बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

प्रतिकिलो १५ रूपैयाँसम्म पनि बिक्न छाड्यो काउली, किसानलाई लागत नउठ्ने चिन्ता

images
सोमबार, पुस २९ २०८१
images
images
प्रतिकिलो १५ रूपैयाँसम्म पनि बिक्न छाड्यो काउली, किसानलाई लागत नउठ्ने चिन्ता

राम्चेबेँसीमा हरेक वर्ष तरकारीखेती हुन्छ। यहाँका सयौँ रोपनी जग्गामा किसानले मौसमी तथा बेमौसमी तरकारी रोप्दै आएका छन्। तर पछिल्ला केही वर्षयता भने मण्डनदेउपुरमा विविध कारण खेतीपातीमा लाग्ने किसान विस्तारै घट्न थालेको देखिएको छ।

images
images

काभ्रेपलाञ्चोक- मण्डनदेउपुर नगरपालिका-११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ। उनीजस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन्। सापकोटाले विगतमा जस्तै यसवर्ष पनि आफ्नो खेतमा काउली रोपेकी थिइन् तर काउलीको मूल्य घटिरहेकामा निकै चिन्तामा परेको बताउँछिन्।

images
images
images

'मैले बारीभरी काउली रोपेको थिएँ, अहिले मध्य सिजन भएकाले होला काउली १५ रूपैयाँमा पनि बिकिरहेको छैन', लगानीसमेत नउठ्ने भयो', सापकोटाले दुःखेसो पोखिन्। करिब महिनाअघिसम्म प्रतिकेजी एकसय रूपैयाँसम्ममा बिक्री भएको काउली अहिले एकाएक सस्तिएपछि यहाँका किसान निकै चिन्तामा छन्। उक्त वडाका करिब एकसय ३० किसान परिवारले आफ्नो खेतबारीमा काउली रोपेका थिए। तर भाउ नपाउँदा उनीहरूको लगानी जोखिममा परेको बताइन्छ।

images
images

बारीमै छोडौँ नहुने, टिपेर बजार पठाउँदा ज्याला पनि नउठ्ने भइसकेकामा स्थानीय अर्का किसान संगीता सापकोटालाई पनि निकै चिन्ता पर्न थालेको छ। 'यहाँ यो सिजनमा दैनिक एक हजार केजीसम्म काउली उत्पादन हुने गरेको छ, तर बजारमा राम्रो मूल्य नपाउँदा भने लगानी र ज्यालासम्म नउठ्ने भए पनि घाटा बेहोर्न बाध्य भइयो', उनले भनिन्। स्थानीय व्यापारीलाई तरकारी पठाउने गरेका यहाँका किसान आफूहरूलाई पायक पर्ने स्थानमा हाटबजार राखिदिन नगरपालिकासँग अनुरोध गरेको उनले बताइन्। 

images
images
images

स्थानीय चिरञ्जीवी सापकोटा दम्पतीलाई पनि हालका दिनमा काउली काट्ने र बजार लैजान तयारी गरिदिन हतारो नै हुने गरेको छ। साँझ व्यापारी तरकारी लिन आउने भएकाले उनीहरू समय मिलाएर काउली काट्न निस्कन्छन्। व्यापारी तरकारी लिन बारीमै आउने र मोल नगरी लिएर जाने र बनेपा तथा काठमाडौंमा लगेर बिक्री गरेपछि आफूलाई नाफा राखेर पैसा दिने गरेको सापकोटाले बताए। उनी पनि आफूले गरेको मेहनतअनुसारको आम्दानी नपाएकोमा निकै चिन्तामा परेको बताउँछन्।

'व्यापारीलाई विश्वासकै भरमा तरकारी दिन्छौँ, समय नभएकाले हामी आफैँ बिक्री गर्न बजार जाँदैनौँ, त्यही भएर व्यापारीको भरपर्ने हो', उनले भने। उनले हाल व्यापारीले प्रतिकिलो काउली १० रूपैयाँका दरले पैसा दिएको बताए। सापकोटाले पाँच रोपनीमा लगाएको काउलीबाट गत वर्ष एक लाख ५० हजार रूपैयाँसम्म आम्दानी गरेका थिए। तर यस वर्ष मूल्य राम्रो नपाएकाले फाइदा निकाल्न सक्ने स्थितिमा नरहेको उनको भनाइ छ।

यसवर्ष ८० हजार रूपैयाँ नकट्ने उनको अनुमान छ। हालसम्म स्थानीय किसानले काउलीको राम्रो मूल्य पाएको प्रतिकिलो १७ रूपैयाँसम्म मात्रै हो। उपभोक्ताले बजारमा काउलीको मूल्य प्रतिकिलो ५० रूपैयाँसम्म तिर्दा पनि यहाँका किसानले भने १० रूपैयाँदेखि १५ रूपैयाँ मात्रै पाइरहेका छन्। गतवर्ष एउटै किसानले एक सिजनमा काउली, बन्दा र गोलभेडा बेचेर पाँच लाख रूपैयाँभन्दा बढी आम्दानी गरेका थिए, तर यो वर्ष एक लाख रूपैयाँ उठाउन पनि कठिन देखिएको स्थानीयको भनाइ छ। 

सापकोटाको भनाइमा काउली फलाउन किसानले धेरै मेहनत गर्नुपर्छ, काउली रोप्न खेत वा बारी तयारी गर्ने, काउलीको बेर्ना तयारी गर्ने, रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने, समय-समयमा कीटनाशक विषादी हाल्नेलगायत काम गर्नुपर्छ, यतिका काम गर्दा लागेको खर्च हालको बजार मूल्यले धान्न सक्दैन। 'हाल किसानले प्रतिकिलो काउलीको मूल्य ३५ देखि ४० रूपैयाँसम्म पाउनसके लगानी उठाउन सकिनेछ', सापकोटाले भने।

तरकारीबाट उचित मूल्य नपाएपछि यहाँका किसानमा निराशा छाउँदै गएको अर्का किसान कृष्णप्रसाद सापकोटा बताउँछन्। उनी भन्छन्, 'भारतबाट तरकारी आयात हुँदा नेपालका किसानले तरकारीको उचित मूल्य पाउँदैनन्, मौसमी काउली अहिलेको समयमा बढी उत्पादन भएकाले पनि उचित मूल्य नपाएको हो।'

राम्चेबेँसीमा हरेक वर्ष तरकारीखेती हुन्छ। यहाँका सयौँ रोपनी जग्गामा किसानले मौसमी तथा बेमौसमी तरकारी रोप्दै आएका छन्। तर पछिल्ला केही वर्षयता भने मण्डनदेउपुरमा विविध कारण खेतीपातीमा लाग्ने किसान विस्तारै घट्न थालेको देखिएको छ।

निकै दुःख गरेर उत्पादन गरे पनि बजारका राम्रो मूल्य नपाउँदा किसानले खेतीमा गरेको लाखौँ रूपैयाँ जोखिममा पर्ने गरेको घटना देखिएका छन्। मल, बीउ समयमा नपाउने र पाइए पनि महङ्गो तिर्नुपर्ने कारण लाखौँ लगानी गर्नुपर्ने बाध्यता रहेको छ। रासस


प्रकाशित : सोमबार, पुस २९ २०८१११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend