करिब १७० वर्ष अगाडि वनस्पतिविद् जोसेफ डाल्टन हुकरको हिमालयन जर्नल प्रकाशित भयो। सन् १८४८ मा इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङको भ्रमण गरेर प्रकाशित उनको जर्नलको अनुवाद गरी हस्त गुरुङले ‘कञ्चनजंघा जुहार’ प्रकाशित गरे। पुस्तकमा हकुरलाई तत्कालीन सिक्किम सरकारले अवरोध गरेपछि उनले नेपालको बाटो हुँदै हिमाली क्षेत्रको भ्रमण गरेको उल्लेख छ।
प्रकृतिले कहिलेकाहीँ अनुसन्धानकर्तालाई छक्क पारिदिने हुकरको दाबी वातावरण पत्रकार रमेश भुसालको पुस्तक छालबाटोमा मिल्दोजुल्दो छ। अवलोकनकर्ताले एकपकट देखेकै भरमा अन्तिम धारणा नबनाउन प्रकृतिले चेतावनी दिएको हुकरको बुझाइ छ। गलत बुझाइले गलत अभ्यास स्थापित हुने कुरामा हुकर सचेत छन्। विषयवस्तुको सामान्यीकरणका सूचनाले भ्रम फैलिएको उनले भनाइ राखेका छन्।
वातावरण पत्रकार भुसालले पनि आफ्नो पुस्तक छालबाटोमा अवलोकनले मात्र नभएर त्यसको गहिरो अध्ययनले मात्र पर्यावरणका आयामहरु बुझ्न सकिने उल्लेख गरेका छन्। पुस्तकले एकदमै सचेततापूर्वक विषयवस्तुलाई पर्गेलेको छ। गलत सूचना प्रवाह नहोस् भन्नेमा लेखकले धेरै मेहनत गरेको पाइन्छ। कतिपय अवस्थामा उत्तेजित र कहिलेकाहीँ मनै चिसो बनाउने घटनाक्रमहरु पुस्तकमा समेटिएका छन्।
भुइँचालोले हल्लाएको पहाडबाट खसेको ढुंगाले लागेर प्रहरी जवानको मृत्यु हुनु। नेपालका सुरक्षाकर्मी चिनियाँ सुरक्षाकर्मीको आदेश पालकमात्र हुन् भन्ने यथार्थता र सुविधासम्पन्न चेकपोष्ट भएको तिब्बतसँग छाप्रोमा बस्ने नेपाली सुरक्षाकर्मीले निरीहताबाहेक केही प्रस्तुत गर्न नसक्ने कहानीले मन अमिलो बनाउँछ।
पुस्तकले तिब्बत प्रवेशपछिका रमाइला किस्साले मिठासपूर्ण रसोस्वादन गराउँछ। पाठकलाई न्याय हुनेगरि यात्राका हरेक घटनालाई अर्थपूर्णरुपमा उजागर गरिएको छ। मुलतः कर्णालीको मुहान राक्षस ताल हो कि होइन भन्नेमा पुस्तकले यकिन गराएको छ। नुनिलो पानी आउने र पानी पिउनयोग्य नभएकै कारण त्यस ताललाई राक्षस ताल भनिएको प्रष्ट हुन्छ। राक्षस ताल कर्णालीको शिर नभएको भुसालले प्रमाणित गर्न खोजेका छन्।
गरिबी जित्न नसकेका धनवीर सुनारको कथाले कर्णाली झल्काएको छ। मरेपछि किरिया गर्न छोरा नै चाहिन्छ भन्ने पितृसत्तात्मक मानसिकताले जकडिएको कर्णालीमा छोराकै चाहनामा चार छोरीपछि पनि दुई छोरा जन्माउनुपर्ने सामाजिक चेतनाले गणतन्त्रलाई गिज्याएको छ। छोरा जन्माउन धामीको भर पर्ने स्तरको मनोविज्ञानमा बाँचेको कर्णाली कति पछाडि परेको छ भन्ने बझ्न सकिन्छ। लेखकले कर्णालीको सुन्दरताभित्रको सकसलाई छर्लङ्ग पारेका छन्।
गरिबीमाथि नै सबैले फाइदा उठाउने कुरा चामलभित्रको राजनीतिमा देखिन्छ। चामल पाउन कर्मचारीलाई भाले दिनुपर्ने कथाले गाउँसम्म भ्रष्टाचारको संस्थागत विकासलाई उदाङ्गो बनाएको छ। उपजन भण्डारीले भनेजस्तै हुम्लालाई राज्यले सौतेलो व्यवहार गरेको कुरा सर्वत्र छ। कुपोषण लागेका बालक र पोषण नपाएकी आमाको चित्रले पाठकलाई भावुकमात्र होइन आक्रोशित नै बनाउँछ।
अर्कातर्फ जलवायु परिवर्तनको प्रभाव कर्णालीवासीमा परेकोबारे लेखकको गम्भीर चिन्ता छ। हरितगृह ग्यास उत्सर्जनमा कुनै पनि साइनो नभएका कर्णालीवासीलाई सम्भावित चुनौती के हो र कसरी सामना गर्ने भन्ने केही थाहा छैन। तर जलवायु परिवर्तनको क्रमिक असर भोग्न बाध्य छन्। खडेरीले खेतीपाती नफस्टाउँदा गरिबीले स्थायी बास पाएको छ। राज्यले अभिभावकत्व पूरा गर्न नसक्दा कर्णाली कति दु:खमा बाँचिरहेको छ यस पुस्तकबाट महसुस गर्न सकिन्छ।
कर्णालीमा माछा हराउँदै गएको, वातावरणीय सन्तुलनमा देखिएको बदलावमा पत्रकार भुसालले मिहिन संवाद पस्केका छन्। माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण अलपत्र पर्दा स्थानीयको सपना चकनाचुर भएको छ।
पुस्तकमा सल्लाह, सुझाव, आक्रोश वा कुटिलता छैन, निष्पक्ष छ पुस्तक। विषयवस्तुलाई थप प्रमाणित गर्न रिफ्रेन्सको भरपुर प्रयोग गरिएको छ। पुस्तकमा जलवायु परिवर्तनको आगामी चुनौतीबारे स्पष्ट पारिएको छ।