शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

वन संरक्षणमा जुट्दै सत्रखर्क कालीलेकका उपभोक्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २२ २०८१
images
images
वन संरक्षणमा जुट्दै सत्रखर्क कालीलेकका उपभोक्ता

जंगल क्षेत्रमा चोगो, नसि, खाँदो, पनेलो, स्याक, क्रेटोेपधेरो, कोइप्रोनो, तल्लोदोवान, वलाय, तोमोधु, तोढ्रे, एकल, दोबाटे, माडदी, घुडे, लिते र सवल गरी सत्रवटा चरनलाई समेटेर यस वनलाई सत्रखर्क नामकरण गरिएको हो।

images
images

गण्डकी- गोठ र चरनमा आधारित पशुपालनको परम्परा बोकेका यहाँको वन संरक्षणमा स्थानीय सक्रिय भएका छन्।

images
images
images

पोखरा महानगरपालिका-१६ मा अवस्थित बहुमूल्य जडीबुटीको भण्डार सत्रखर्क कालीलेक सामुदायिक वनको संरक्षणमा उपभोक्ताले चासो देखाएका हुन्।

images
images

जंगलमा रहेको बहुमूल्य जडीबुटी, काठसहित चोरी-सिकारी हुँदै आएको सो वनलाई डिभिजन वन कार्यालय कास्कीले एक वर्षअघि संरक्षण, विकास र उपयोग गर्नेगरी गठित समूहलाई अधिकार हस्तान्तरण गरेसँगै उपभोक्ता वन जोगाउने अभियानमा जुटेका हुन्। 

images
images
images

बहुमूल्य जडीबुटी, सतुवा, लोटसल्लो, निरमसी, पखन वेद, चन्दन, चुत्रोलगायत मालिङ्गो, घुँडे र तीते निगालो स्वादिलो तरकारीमा प्रयोग गरिने टुसा, निउरो, तरूल प्रशस्त पाइने सत्रखर्क कालीलेक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुवेदार इन्द्रबहादुर गुरूङले जानकारी दिए।

उनका अनुसार जंगल क्षेत्रमा चोगो, नसि, खाँदो, पनेलो, स्याक, क्रेटोेपधेरो, कोइप्रोनो, तल्लोदोवान, वलाय, तोमोधु, तोढ्रे, एकल, दोबाटे, माडदी, घुडे, लिते र सवल गरी सत्रवटा चरनलाई समेटेर यस वनलाई सत्रखर्क नामकरण गरिएको हो। 

समुद्री सतहबाट एक हजार दुई सयदेखि तीन हजारसम्मको उचाइमा अवस्थित जंगलमा चितुवा, भालु, मृग, थार, घोरल, बाँदर, दुम्सीजस्ता जंगली जनावर र मुनाल, प्युरा, वन कुखुरालगायत विभिन्न प्रजातिका चराचुरूङ्गीको बासस्थान भएको अध्यक्ष गुरूङको दाबी छ। 

भारतीय सेनामा भर्ती भएका गुरूङले भने, 'आजभन्दा ६ दशकअघि सम्म प्रत्येक खर्कमा भैँसी, गाई, भेडाका तीनदेखि चारवटा गोठ थिए, जसमा जंगलमा चाररपाँच हजार घरपालुवा चौपाया चर्ने गर्दथे।' 

जंगलको बीच भागमा रहेको बलायखर्कमा चेतबहादुर पौडेल र उमा पौडेलले भैँसी गोठमा भविष्य खोज्दै आएका छन्। उनको गोठमा हाल सानाठूला गरेर ४० वटा भैँसी र गाई रहेका छन् भने सुरेन्द्र पौडेलले चरनमा आधारित बाख्रापालन गर्दै आएका छन्। पौडेलको खोरमा अहिले पनि एक सयभन्दा बढी बाख्रा रहेका छन्। भैँसी र बाख्रा चरनमा आधारित छन्।

अध्यक्ष गुरूङ भन्छन्, 'विगतमा बाहिरबाट आउनेले जंगलबाट जडीबुटी सङ्कलन र जनावरको चोरी-सिकारी हुँदा पनि सरकारी स्तरको ध्यान नपुग्नु र उपभोक्तामा अधिकार नहुँदा बर्सेनि बहुमुल्य जडीबुटी बाहिरिन्थ्यो। हाल उपभोक्ताले निगरानी राख्न थालेपछि केही नियन्त्रण भएको छ। सो क्षेत्रको करिब तीन हेक्टर क्षेत्रफलमा रहेको महत्त्वपूर्ण वनस्पति लोटसल्लो बिस्तारै पातलिँदै गएको छ।' 

मार्की, जैमुरे, खरिकुना, ठूलोखोरिया, कुरा आँटीघर मौजा मोरियालगायत विभिन्न स्थानबाट जंगलमा प्रवेश गर्ने नाका रहेको बताउँदै उनले भने, 'टुसा र निउरो उत्पादन हुने सिजनमा चोरी-निकासी अत्यधिक हुने गरेको छ। समूहको ऐतिहासिक प्रथम साधारणसभाले अबका दिनमा समूहको कार्ययोजना र विधानको परिधिभित्र रहेर ‘टेन्डर’ आह्वान गरी समूहको केही हदसम्म भए पनि आयआर्जन गर्ने तयारी भई रहेको उनको भनाइ छ।

वन समूहका सचिव बबिता गुरूङका अनुसार पोखराको पानीको मुख्य स्रोत रहेको सम्भवतः कास्की जिल्लाको भौगालिक हिसाबले सबैभन्दा ठूलो उक्त वन ६ सय ९३ दशमलव पाँच हेक्टरमा फैलिएको सो वनमा तीन सय १६ घरधुरी उपभोक्ता रहेका छन्। समूहले स्थायी लेखा नम्बर लिएको छ।

वनमा प्रशस्त मात्रामा रहेको निगालोबाट माद्रो, थुन्से, नाम्लो, मोहडा, कुर्चीलगायत घरेलु सामग्री निर्माण गरिन्छ भने अल्लोबाट भाग्रा, कछाड, टोपी, थैलो, स्टकोटजस्ता कपडा निर्माण गर्दै आएको बताउँदै उनले थपे, 'प्राकृतिक स्रोत उपयोगका लागि आवश्यक तालिमको खाँचो छ।'  

अर्मलाकोट ‘होमस्टे’का अध्यक्ष रहेका उनले भने, 'पोखराबाट छोटो दूरीमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण चराचुरूङ्गी, जंगली जनावरको प्रत्यक्ष अध्ययन गर्न सकिने यस क्षेत्रको उचित प्रचारप्रसार गर्नसक्ने हो भने पर्यापर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्नाका साथै होमस्टेमा आन्तरिक एवं वाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास छ।'

सत्रखर्च कालीलेक सामुदायिक वन उपभोक्ता समूहको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। विगत लामो समयको निरन्तर प्रयासबाट एक वर्षअघि सामुदायिक वनका रूपमा हस्तान्तरण भएपछि वनका बारेमा पहिलोपटक उपभोक्ताको भेला भएको हो।

भेलाले वनको संरक्षणसहित ढलापडा काठ निकासी गर्ने, टुसा र निउरो टिप्नका लागि ‘टेन्डर’ आह्वान गर्ने, जंगलमा जाने बाटो सफा गरी सञ्चालन गर्ने, पानीका मुहान संरक्षण र व्यवस्थापनमा जोड दिने जस्ता निर्णय गरेको छ। रासस


प्रकाशित : सोमबार, पुस २२ २०८११५:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend