बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

उद्योग संगठनको ‘एक्स्पो’ निश्चित, लगानी सम्मेलन सार्ने तयारीमा कोशी सरकार

बिहीबार , पुस २५ २०८१
उद्योग संगठनको ‘एक्स्पो’ निश्चित, लगानी सम्मेलन सार्ने तयारीमा कोशी सरकार

लगानी सम्मेलनमा १ खर्बभन्दा धेरै लगानी ल्याउने गरी सरकारले तयारी गरेको थियो। तयारीअनुसारको सुनिश्चितता नभएपछि सरकार पछि हटेको हो।

इटहरी- कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन सार्ने तयारी गरेको छ। माघ ११ देखि १३ गतेसम्म विराटनगरस्थित डिग्री क्याम्पसको मैदानमा हुन लागेको सम्मेलन तयारी नपुगेको भन्दै सार्न लागिएको हो।

लगानी सम्मेलन निर्देशन समितिका संयोजकसमेत रहेका आर्थिक मामिलामन्त्री रामबहादुर मगरले तोकिएको मितिमा सम्मेलन हुन नसक्ने संकेत गरे। उद्योग संगठन मोरङले तयारी गरेको मेलामै लगानी सम्मेलन गर्ने विषयमा विवाद भएपछि सरकार पछि हटेको बताइएको छ।

उद्योग संगठनले भने ‘एक्स्पो २०२५ : डिजिटल कोशी ब्रिजिङ इनोभेसन एण्ड इन्भेस्टमेन्ट मोडल’ नारा तय गरेर माघ ११ देखि २५ गतेसम्म एक्स्पो गर्न लागेको हो। संगठनका अध्यक्ष राकेश सुरानाले एक्स्पोमा खरिदबिक्रीका लागि खुला गरिएको बताएका छन्।

२०८१ मा आठौँ संस्करणसम्म आइपुग्दा विराट एक्स्पो देशको छुट्टै ब्राण्डको रूपमा स्थापित भएको अध्यक्ष सुरानाको भनाइ छ। उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदानप्रदान गर्ने वातावरण सृजना गराइने भन्दै उनले उद्यमी र व्यवसायीलाई नयाँ प्रविधिको पहिचान र व्यावसायिक सम्बन्धहरूको विकासमा मद्दत पुग्ने विश्वास लिएका छन्।

एक्स्पोसँगै हुने भनिएको कोशी सरकारको लगानी सम्मेलन अन्य उद्योगी संघसंस्थाको विरोधको कारण स्थगित भएको अनुमान गरिएको छ। सरकारले तयारी नभएको बताए पनि लगानीको सुनिश्चितता नआएको र उद्योगीहरूबीच विवाद भएका कारण सर्न लागेको आयोजक समितिकै सदस्यहरू बताउँछन्।

uddhog sangathan.jpg

मन्त्री मगरले भने तयारी पूरा नभएको कारणले नै सम्मेलन स्थगित हुन पुगेको दाबी गरेका छन्। पुस ४ गतेको प्रदेशसभा सुशासन समितिको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलनको अन्तिम तयारीबारे जानकारी गराएका थिए। भव्य पत्रकार सम्मेलनमार्फत प्रचार गर्ने मुख्यमन्त्रीको दाबीका बीच तत्काल सम्मेलन नहुने भएको छ।

सम्मेलनमा १ खर्बभन्दा धेरै लगानी ल्याउने गरी सरकारले तयारी गरेको थियो। तयारीअनुसारको सुनिश्चितता नभएपछि सरकार पछि हटेको हो। यस बीचमा असन्तुष्ट उद्योगीसहित अन्य लगानी आकर्षित गर्न सक्ने स्टेक होल्डर्सलगायतसँग संवाद गर्ने सरकारले योजना बनाएको छ।

माघमा लगानी सम्मेलन नहुने निश्चित भएको बताएका मन्त्री मगरले नयाँ मितिबारे परामर्श भइरहेको जानकारी दिएका छन्। बिहीबार तयारी समितिको छलफल हुने र सोही आधारमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्ने उनले बताए। 

लगानी सम्मेलनका लागि मुख्यमन्त्री कार्कीको नेतृत्वमा मूल आयोजक समितिसहित ५ वटा विभिन्न समिति निर्माण भएका छन्। लगानी सम्मेलनको व्यवस्थापनको लागि छुट्टै सचिवालयको कार्यालय समेत सञ्चालनमा छ। 

मुख्यमन्त्री कार्की संयोजक रहेको मूल आयोजक समितिमा उद्योग, वाणिज्य क्षेत्रका १० वटा निजी संघसंस्थाहरु सह-संयोजक छन्। मन्त्री मगरको नेतृत्वमा निर्देशक समिति, आन्तरिक मामिला तथा कानूनमन्त्री रेवती रमण भण्डारीको नेतृत्वमा नीतिगत सुधार समिति गठन भएको छ।

डाक्टर सरोज कोइराला प्रमुख कार्यकारी अधिकृत रहने गरी प्रदेश लगानी प्राधिकरण समेत गठन भएको छ। कोइरालाले लगानी सम्मेलनको तयारीको बारेमा अहिल्यै निर्णय नभइसकेको बताए। मन्त्री संयोजक रहेको तयारी समितिले दिएको रिपोर्टका आधारमा अगाडी बढ्ने उनको भनाइ छ। 

प्रदेशस्तरमा पहिलोपटक आयोजना हुन लागेको लगानी सम्मेलनमा लगानी प्राधिकरणले ३७ वटा आयोजना छनौट गरेको छ। ३७ आयोजनामा १ खर्ब ४ अर्ब ८५ करोड लगानी भित्र्याउने सरकारको तयारी छ।


प्रकाशित : बिहीबार , पुस २५ २०८१०७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend