काठमाडौं- सेयर बजार एक महिनाको वृद्धिपछि पुनः घट्न थालेको हो। यद्यपी विश्लेषकहरुले अहिले घटेको करेक्सन मात्रै रहेको बताउँदै आएका छन्।
गत पुस ५ गते यता हालसम्म सेयर बजारमा केही दिन घट्ने बाहेक लगातार बढेको थियो। सोमबार १०० अंकले घटेको बजार मंगलबार पनि ५.९२ अंकले घटेको छ। गत पुस ५ गते २३५८ को बिन्दुमा रहेको नेप्से परिसूचक झन्डै ५६२ अंकले वृद्धि भएर माघ ९ गतेको कारोबारसम्म २९२० को बिन्दुमा पुगेको थियो।
बजार घटेपनि कारोबार रकम भने बढेको छ। जसका कारण पनि बजारका अन्य सूचकहरुले घट्ने नदेखिने बजार विश्लेषक छोटेलाल रौनियार बताउँछन्। ‘५६२ अंकले बढेपछि बजार केही दिन रोकिनु घट्नु होइन, नयाँ उचाईमा जान्छ,’ रौनियारले भने।
सोमबार ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रुपैयाँ ५७ पैसाको कारोबार भएको थियो। मंगलबार सेयर बजार ५.९२ अंकले घटेर २८११४.७४ बिन्दुमा पुगेको छ। मंगलबार ९७ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको हो।
बजार घट्नुका कारण
गठबन्धन सरकारले स्थानीय चुनाव बैशाखमा नभई असोजमा गर्नेबारेको सहमतीले बजारलाई त्रसित पारेको छ। चुनाव समयमै भयो भने बजारले नयाँ उचाई लिन्छ भन्ने लगानीकर्ताको विश्वास थियो।
तर लगानीकर्ताको बुझाई विपरित असोजमा चुनाव गर्ने गठबन्धनको सहमतीले बजारमा एकै दिन धेरै घटेको थियो। विस्तारै लगानीकर्ताको मनोबल बढ्ने भएकोले चुनावको चर्चाले घटेको बजार धेरै दिन नघट्ने रौनियार बताउँछन्।
नेपाल राष्ट्र बैंकले सरकारको लागि चालु आर्थिक वर्षमा थप २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेका कारण पनि लगनीकर्ता थप दवावमा परेको देखिन्छ। सरकारको लागि राष्ट्र बैंकले २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउँदा अहिले दबाबमा रहेको तरलता थप दबाबमा पर्ने बुझाईले बजार घट्नमा मद्दत गरेको जानकारहरु बताउँछन्।
केहि दिन यता बिभिन्न संचार माध्यममा केहि बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेक विषयले समेत लगानीकर्ताहरु थप त्रसित भएका छन्।
धेरै बढेकोले बजारले करेक्सन खोजिरहेको र त्यसको लागि केहि कारण खोजिरहेको र समयमै स्थानीय चुनाव नहुने लगायतका कारणले पनि बजार घटेको बुझाई विश्लेषकरुहरुको छ।
प्राय चुनावका वर्षहरूमा सेयर बजारमा उच्च अंकमा जाने गरेको छ। साताको दोस्रो दिन सोमबार सेयर बजारमा ९९.८६ अंकको गिरावट आएको थियो। आइतबार १०.८३ ले घटेको बजार सोमबार ९९.८६ अंकले घटेर २८२०.६५ बिन्दुमा पुगेको थियो।
गएको साता ७३.५९ अंकले वृद्धि भएको सेयर बजार मापक नेप्से परिसूचक यो साता कारोबारको पहिलो दिन आइतबार १०.८३ अंकले घटेको थियो।