काठमाडौं- घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ। देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजस्व संकलनमा वृद्धि भएको छ।
गत मङ्सिर महिनामा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ रूपैयाँबराबर संकलन भएकामा पुस मसान्तसम्म चार अर्ब २५ करोड २२ लाख २१ हजार सातसय ७९ रूपैयाँ राजस्व प्राप्त भएको छ।
विभागका अनुसार सो महिनामा सेवा करबाट ३० करोड ४३ लाख ४४ हजार छ सय ६५ रूपैयाँ संकलन भएको छ। यस्तै, रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ६८ करोड ७८ लाख २६ हजार एक सय ४५, पुँजीगत लाभकरबाट एक अर्ब ६० करोड ८३ लाख २८ हजार एकसय ७२ रूपैयाँ प्राप्त भएको छ।
काठमाडौं उपत्यकाभित्रका विभिन्न नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व संकलन गरेको छ। सो कार्यालयले ४० करोड ९४ लाख ४२ हजार सातसय ३२ रूपैयाँ राजस्व संकलन गरेको छ। यसबाट ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ।
यस्तै, मालपोत कार्यालय गोटीखेल ललितपुरले दुई लाख ८९ हजार ८४ रूपैयाँ, मालपोत कार्याल भक्तपुरले २९ करोड ७६ लाख १३ हजार दुईसय ७१ रूपैयाँ, मालपोत कार्यालय डिल्लीबजारले २१ करोड ९० लाख ९९ हजार छ सय ८५ रूपैयाँ राजस्व संकलन गरेको छ।
त्यस्तै, विभागका अनुसार, मालपोत कार्यालय चाबहिलले २२ करोड ९३ लाख ८० हजार तीन सय ६७ रूपैयाँ, कलंकी मालपोतले २१ करोड ९३ लाख ७१ हजार सात सय ९२ रूपैयाँ, मालपोत कार्याल साङ्खुले १० करोड ३२ लाख ५९ हजार छ सय २२ रूपैयाँ, मनमैजुले छ करोड ६८ लाख २९ हजार पाँचसय ६१ रूपैयाँ, मालपोत कार्यालय टोखाले छ करोड ७७ लाख ३४ हजार छ सय ९७ रूपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
यस्तै, मालपोत कार्यालय विराटनगरले १६ करोड ११ लाख तीन हजार चारसय ८१, मालपोत कार्यालय इनरुवा सुनसरीले १० करोड ९३ लाख ७४ हजार दुईसय ५७ रूपैयाँ राजस्व संकलन गरेको छ।
गत कात्तिकमा देशभर घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ रूपैयाँ बराबरको राजस्व संकलन भएको थियो। रासस