मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँट, १ लाख ८४ हजार ५०० जना आवेदकले पाए १० कित्ताका दरले सेयर

आइतबार, माघ ६ २०८१
गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँट, १ लाख ८४ हजार ५०० जना आवेदकले पाए १० कित्ताका दरले सेयर

कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो।

काठमाडौं- गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी, काठमाडौंमा आइतवार विहान कम्पनीको आईपीओ बाँडफाँट कार्यक्रम सम्पन्न भएको हो। 

कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो। विक्री प्रबन्धकका अनुसार आईपीओ खरीदका लागि कुल १८ लाख ३० हजार ८५७ जनाको आवेदन परेको थियो। कुल आवेदकमध्ये रितपूर्वक नभएको ८ हजार ४५२ जनाको आवेदन रद्द गरिएको छ। रितपूर्वक आवेदन दिएका १८ लाख २२ हजार ४०५ जना आवेदकलाई गोलाप्रथामा समावेश गराई आईपीओ बाँडफाँट गरिएको हो। भाग्यमानी १ लाख ८४ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। 

कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कम्पनीलाई सर्वसाधारणमा कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।

कुल कित्ता आईपीओमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि , १ लाख १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषहरुका लागि , ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीको लागि वितरण गरी बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर भने सार्वजनिक निष्कासन गरिएको थियो। यो कम्पनी नेपालको पहिलो डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुबीमा कम्पनी हो।

अधिकृत पुँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी ७५ करोड रुपैयाँ छ। संस्थापक तर्फ चुक्ता भएको पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ। सर्वसाधारणमा ३० प्रतिशत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ कायम भएको छ। कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम पुँजी बृद्धिका लागि आईपीओ निष्कासन गरेको हो।

गत आर्थिक वर्ष ०८०/८१ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी २७ लाख ५० हजार रुपैयाँ सञ्चित नाफामा रहेको छ। वास्तविक वित्तीय विवरण अघिल्लो आर्थिक वर्ष ०७९/८० सम्म भने कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ३४ पैसा छ। चालू आर्थिक वर्ष ०८१/८२ सम्म कम्पनीले ८४ लाख १४ हजार रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ। 
 


प्रकाशित : आइतबार, माघ ६ २०८१११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend