि निश्चत रकम किस्ता तिर्नु पर्छ। लिजमा लिँदा पनि डाउन पेमेन्ट त गर्नुपर्छ तर किन्दा भन्दा कम। त्यसपछि लिज रकम पनि किस्ता भन्दा धेरै कम रकम तिरे पुग्छ।
अहिले फोर्डले फ्रिस्टाइलको लिज गर्दा ३० प्रतिशत डाउन पेमेन्ट गरे पुग्ने व्यवस्था गरेको छ। त्यस्तै गरि मासिक रुपमा करिब २६ हजार लिज रकम तिर्नुपर्छ। यो किन्दाको किस्ता भन्दा करिब आधा मात्र हो।
लिजका लागि आवश्यक सबै प्रक्रिया कम्पनीले गर्छ भने भुक्ताली लिजकर्ताले गर्नुपर्छ। कारमा समस्या आए र नियमित गर्नुपर्ने खर्च सम्झौता बमोजिम कार प्रयोगकर्ताले नै गर्नुपर्छ।
यो सुरुवात भएकाले अब क्रमिक रुपमा नेपालमा लिजको सुविधा बढ्दै जाने अनुमान गरिएको छ। विदेशमा मुख्य गरि महँगा कारको लिज हुने गरेको छ। नेपालमा मध्यमस्तरको कारबाट सुरु भएको लिज अब महँगा कारमा पनि उपलब्ध हुँदै जानेछ।