काठमाडौं- गैरकानूनी वित्तीय कारोबार गर्नेहरूले पछिल्लो समय इन्टरनेट र त्यसमा भएका सर्वसाधारणलाई टार्गेट गर्न थालेका छन्। पहिले सामाजिक सञ्जालका खातामा पहुँच राख्नेहरू आजभोलि भने वित्तीय पहुँच लिनका लागि लागिपरेका छन्।
सामाजिक सञ्जालमा जोडिएकाहरूलाई जागिर तथा अवसरको लोभ देखाएर जालमा पार्दै उनीरूको वित्तीय विवरण नै नियन्त्रणमा लिएर दुरुपयोग गर्न थालेका छन्। धोकाधडी तथा ठगीका लागि यस्तो प्रचलन बढ्न थालेको छ।
नेपालमा अहिले दुई प्रकारको गिरोह सक्रिए देखिएका छन्। एउटा समूह छ जसले सामाजिक सञ्जालमा आकर्षक अवसर र लाभको विज्ञापन दिन्छ। त्यहाँ क्लिक गरेपछि म्यासेन्जरको माध्यमबाट नजिक हुन्छन्।
थप लाभ र उपलब्ध लाभ पाउनका लागि निश्चित सर्त राखिन्छन् जसबाट उनीहरूले विभिन्न प्रलोभन देखाएर वालेट तथा बैंकिङ खातासम्म पहुँच राख्छन्। यसमा दुई प्रकारले ठगी हुन्छ। पहिलो विभिन्न शुल्क वा वस्तुको मूल्यको नाममा रकम असुलेर ठगिन्छ भने अर्कोतिर ओटीपी मागेर खाता नै रित्याउने हुन्छन्।
पछिल्लो समय यस्तै प्रकारका ठगीका धेरै उजुरी आएको भन्दै नेपाल प्रहरीले सचेत रहन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ।
त्यस्तै अर्को भने हुन्डीको कारोबारको फर्छ्यौट भइरहेको छ। हुन्डी कारोबारीहरू अहिले इन्टरनेटको माध्यमबाट भुक्तानी व्यवस्थापन गरिरहेका छन्। यो कारोबारमा जोडिएकाहरूले नै विभिन्न जागरको लोभ देखाउँदै मान्छेहरूलाई खाता खोल्न लगाउने, त्यसरी खाता खोल्दा मोबाइल नम्बर र इमेलसमेत कथित कम्पनीकै नामको राख्नुपर्ने भन्दै सोही राख्न पठाउने गरेका छन्।
यसरी जागिर पाइने र त्यसका लागि तलब पाउने आशमा धेरैले त्यसरी खाता नम्बरसँगै आफ्नो नामको बैंक खाता नियन्त्रणमा लिने गरेका छन्। विभिन्न माध्यमबाट चोरिएको रकमलाई त्यस्तै खातामा ल्यान्डिङ गर्ने गरेका छन्। यसरी आएको रकम हुन्डीको रकम भुक्तानीमा उपयोग हुने गरेको पछिल्ला घटनाबाट आइसकेको छ।
प्रष्ट पहिचान नभएका कुनै पनि खाताबाट भएका कुनै पनि विज्ञापनमा विश्वास नगर्न प्रहरीले आग्रह गरेको छ। आफ्नो नामको खाता विवरण तथा मोबाइल नम्बर दुरुपयोग हुने भएकाले कसैलाई अनलाइनको माध्यमबाट सेयर नगर्न प्रहरीले आग्रह गरेको छ।