शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बृहत् पाँचखाल-सुनकोशी खानेपानी आयोजना अन्तिम चरणमा, आउँदो माघभित्र पाँचखालवासीको घरघरमा पानी

images
आइतबार, पुस २१ २०८१
images
images
बृहत् पाँचखाल-सुनकोशी खानेपानी आयोजना अन्तिम चरणमा, आउँदो माघभित्र पाँचखालवासीको घरघरमा पानी

यस्तै आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा छवटा इनार, चार-चार लाख लिटर क्षमताको दुई पानी संकलन ट्यांकी, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्यांकी, १० नयाँ वितरण ट्यांकी, छ ब्रेक प्रेसर ट्यांकी तथा १५ वटा पालेघर निर्माण सम्पन्न भएको छ।

images
images

काभ्रेपलाञ्चोक- पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल-सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आउँदो माघ मसान्तभित्र पाँचखालका ६ हजार परिवारको साढे ३१ हजार नागरिकले घरघरमा पानी पाउने आयोजनाले जनाएको छ।

images
images
images

निर्माणाधीन उक्त खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ। गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको मर्मत एवं पुनर्निर्माण गरिएपछि हाल पाँचखाल-९ डाँडागाउँस्थित पानी प्रशोधन केन्द्रमा सुनकोशी नदीको ल्याइएको छ। ३९ लाख लिटर पानी प्रशोधनको क्षमता रहेको केन्द्रसँगै रहेको ‘ओभरहेड ट्यांकी’मा समेत पानी जम्मा गर्न थालिएको उपभोक्ता समितिले जनाएको छ।

images
images

आयोजनाका अनुसार ८४ लिटर प्रतिसेकेण्डको दर भए पनि यतिखेर हाल ४२ लिटर प्रतिसेकेण्डका दरले पानी ल्याइएको समितिका अध्यक्ष कुमार लामिछानेले बताए। उनका अनुसार उपभोक्ताका घरमा पानी पठाउने बेलासम्म पूर्ण क्षमतामा पानी ल्याइनेछ।

images
images
images

उपभोक्ता समितिले गत असोज २३ गते पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले विफल बनाइदिएको हो। बाढीपहिरोले आयोजनाको मुहान क्षेत्रमा डुबान गर्नुका साथै करिब ७५ मिटर घेरा पर्खाल भत्काएर लेदो जमेको थियो। ४८ स्थानमा वितरण पाइप तथा केही संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ।

आयोजनाका परामर्शदाता अशोक अधिकारीका अनुसार आयोजनाका एक करोड ७० लाख रूपैयाँको क्षति पुगेको थियो। मुहानका मुख्यलगायत कलेक्सन ट्यांकी तथा उक्त क्षेत्रमा जमेको लेदो सफाइ गरिएको र अन्य भौतिक क्षति मर्मत गरिएको छ। २० वर्षसम्म नगरको जनसङ्ख्या प्रक्षेपण गरी आयोजना डिजाइन गरिएको हो।

आयोजनाद्वारा माघको अन्त्यसम्ममा घरघरमा धारा पुर्‍याउने गरी हाल तीव्रगतिमा काम भइरहेको लामिछानेले बताए। उनका अनुसार पाँचसय घरमा धारा जडान बाँकी छ। दातृ निकायले गत डिसेम्बर ३१ मा समयावधि सकिए पनि विपद्का कारण तीन महिना समय थपेको लामिछानेले बताए। यस्तै नगर विकास कोषले पनि सोही समयावधिसम्ममा काम सक्न भनेको जनाइएको छ।

हाल योजनाको कार्य अन्तिम चरणमा प्रतिघण्टा तीन लाख दुई हजार चारसय पानी तान्न सहज ढंगबाट सकिने र आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्न सकिने प्रमाणित भएको लामिछानेले बताए। लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो।

यस्तै आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा छवटा इनार, चार-चार लाख लिटर क्षमताको दुई पानी संकलन ट्यांकी, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्यांकी, १० नयाँ वितरण ट्यांकी, छ ब्रेक प्रेसर ट्यांकी तथा १५ वटा पालेघर निर्माण सम्पन्न भएको छ। पाँचवटा जेनेरेटर राख्ने घर, ट्यांकी वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रसारण लाइन, ३७ किलोमिटर शाखा प्रसारण लाइनमध्ये ३५ किलोमिटर, दुई सय ३० किलोमिटर वितरण पाइप लाइनमध्ये हालसम्म दुईसय २० किलोमिटर पाइप लाइनको काम सम्पन्न भएको जनाइएको छ।

कुल ६ हजार ३७ धारामध्ये हालसम्म तीन हजार पाँच सय धारा जडान, उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्रका सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ। उहाँका अनुसार हाल आयोजनाको २४ पानी तान्ने पम्प जडान, सात बिजुलीको ट्रान्सफर्मर जडान, खोलाबाट पानी संकलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ।

सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच विसं २०७७ असार १५ गते अढाई वर्ष अर्थात् २०७९ माघमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढीका कारण आयोजनाको पूर्वाधारमा क्षति पुर्‍याएका कारण लम्बिएको हो। यी कारणले पहिलोपटक १० र दोस्रोपटक चार महिना गरी आयोजना सम्पन्न गर्न १४ महिनाको समय थप गरिएको थियो।

पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका-१० विमीरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो। एक अर्ब ४७ करोड ४३ लाख ६० हजार रूपैयाँको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिकाको वडा नं २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरपरिवारका हाललाई ३१ हजार चार सय १५ नागरिक लाभान्वित हनेछन्।

यसमध्ये दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव ०५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको योजनामा उल्लेख छ। आगामी सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ।

आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, सरकारको बजेटसँगै कुल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख पाँच हजार तीनसय रूपैयाँ परिवारले प्रतिपरिवार १८ हजार रूपैयाँका दरले रकम बुझाएका छन्। यस्तै आयोजनाका लागि सम्झौताअनुसार दुई सय १४ उपभोक्ताले सहकारी संस्थाबाट ऋण लिइ खानेपानीका लागि रकम बुझाएका थिए। रासस


प्रकाशित : आइतबार, पुस २१ २०८१११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend