बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पुँजीकोषको उच्च दबाबमा नबिल बैंक, खराब कर्जा ५ प्रतिशतनजिक

सोमबार, माघ ७ २०८१
पुँजीकोषको उच्च दबाबमा नबिल बैंक, खराब कर्जा ५ प्रतिशतनजिक

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिल बैंकको पुँजीकोषमा उच्च दबाब देखिएको छ।

गत वर्षको नाफाबाट नगद लाभांश वितरण गरेकाले नबिल बैंकको प्राथमिक पुँजीकोष ९.०४ प्रतिशतमा आएको छ। गत वर्षको यसै अवधिमा बैंकको प्राथमिक पुँजीकोष ८.९३ प्रतिशत रहेको थियो।

यस अवधिमा बैंकको खराब कर्जा बढेर ५ प्रतिशतनजिक पुगेको छ। गत वर्ष ३.८० प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.९३ प्रतिशत पुगेको हो। 

ब्याजदरमा आएको कमीले बैंकको खुद ब्याज आम्दानीमा कमी आएको छ।

गत वर्ष बैंकले ८ अर्ब २४ करोड रुपैयाँ खुद आम्दानी गरेकोमा यस वर्ष ७ अर्ब ८९ करोडमा सीमित भएको छ। बैंकले खराब कर्जा नोक्सानी खर्चमा करिब ६२ करोड रुपैयाँले घटाएको र कमिसन तथा शुल्क आम्दानी बढाएकाले बैंकको खुद नाफामा गत वर्षको तुलनामा सामान्यरुपमा बढेको छ।

यद्यपी नबिल बैंक २० वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउने बैंक हो। यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा करिब ४ करोड रुपैयाँले बढी हो। 

गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

गत आर्थिक वर्षको नाफाबाट बैंकले २ अर्ब ७० करोड रुपैयाँ नगद लाभांश वितरण गरेपछि बैंकको वितरणयोग्य नाफा १ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ।

राष्ट्र बैंकले अन्तिम लेखापरीक्षणका क्रममा प्रोभिजनिङ बढाएपछि गत वर्ष यस बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको थियो।

उक्त नाफाबाट बैंकले १० प्रतिशत नगद लाभांश दिएपछि बैंकको पुँजीकोषमा उच्च चाप परेको हो। अर्थतन्त्रमा अझै शिथिलता रहेको र बैंकको खराब कर्जा बढिरहेकाले बैंकको पुँजीकोषमा चाप पर्ने निश्चित छ। 

वैकल्पिक उपकरण अग्राधिकार सेयर प्रयोग गरेर पुँजीकोष बढाउन खोजेपनि राष्ट्र बैंकले सर्त नमिल्नेको भन्दै रोकेपछि बैंकले कर्जा विस्तारमा अपनाएको आक्रामकतामा कमी आएको छ।

बैंककै लगानीबाट खोलिएको नबिल इन्भेष्टमेन्ट बैंकमा समेत राष्ट्र बैंकले करिब १.५ अर्ब प्रोभिजनिङ गराएकाले नबिल बैंक पछिल्लो समय दबाबमा छ।

यस्तै संकटको समयमा जवरजस्ति नगद लाभांश घोषणा गर्न दबाब दिएर यसको प्रमुख लगानीकर्ता एनबि इन्टरनेशलसमेत विवादमा छ। विगतमा पनि एनबि इन्टरनेशलको स्वामित्व र यसका लगानीकर्तामाथि ठूलो प्रश्न उठेको थियो। 

नबिल बैंकलाई संकटमा पारेर श्रीलंकाको युनियन बैंक अफ कोलम्बो खरिदमा संलग्न भएको र नबिल बैंक सञ्चालक निर्वाण चौधरी र मलय मुखर्जी श्रीलंकाको बैंकमा सञ्चालक बनेको विषय पेचिलो बनेको छ। 


प्रकाशित : सोमबार, माघ ७ २०८१०९:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend