बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

मान्छे बेगरका घरहरु

images
आइतबार, पुस २१ २०८१
images
images
मान्छे बेगरका घरहरु

सेवासुविधा र रोजगारीको अभावले गाउँ रित्तिँदै जाँदा यहाँ बस्न सजिलो पक्कै छैन। जति हेर्दा क्षणभर रमाइलो लाग्छ, त्यहाँ सुविधायुक्त जीवन बिताउन चुनौतीपूर्ण छ।

images
images

लमजुङ- छेवैको घर जीर्ण छ। आँगन घाँसे मैदानजस्तै बनेको छ। भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ। 'मान्छे बेगरको घर यस्तै त हुन्छ नि! बेवारिसे झैँ', छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका-१० बोराङकी ८७ वर्षिया रमादेवी न्यौपानेलाई उदेक लाग्छ।

images
images
images

उनको घर दायाँबायाँ, जहाँत्यहीँ फर्किँदा उस्तै जीर्ण र छिमेकी बेगर घर छन्। रमादेवी अहिले लगभग छिमेकीविहीन जस्तै छिन्। उनको घर वरिपरिका झण्डै १५ घरमा ताल्चा झुण्डिएको छ। घरधनी सहरतिर छन्। गाउँमा मान्छे पलायन हुँदै गएको देख्दा अचेल बोराङ टोलभरिकै उमेरले पाकी रमादेवीको मन अत्तालिन्छ।

images
images

उनलाई गाउँ रित्तिँदै गएकामा चिन्ता लाग्छ। किनभने त्यो गाउँसँग उनको बाल्यकालदेखि बुढौलीसम्मकै प्रगाढ सम्झना छ। 'बालखैमा बिहे गरेर आएको गाउँ हो। यहाँ पहिला कति रमाइलो हुन्थ्यो। अहिले कस्तो भयो,' उनी भन्छिन्, 'हराउँदै गयो गाउँको रौनक।'

images
images
images

बिहे भएर आएदेखिको उनको मानसपटलमा पुरानो गाउँ अझै फनफनी घुम्छ, अतित बनेर। 'कच्ची बाटो पारि र वारि दुवैतिर घनाबस्ती थियो', उनी गाउँको विगत स्मरण गर्दै भन्छन्, 'अहिले घरहरु छन्, बस्ने कोही छैनन्। सबै सहरतिर लागे। सुख र सुविधाले त्यति तान्यो।' 

छोराबुहारीको साथमा घरमै बस्न पाए पनि रमादेवीलाई सुनसान गाउँको अवस्थाले मन पोल्छ। अझ बढी त करेसा बारीमा फलफुल फल्दा टिपेर खाइदिने चकचके केटाकेटी नहुँदा उनलाई खल्लो लाग्छ। कुनै समय थियो। 'गाउँभरका चकचके केटाकेटीले बोटमा बतिला नलाग्दै फलफूल टिपेर बिठ्याइँ गरिदिन्थे', उनको स्मृति बग्दै गयो, 'उतिबेला लट्ठी लिएरै भुराभुरी लखेट्दै दौडिनुपर्थ्यौ। अहिले चरा र बाँदरले खाएर रित्याउँछन्। मान्छे भेटिँदैनन्।'

लमजुङको राइनास नगरपालिका-१० बोराङलाई न्यौपाने टोल पनि भनेर चिनिन्छ। किनभने त्यहाँ तीन घर अधिकारीबाहेक प्रायः सबै न्यौपाने थरका छन्। अधिकांश शिक्षक पेसामा आबद्ध टोल भएकाले यस गाउँको अर्को नाम मास्टर टोल पनि हो। 'यहाँका अधिकांश बुबाहरु शिक्षक पेसामै आबद्ध हुनुभयो भने छोराछोरी केहिले यही शिक्षण पेसा अपनाएका छन्', रमादेवीका छोरा राममणि न्यौपानेले भने।

उनी गाउँकै महेन्द्र प्राथमिक विद्यालयको प्रधानाध्यापक हुन्। उनका अनुसार टोलमा ५५ घरधुरी छन्। यसमध्ये मुस्किलले २६/२७ घरमा मात्रै घरमुली बसोबास गर्छन्। अरु अधिकांश शहरतिरै त कोही विदेश पलायन छन्। शिक्षकहरु जन्माएको थलोप्रति राममणिलाई जति गर्व अनुभूति छ, त्यससँगै हाल आफ्नै विद्यालयमा विद्यार्थीको संख्या दिनानुदिन घट्दै गएकामा पीडा उत्तिकै छ। पाँचजनाको शिक्षक दरबन्दी घटेर अहिले दुईजनामा सीमित हुनुपरेको छ। 

कक्षा शिशुदेखि कक्षा ५ सम्म जम्मा १७ जना विद्यार्थी पढ्न आउँछन्। त्यसमा पनि बोराङटोलको एक जना मात्रै विद्यार्थी पढ्छन्। 'गाँउमा अभिभावक नै नभए पनि पढ्न आउने केटाकेटी कहाँ पाउनु?', उनी भन्छन्। अझ भनौँ कहिलेकाहीँ विद्यार्थी विद्यालय नआइदिएर कक्षा रित्तै हुने गर्छ। राममणिका अनुसार गाउँमा स्वास्थ्य सेवा, खानेपानी, यातायातलगायतका भौतिक पूर्वाधार सुविधाको अभावले गर्दा घरहरु रित्तिदै गएको हो। यसले टोलको विकाससहित विद्यालयको पठनपाठनमा समेत असर गरेको छ।

राइनास नगरपालिका-१० मा प्यारजुङ, लामा गाउँ, सिमघारी, पात्लेपानी,  कत्रेनी, बोराङलगायत टोल छन्। टोलैपिच्छे मौरीपालन, तरकारी खेती जस्ता उत्पादन र उद्यमशील काम भएका छन्। यद्यपि पालिकाले योजनाबद्ध ढंगमा आधुनिक खेती बसाउने र रोजगारोन्मुख कार्ययोजनामा खासै चासो नल्याएको हुँदा स्थानीय सहरमुखी हुन थालेको बताउँछन्।  बस्तीमा मान्छे बस्न छाडेपछि प्रेम न्यौपानेको मनोबल कमजोर हुँदै गएको अनुभव सुनाउँछन्। 'छरछिमेकी हुँदा गाह्रोसाह्रो परेको बेला सहयोगी हात हुन्थे,' उनी भन्छन्, 'अहिले बिरामी भइयो भने छिमेकी गुहार्न पनि ठाउँ छैन।' 

गाउँका युवा पुस्ताहरु रोजगारी र शिक्षा आर्जन गर्नका लागि सहर पसेका छन्। चाडपर्वमा घर सम्झेर एकाध परिवार आउँछन नभए वर्षौँदेखि घरले स्याहार नपाएको स्थानीयले बताए। प्रेमका छिमेकी हुन्, विजयराज, दामोदर, अर्जुन। उनीहरु तीनैजनाको घरमा ताल्चा छ।

रोजगार र छोराछोरी पढाउन काठमाडौं पसेका छिमेकी उतै बसेको प्रेम बताउँछन्। 'मेरो वरिपरि त सबै घरमा ताला लागेको छ। छिमेकी नहुँदा निकै नियास्रो महसुस हुन्छ', उनी भन्छन्, 'गाउँका टाढाबाढा मान्छेहरु नै सहर पसेपछि गाउँको विकास हुने कुरै भएन।'

गाउँको छेउँमै चौतारा छ। चौतारा अचेल पहिलेजस्तो भरिभराउ हुँदैन। ७२ वर्षे स्थानीय विष्णुहरि न्यौपाने अब बूढाबूढीपछि पुर्ख्यौली घर कसले धान्ला भन्ने चिन्ताले सताउन थालेको बताउँछन्। उनको ठूलो छोरा चितवन रोजगारका सिलसिलामा उतै छन्। माइलो र कान्छो काठमाडौंमा छन्। सुविधा नभएको गाउँमा नबस्नु, सहरतिरै आउनु भनेर छोराहरुले जोड गरे पनि जन्मेको थलो छोड्न मन नलागेको उनले सुनाए।

'हामी चिसो छल्न गाउँ आएका। होइन भने प्रायः काठमाडौंतिर बस्छौँ', उनले भने, 'किन बस्ने गाउँमा भो अब दु:ख गर्नु पर्दैन भन्छन् छोराहरु।' बिरामी परेको बेला सिटामोल समेत पाउन मुस्किल हुने गाँउको दुःख सम्झिँदा विष्णुहरी गाँउको माया गर्ने आदर्श भाव ओझेल पर्दै गएको बताउँछन्।

उनले भनेजस्तै गाउँमा बस्न सजिलो भने पक्कै छैन। जति हेर्दा क्षणभर रमाइलो लाग्छ, त्यहाँ सुविधायुक्त जीवन बिताउन चुनौतीपूर्ण छ।

६८ वर्षे डिल्लीराम न्यौपानेले गाउँका अनेक दुःखलाई बेलीविस्तार लगाए। उखको पुर्ख्यौली जिउने आधार खेती किसानी हो। सकिनसकी लगाएको बाली बाँदर, मृग, दुम्सीले जस्ता जनावरले एकैछिन सखाप पारिदिन्छन्। 'अन्न लगायो बाँदरलाई बाख्रा पाल्यो बाघलाई', उनी किसानले भोग्नु परेको पीडा सुनाउँछन्, 'के खाएर बस्ने हो यो गाउँमा? अनि सहर नपसे के गर्ने?'

लालीगुँरास आमा समूहकी अध्यक्ष राजुकुमारी न्यौपाने गाउँमा स्थानीय टिकाउनका लागि स्थानीय सरकारले खासै कुनै पनि योजना नल्याएको गुनासो गर्छिन्। रोजगारीको अभाव, उद्यमशीलताका आधारहरु नहुँदा युवा पलयान भएका छन्। यति मात्रै होइन, बुढापाका पनि छोराछोरीसँगै सहर पस्न थाले। यसले गर्दा गाउँ सुनसान हुँदै गएको उनले सुनाइन्। मान्छे नै नरहे स्थानीय क्षेत्रको विकासको आधार हराउने भन्दै गाउँमा मान्छे टिकाउन ग्रामीण योजना ल्याउन अति आवश्यक रहेको उनले बताइन्।

सामुदायिक सिकाइ केन्द्रमा आबद्ध रहेकी स्थानीय विमला अधिकारी न्यौपानेले कृषिमा आधुनिकीरण गर्ने र स्वास्थ्य, खानेपानी बाटोघाटोको सुविधा विस्तार गर्न सके न्यौपाने गाउँ स्वर्गजस्तै रहेको बताइन्। धुलोधुवाँदेखि पर रहेको गाउँ प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै पर्यटकीय दृष्टिले आकर्षित छ। परम्परागतरुपमा धान, गहुँ, मकैखेती गर्दै आएका यहाँका किसानहरुका अहिले अधिकांश जग्गा बाँझै छन्।

'खेती गर्ने बुढापाका छन्, सक्ने गर्छन् नसक्नेको बाँझै रहन्छ', विमला भन्छिन्, 'कृषिमा आधुनिकीरण गर्न सके पनि आयआर्जनमा धेरै राहत हुन्थ्यो।' रासस


प्रकाशित : आइतबार, पुस २१ २०८११५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend