काठमाडौं- नेपालले सुरुवाति प्रतिबद्धताको ५० प्रतिशत योगदान बढाएपछि एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पोरेसन)ले १० प्रतिशत योगदान बढाएको छ। एमसीसी बोर्डले सुरुवाति प्रतिबद्धताको १० प्रतिशत अर्थात् ५ करोड अमेरिकी डलर योगदान थप गरेको छ।
एमसीसीले सुरुमा ५० करोड डलर लगानी गर्ने प्रतिबद्धता गरेको थियो भने नेपाल सरकारले १३ करोड डलर योगदान गर्नुपर्ने थियो।
आयोजनाको समय घर्किएसँगै लागत बढ्ने भएपछि नेपाल सरकारले आफ्नो योगदानमा ६ करोड ७० लाख डलर थप गरेको थियो। गत वर्ष नै सरकारले योगदान ५० प्रतिशतले बढाएर १९ करोड ७० लाख डलर पुगेको थियो।
नेपाल सरकारले बढाएपछि एमसीसीले पनि १० प्रतिशत अर्थात् ५ करोड डलर योगदान बढाउने निर्णय गरेको छ।
नेपालको संसदबाट पारित भएको यो अनुदान सम्झौताअन्तर्गत निर्माण हुने परियोजनाका लागि छुट्टै विकास समिति एमसीए नेपाल गठन भएको छ।
छुट्टै संयन्त्र बनाएर निर्माण गर्ने भनिए पनि यो आयोजनामा हालसम्म अपेक्षित प्रगति भएको छैन। प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण नै सकिएको छैन।