मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लक्ष्यको ८४ प्रतिशत उठ्यो राजस्व, ६ महिनामा ५ खर्ब ५९ अर्ब असुली

मंगलबार, माघ १ २०८१
लक्ष्यको ८४ प्रतिशत उठ्यो राजस्व, ६ महिनामा ५ खर्ब ५९ अर्ब असुली

काठमाडौं- चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। जुन गत आर्थिक वर्षको यही अवधिको ६३ अर्ब रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन १३ प्रतिशतले बढेपनि सरकारले लिएको लक्ष्यअनुसार भने राजस्व असुली हुन सकेन। गत वर्षको यसै अवधिमा सरकारले ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सरकारले ६ खर्ब ७२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। सरकारले लक्ष्यभन्दा करिब १ खर्ब ५ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ।

सरकारले पुस महिनामा मात्रै १ खर्ब ६० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयले भने लक्ष्यको ८४ प्रतिशत राजस्व असुलीलाई सकारात्मकरुपमा लिएको जनाएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालसम्मको राजस्व संकलन उत्साहप्रद रहेको भन्दै लक्ष्यअनुसार राजस्व संकलनमा केन्द्रित हुने बताएको अर्थ मन्त्रालयले जनाएको छ।

यस्तै अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले असोजमा गएको बाढी पहिरो तथा पेट्रोलियम पदार्थको खपतमा आएको कमीका बाबजुत ८४ प्रतिशत राजस्व संकलन हुनुलाई उपलब्धिपूर्ण मान्नुपर्ने प्रतिक्रिया दिएका छन्।

'असोजको बाढी पहिरो, पेट्रोलियम पदार्थको आयातमा आएको कमी, पेट्रोलियम सवारी साधनको व्यापारमा आएको कमी, विद्युतीय सवारी साधानको वृद्धि, दूरसञ्चार सेवाको व्यापारमा आएको कमी तथा आयात तथा मागमा आएको कमीका बाबजुत ६ महिनामा उल्लेखीयरुपमा राजस्व संकलन भएको छ', भट्टराईले बताएका छन्।


प्रकाशित : मंगलबार, माघ १ २०८१०८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend