काठमाडौं- कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाे छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न प्रहरीले रास्वपा सभापति लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर कास्की लगेको थियो।
उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएर लामो बहसपछि आज बिहीबार थुनछेक आदेश आएको हो।
पोखराको सुर्यदर्शन सहकारीको बचत रकम गैरकानूनी हिसाबले गोर्खा मिडियामा आएको भन्दै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। यस्तै सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ रकम बिगो दाबी गरिएको छ।
यसैगरी अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
यसैगरी अदालतले रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३६ लाख, मीना गुरूङसँग ५ लाख, आरती गुरूङसँग ५ लाख र कृष्णबहादुर गुरूङसँग १ लाख रुपैयाँ धरौटी माग गरेको छ।