बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

धरान एक्स्पो : व्यापार र प्रचार सँगसँगै

अल्लोका कपडा, सक्खर, भुटेका मकैदेखि कोदोको पिठोसम्म बिक्री

सोमबार, पुस २९ २०८१
धरान एक्स्पो : व्यापार र प्रचार सँगसँगै

एक्स्पोमा १५० स्टलमध्ये ३५ वटा होटेलका मात्र छन्। पूर्वी नेपालमा प्रतिष्ठित नेपालीरिका होटेलदेखि स्थानीय क्याफे रेस्टुरेन्टको स्टल चल्तीमा छ। धरानको कालो बंगुरदेखि नेवारी परिकारको व्यापारले व्यापारी उत्साहित भएका छन्।

इटहरी- अल्लोका उत्पादनको स्टल राखेका नरेन्द्रकुमार राईले धरान एक्स्पोभित्र रमाइलो मानेका छन्। ‘अल्लोको टोपी नमस्कार कोटीकोटी, संखुवासभाको अल्लो नलाँदा होला खल्लो’ राईले ठट्यौली शैलीमा प्रचार गरिरहेका छन्। अल्लोका कपडा, कोटदेखि टोपीसम्मको व्यापार चलिरहेको छ। 

एक्स्पोमा सोचेजति व्यापार नभएपनि प्रचार धेरै भएको उनको अनुभव छ। आगन्तुकले भिजिटिङ कार्ड लिएर गएपछि उनी हर्षित छन्। कुनै न कुनै दिन यसले बजार पाउँछ, अहिलेको प्रचारले कुनै दिन काम गर्छ भन्ने राईको बुझाइ छ। 

पाँचथरकी जुनु लावतीको पनि प्रचार कम छैन। किवीका विभिन्न प्रकारका जुस बनाएर ल्याएकी छिन् उनले। स्टल भ्रमण गर्ने सबैलाई एक ग्लास जुस दिन्छिन्। किवीको फ्लेवर आउने विभिन्न प्रजाति उनले तयार पारेकी छिन्। सोमरस नाम दिएर किवीको तीनपाने रक्सी बिक्री भइरहेको छ। उनले पनि व्यापार बढाउनेभन्दा चखाएर प्रचार गर्ने शैली अपनाएकी छिन्। 

पश्चिम नेपालमा उत्पादन भएको मार्सी चामलको चर्चा पनि कम छैन। भुटेका मकैदेखि कोदोको पिठोसम्म बिक्री भइरहेको छ।

संखुवासभामा उत्पादन भएको सक्खरले पनि झनै चर्चा बटुलेको छ। काठका भाँडाकुँडा तथा सजावटका सामग्री ल्याएका पूर्ण राई एक्स्पोले हौसिएका छन्। सजावटका सामग्रीको व्यापार र चर्चा बढेपछि उनमा उत्साह थपिएको हो।

पाकिस्तानी लेदरमा पनि कम आकर्षण छैन। पाकिस्तानी लेदरका ज्याकेट, पर्स, बेल्टलगायत सामग्रीको बिक्री लोभलाग्दो छ। सबैभन्दा बढी चर्चामा छ क्यालिबर सुज। क्यालिबरको धरान सोरुमले ५० देखि ७० प्रतिशतसम्म छुटमा जुक्ता बिक्री गरेपछि बिक्रेताको भिड नै लागेको छ। दैनिक ३ सय जोडी जुत्ता बिक्री गर्ने गरेको बताउँछन् सञ्चालक अंकुश पोद्दार। 

एक्स्पोमा १५० स्टलमध्ये ३५ वटा होटेलका मात्र छन्। पूर्वी नेपालमा प्रतिष्ठित नेपालीरिका होटेलदेखि स्थानीय क्याफे रेस्टुरेन्टको स्टल चल्तीमा छ। धरानको कालो बंगुरदेखि नेवारी परिकारको व्यापारले व्यापारी उत्साहित भएका छन्। 

आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ एक्स्पोले धरानको बजारलाई केही हदमा चलायमान बनाएको बताउँछन्।होटेलको व्यापार बढेसँगै धरानका अन्य पसलको पनि कारोबार स्वतः बढ्ने उनले दाबी गरे।

कलाकारको उपस्थितिले धरानमा रौनकता बढाएको भन्दै उनले भारत, बंगलादेश, पाकिस्तान र भुटानका उत्पादनको बजारीकरण धरानमा भएको बताए। स्थानीय तथा मौलिक उत्पादनको प्रचार र बजारीकरणको लागि एक्स्पोले भूमिका खेलेको उनको भनाइ छ।

तस्बिरमा हेर्नुहोस् धरान एक्स्पो

dharan expo (2).jpg
dharan expo (3).jpg
dharan expo (4).jpg
dharan expo (5).jpg
dharan expo (6).jpg
dharan expo (7).jpg
dharan expo (8).jpg
dharan expo (9).jpg


प्रकाशित : सोमबार, पुस २९ २०८११३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend