मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

रेमिट्यान्सको वृद्धिदरमा गिरावट, पाँच महिनामै ९ प्रतिशतले बढ्यो विदेशी मुद्राको सञ्चिति

शुक्रबार, पुस २६ २०८१
रेमिट्यान्सको वृद्धिदरमा गिरावट, पाँच महिनामै ९ प्रतिशतले बढ्यो विदेशी मुद्राको सञ्चिति

अहिलेसम्मको आयातको प्रवृत्ति निरन्तर भएमा अहिलेको सञ्चितिले १४ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने क्षमता रहेको छ।

काठमाडौं- तीव्र दरमा बढिरहेको रेमिट्यान्समा चालु आर्थिक वर्षको पाँच महिनासम्म पुग्दा वृद्धिदर केही मत्थर भएको छ।

नेपाली रुपैयाँमा रेमिट्यान्स गत वर्षको तुलनामा जम्मा ४.४ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रिएको छ जुन गत वर्षको तुलनामा ४.४ प्रतिशतले बढी हो। गत वर्षको यही अवधिमा रेमिट्यान्स २४ प्रतिशतले बढेको थियो। 

रेमिट्यान्सको आकार ठूलो हुँदै जाँदा वृद्धिदर मत्थर भएपनि परिचालन नभएर विगतकै स्रोत थुप्रिएकाले सरकारका लागि यो अर्थपूर्ण झट्का भने होइन। 

पाँच महिनामा मुलुकको चालु खाता १ खर्ब ४० अर्ब रुपैयाँले बचतमा रहेको छ। गत वर्षकै हाराहारीमा यो बचत रहेको छ। गत वर्षको यही अविधमा १ खर्ब ४१ अर्बले चालु खाता बचतमा रहेको थियो। 

त्यस्तै शोधनान्तर अवस्था भने २ खर्ब २५ अर्बले बचतमा रहेको छ। गत वर्षको यही अवधिमा २ खर्ब १६ अर्बले बचतमा रहेको थियो। 

पाँच महिनासम्मको तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति १६ अर्ब ७६ करोड डलर रहेको छ। चालु वर्षको पाँच महिनामै  १ अर्ब ४९ करोड डलर सञ्चिति थपिएको छ। 

अहिलेसम्मको आयातको प्रवृत्ति निरन्तर भएमा अहिलेको सञ्चितिले १४ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने क्षमता रहेको छ। 

रेमिट्यान्सको सुखद अवस्था तर सोहीअनुसारको आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा मुलुकमा अहिले विदेशी मुद्राको सञ्चिति थुप्रिँदै गएको छ। यसले गर्दा सरकारको परिचालन तथा संकटमोचक क्षमतामा प्रश्न उठेको छ। 

यद्यपि पछिल्लो समय चालु खाता तथा शोधनान्तर अवस्थामा गत वर्षकै हाराहारीमा रहनु र अर्कोतिर रेमिट्यान्सको वृद्धिदरमा मत्थर हुनु एकसाथ भएको छ। चालु खाताको बचतमा झिनो गिरावटलाई आर्थिक चलायमानभन्दा पनि रेमिट्यान्सको न्यून वृद्धिदरसँग जोडिएको छ। 

पछिल्लो एक वर्षभन्दा लामो समयदेखि निरन्तर रुपमा बाह्य क्षेत्र सबल बन्दै गएपनि आन्तरिक स्रोत परिचालनमा सरकार चुक्दा अर्थतन्त्रलयले लय समात्न भने सकेको छैन।


प्रकाशित : शुक्रबार, पुस २६ २०८११७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend