मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा विश्वस्त देखिएनन् लगानीकर्ता, पुस महिनामा नै ८८ अंकले घट्यो

सोमबार, पुस २९ २०८१
सेयर बजारमा विश्वस्त देखिएनन् लगानीकर्ता, पुस महिनामा नै ८८ अंकले घट्यो

काठमाडौं- लगानीकर्ताहरू विश्वस्त देखिन नसकिरहँदा सेयर बजार पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको छ।

पछिल्लो पटक लगातार ७६.७१ अंकले बढेपछि ओरालोतिर लागेको सेयर बजार पुन: लगातार ५९.०९ अंकले घटेको छ। गएको साता बिहीबार घटेको सेयर बजार यो साता पहिलो र दोस्रो कारोबारमा पनि ओरालो नै लागेको हो। 

यो साता पहिलो कारोबारमा आइतबार २५.४१ अंकले घटेर २६०९.६७ बिन्दुमा झरेको बजार सोमबार १५.५४ अंकले घटेर २५९४.१३ बिन्दुमा झरेको छ। ६३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ६ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ। १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा लामो समयपछि निरन्तर वृद्धि देखिएको थियो। अहिले उक्त वृद्धि रोकिएर निरन्तर ओरालोतिर देखिएको छ। बजार वृद्धितर्फ बढ्न सबै सूचकले साथ दिएको विश्लेषकहरूले बताइरहँदा लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको सोचमा नै देखिन्छन्। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिर र पुसमा पनि पूरा हुन सकेन। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। मंसिरको अन्तिम कारोबारमा २७ गते २६८२.२९ बिन्दुमा रहेको बजार पुस २९ गते २५९४.१३ बिन्दुमा झर्‍यो। 


प्रकाशित : सोमबार, पुस २९ २०८११५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend