काठमाडौं- विश्व फुटबलका उज्याला विशाल मैदानहरूमा प्राय त चर्को उत्साह र समर्थन नै हाबी देखिन्छ। क्लबको प्रभुत्वशाली इतिहाससँगै वर्तमानमा खेलाडीको कौशल र समर्थकको साथसामु अरु विषय गौण लाग्छन्। तर ‘फुटबल अर्थशास्त्र’ले कहिलेकाहिँ त्यसलाई नराम्ररी ओझेल पारिदिन्छ।
अर्थतन्त्रको त्यस्तै अप्ठ्यारोका कारण समस्यामा देखिँदै छ स्पेनिस फुटबल क्लब बार्सिलोना। समर्थकहरू खेलको अतुलनीय रमाइलोभन्दा ज्यादा क्लबको आर्थिक व्यवहारले पिरोलिएका छन्।
साधनहरूको बाँडफाँट, बजारको मूल्य, माग र आपूर्तिबीच बार्सिलोनाले तालमेल मिलाउन नसकेको वर्षौँ भइसक्यो। सीमित साधनहरूको उपयोग गरेर आवश्यकता पूरा गर्नै पनि हम्मेहम्मेको अवस्थामा छ बार्सिलोना।
उत्पादन, बिक्री र उपभोगको सर्वमान्य नियमहरू नमिलाउँदा बार्सिलोना आर्थिक सिद्धान्तहरू सिक्न काम लाग्ने कक्षाका रुपमा परिणत भएको छ। फुटबलप्रतिको लगावले यसरी जोडेको छ कि विश्वभरबाट यसलाई पछ्याइरहेका समर्थकहरू अर्थतन्त्रका ज्ञाताझैँ कहाँ कसरी आर्थिक सामञ्जस्य मिलाउनु पर्छ भन्ने सुझाव दिइरहेका भेटिन्छन्।
जोसेप मारिया बार्तामेउपछि सन् २०२१ मार्चमा फुटबल क्लब बार्सिलोनाको अध्यक्ष बनेका जोहान लापोर्ताले सुधारका प्रयास गरिरहेको बताए पनि अपेक्षाकृत सफलता मिलेको छैन। आर्थिक अवस्थामा टेवा पुगोस् भनेर रणनीतिकरुपमा विभिन्न आर्थिक उपकरणहरू प्रयोग गरिँदा पनि त्यसले आवश्यक सुधार भएको छैन। थप त्यस्ता साधनको प्रयोगले भविष्यसम्म असर पार्ने देखिन्छ।
स्पेनिस ला लिगाले क्लबहरूको आम्दानी र खर्चका आधारमा खेलाडीलाई दिन मिल्ने तलबको सीमा तोकिदिएको हुन्छ। बार्सिलोनाले त्यही सीमाभित्र रहेर आफ्ना खेलाडीलाई मैदान उतार्नसमेत सकेको छैन। चालु सिजनको सुरुवातमा क्लब भित्र्याइएका खेलाडी डानी ओल्मो र पाओ भिक्टरलाई जनवरीपछिका लागि अनुबन्ध गर्न नै हम्मे हम्मे पर्यो।
‘फाइनान्सिएल फेयर प्ले’ (एफएफपी) मा विचार नगरी काम गर्दा ला लिगाका साथै स्पेनिस फुटबल फेडेरेसनले बार्सिलोनालाई खेलाडी अनुबन्ध गर्न बारम्बार रोकिरहेको छ। बारम्बारको प्रयासमा पनि दुई खेलाडी अनुबन्ध गर्न असफल रहेको बार्सिलोनाले स्पेनिस नेशलन स्पोर्ट्स काउन्सिल (सीएसडी) को सहयोगमा अस्थायी अनुमति पाएको छ। जसमा अन्य केही क्लबहरूले विरोध गरिरहेका छन्।
पछिल्ला वर्षहरूमा बार्सिलोनाले आफ्नो सुनौलो इतिहास बिर्साउने गरी सबैभन्दा ठूला आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ। खेलाडीसँगको सम्झौता, तलब र अन्य आर्थिक व्यवस्थापन राम्ररी नहुँदा एउटा क्लबलाई कतिसम्म असर गर्छ भन्ने उदाहरण बनिरहेको छ।
सन् २०२१ मा लापोर्ता अध्यक्षका रुपमा आउँदा बार्सिलोना एक अर्ब युरोभन्दा बढी ऋणबीच आर्थिक रुपमा सक्षम बन्न संघर्ष गरिरहेको थियो। एउटा फुटबल क्लबका लागि त्यो रकम विशाल हो। क्लबको आम्दानीको ठूलो हिस्सा नै खेलाडीको तलबमा खर्च हुनेगरी सन् २०१५ पछि भएका विभिन्न सम्झौताले बार्सिलोनालाई असर गरिरहेको छ।
यसबीच कोरोना महामारीका कारण बन्द रंगशालामा गरिएका खेलले एकातिर आम्दानी घटिरहेको थियो भने अर्कातिर खर्चमाथिको नियन्त्रण नहुँदा जटिल आर्थिक संकट उत्पन्न भएको थियो। त्यसका कारण खेलाडीसँगको सम्झौता र स्थानान्तरणमा क्लबले केही कठीन निर्णयहरू पनि गर्यो।
त्यससँगै जोडेर हेरिन्छ लियोनल मेस्सीसँग तोडिएको सम्बन्ध। क्लबका लागि त्यो निर्णय सहज नभए पनि आर्थिक अवस्थाले बाध्यकारी स्थिति सिर्जना भएको थियो। यो चकित पार्ने निर्णय मुख्यरुपमा ला लिगाले कडाइका साथ लागु गरिरहेको तलब सीमाकै कारण आएको थियो।
मेस्सीको चाहना हुँदाहुँदै पनि उनलाई क्लबमा राखिरहन नसक्नु मेस्सी, बार्सिलोना र समर्थकहरूका लागि सहज अवस्था थिएन। क्लबहरूको व्यावसायिक निर्णयहरूमा प्रभाव पार्ने लिगको नियमअनुसार बार्सिलोनाले आफ्नो आर्थिक व्यवहार गर्न सकेन। बार्सिलोनाको आर्थिक संकटको सबैभन्दा प्रष्ट र प्रभावशाली पक्ष पनि विभिन्न खेलाडीसँगको अव्यवहारिक सम्झौता नै हो।
आजको फुटबल संसारमा हुने सम्झौताहरू केबल खेलाडी र क्लबबीचको सम्झौतामा मात्र सीमित छैनन्। ती सम्झौताले विभिन्न आर्थिक उपकरणको रुपमा काम गरेका हुन्छन्, जसले क्लबको आर्थिक स्थिरता निर्धारण गर्दछ। खेलाडीसँग हुने सम्झौतामा ठूलो ‘साइनिङ बोनस’, प्रदर्शनमा आधारित थप रकमहरू र विशाल तलबमा बार्सिलोनाले खास विचार नै गरेन।
सन् २०१५ पछाडि नै बार्सिलोनाले खेलाडीको तलबमा अत्याधिक खर्च गरेको थियो। क्लबले आफ्नो आम्दानीको ठूलो हिस्सा खेलाडीको तलबमा खर्च गरिरहँदा अन्य क्षेत्रमा लगानी गर्ने अवसर कम भयो। त्यससमय पूर्वाधार र दीर्घकालीन रणनीतिक कामहरूमा रकम खर्च नै भएन। स्रोतको गलत वितरणले आर्थिक अस्थिरता निम्तियो।
खेलाडीलाई दिइने तलबदेखि खेलाडी किनबेचमा हुने आम्दानी र खर्च साथै अन्य व्यावसायिक साझेदारीमा क्लबले विशेष ख्याल गर्नुपर्ने हुन्छ। वास्तविक आम्दानीसँग खर्चका त्यस्ता सीमालाई सन्तुलन नगर्दा दीर्घकालीन आर्थिक संकटहरू बार्सिलोनाले भोगिरहेको छ।
सन् २०२२/२३ को सिजनमा खेलाडीको तलबमा ६७० मिलियन पाउण्ड खर्च गरेको बार्सिलोनाले गएको सिजन ६७० मिलियन पाउण्ड खर्च गरेको थियो। तर बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउ पुनर्निर्माणको अवस्थामा रहेकाले दर्शकमार्फत हुने आम्दानी नै १०० मिलियनभन्दा बढीले घटेको अवस्था छ। वित्तीय संकटसँग जुधिरहेको अवस्थामा खेलाडीको बिक्रीमार्फत प्राप्त हुने आम्दानीलगायतमा बार्सिलोनाले काम गर्न सकेको छैन।
यसका साथै बार्सिलोनाको ‘मिडिया राइट्स’ का लागि ‘बार्सा भिजन’ मा गरिएको भनिएको सम्झौताको रकमसमेत क्लबमा आउन सकेको छैन। बार्सा भिजनमा बार्सिलोनाको ५१ प्रतिशत सेयर छ भने अन्य विभिन्न ६ कम्पनीको ४९ प्रतिशत सेयर रहेको छ। बार्सा भिजनमा २०२२/२३ मा ४०० मिलियन पाउण्डको विभिन्न सम्झौता देखाइए पनि त्यो रकम क्लबमा आएन।
पछिल्ला वर्ष बार्सिलोनाले टिमलाई प्रतिस्पर्धी रुपमा अगाडि बढाउन ठूला खेलाडी किनबेचमा भन्दा नि:शुल्क ल्याउन सकिने खेलाडीमा ध्यान दिनु पनि कमजोर आर्थिक अवस्थाकै उपज हो। आवश्यक पर्दा ठूलो रकम खर्च गर्न नसक्ने क्लबले कुनै पनि लगानी गर्दा लागत र फाइदालाई ध्यानपूर्वक तौलनुपर्ने हुन्छ। त्यसो गर्न नसक्दा आर्थिक पाटो बिग्रनुका साथै प्रतिष्ठागत हानी नराम्रोसँग परिदिन्छ।
बार्सिलोनाले सम्झौता थप गर्न नचाहेका तर उच्च तलबमा रहेका केही खेलाडी बेच्न गरिरहेको प्रयास पनि सफल हुन सकेको छैन। अहिले जनवरीको खेलाडी किनबेच गर्न पाउने समय पनि बार्सिलोनाका लागि त्यति सहज छैन। क्लबको आर्थिक संरचना मिल्न नसकिरहेको अवस्थामा नयाँ खेलाडी भित्र्याउनु वा भएकै खेलाडीको व्यवस्थापन गर्नु चुनौतीपूर्ण हुन्छ।
बार्सिलोनाको वित्तीय संघर्षले दिगो वित्तीय अभ्यासको महत्त्वलाई बुझाइरहेको छ। फुटबल उद्योगमा छोटो अवधिको सफलतामात्रै होइन दीर्घकालीन समृद्धिलाई ध्यान दिँदै वित्तीय व्यवस्थापन गर्नू महत्वपूर्ण हुन्छ। भविष्य नसोची गरिएका निर्णय र खर्चले अहिले क्लबको अवस्था बिग्रिएकोबारे क्लबको बागडोर सम्हालिरहेकाहरू जानकार छन्।
अब आम्दानीको स्रोतमा विविधीकरण गर्न क्लबले प्रयास गरिरहेको भए पनि वर्तमानका लागि त्यो पर्याप्त छैन। जर्सीदेखि अन्य विभिन्न प्रायोजन र प्रसारण अधिकारका साथै पुनर्निर्माण भइरहेको स्टेडियमको ‘भीआईपी’ सिट बेच्नेसम्मका सम्झौतामा क्लबले राम्रो आम्दानी गरिरहँदा भविष्यको योजनाबारे सोच्न भने थालेको देखिन्छ।
बार्सिलोनाको वित्तीय अवस्थासँग जोडेर विश्वव्यापी फुटबल उद्योग कसरी व्यवसायको रुपमा अघि बढिरहेको छ भन्ने पनि बुझ्न सकिन्छ। शीर्ष खेलाडी भित्र्याउन हुने प्रतिस्पर्धा, प्रसारण सम्झौता, प्रायोजन, टिकट बिक्री र समर्थकका अपेक्षाको दबाबबीच जटिल आर्थिक वातावरण सिर्जना भइरहेको हुन्छ। आर्थिक समस्याहरूबीच यात्रा गरिरहेको फुटबल क्लबका लागि गुमिरहेको साख फर्काउनु सहज हुँदैन।
पहिले मैदानमा देखिने खेल र त्यसका रणनीतिबारे बहस गर्ने समर्थकहरू अहिले वित्तीय स्थिरताका पक्षमा धारणा दिइरहेका छन्। ‘आर्मचेयर इकोनोमिस्ट’ बनिरहेका समर्थकहरू वित्तीय प्रभावबारेका रणनीति, जोखिम मूल्यांकन र बजारको गतिशिलताका पाठ पढाइरहेका छन्। भविष्यमा हुने आम्दानी वर्तमानमा नै बेचेर आजको महिमाका लागि लड्नुपर्ने अप्ठ्यारो नैतिक संकटको अवस्थामा छ बार्सिलोना।