काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सले 'नेपाल लाइफ रक्षा कवच जीवन बीमा' योजना सार्वजनिक गरेको छ। न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका कम्पनीले गएको बिहीबारबाट नयाँ बीमा योजना ल्याएको हो।
कम्पनीका अनुसार एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो। यसको न्यूनतम बीमांक रकम ५ लाख र अधिकतम बीमांक रकम एक करोड रूपैयाँ रहेको छ।
यस योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्ने कम्पनीले जनाएको छ। बीमा अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ।
यस योजनामा ऐच्छिक सुविधा (एडीबी, पीटीडी, पीडब्लुबी) पनि न्यूनतम ५ वर्षदेखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिने छ। यस योजनाअन्तर्गत बीमा अवधिभित्र जुनसुकै समयमा बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत: अन्त्य हुने कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको बताए। यो पोलिसीलाई मूल पोलिसीमा गाभेर बीमितलाई दिन सकिए सानो रकममा ठूलो जोखिम बहन हुने उनको भनाइ छ।