इटहरी- धरान उपमहानगरपालिकाले औपचारिक रूपमै ‘धरान डे’ आयोजना गर्यो। अस्थिर राजनीति र सुस्त बजारले थलिएको धरानलाई केही राहत दिन ‘धरान डे’लाई अवसर मानियो। तर ‘धरान डे’को कारण सोचेजस्तो बजार चलायमान हुन सकेन।
‘धरान डे’ मार्फत थोरै चलमलाएको बजारलाई ‘धरान एक्स्पो’ले थप चलायमान बनाउने विश्वास लिइएको छ। पुस २५ देखि माघ ५ गतेसम्म १० दिन चल्ने एक्स्पोले स्थानीय बजार प्रवर्द्धनमा टेवा पुग्ने बताइएको छ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको एक्स्पोले मुख्यतः स्थानीय कृषि उत्पादन, उद्योग, र पर्यटनमा केन्द्रित हुने भएको छ।
संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार एक्स्पोले स्थानीय उद्यमीहरूलाई आफ्नो उत्पादन र सेवाको विस्तार गर्न सहयोग पुर्याउँछ। धरानमा सुस्ताउँदै गएको व्यापारलाई चलायमान बनाउनु मुख्य उद्देश्य रहेको उनले बताए। पछिल्लो समय धरानमा व्यापारिक गतिविधि कमजोर बनेपछि व्यवसायी पलायनको खतरा बढेको उनको भनाइ छ।
तेस्रो संस्करणको रूपमा आयोजना हुन लागेको एक्स्पोलाई थप व्यवस्थित र प्रचारमुखी बनाइएको आयोजकको दाबी छ। कोशी प्रदेशका १४ वटै जिल्लाबाट व्यापारिक स्टलहरू राख्ने व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठ बताउँछन्। उत्पादक र उपभोक्ताबिचको प्रत्यक्ष सम्बन्धले सामानको मूल्य सस्तो बनाउने उनको भनाइ छ।
बिजनेस न्युजसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘एक्स्पोले धरानको सुस्ताएको बजारलाई फेरि सक्रिय बनाउनेछ। १० करोडभन्दा बढीको व्यापार हुने हामीले विश्वास लिएका छौँ। धरान एक्स्पोलाई राष्ट्रिय स्तरको ब्रान्डको रूपमा स्थापित गर्ने सोच बनाएका छौँ।’
स्थानीय बाली प्रवर्द्धन र स्थानीय पर्यटन प्रवर्द्धनको लागि विशेष कार्यक्रम आयोजना हुने भएको छ। स्थानीय पर्यटकीय क्षेत्र प्रचार गरेको फेसबुक रिल्स तयार पार्नेलाई भ्युज र गुणस्तरको आधारमा पुरस्कृत गर्न लागिएको हो।